• २७ वैशाख २०८१, बिहिबार

मोदीले दियो दूध उत्पादनमा अनुदान

blog

पर्वत समाचारदाता

पर्वत, असार १९ गते ।  दूधमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पर्वतको मोदी गाउँपालिकाले दूध उत्पादनमा अनुदान सुरु गरेको छ । चालू आर्थिक वर्षदेखि कृषकहरूलाई प्रतिलिटर तीन रुपियाँ अनुदान दिन लागेको हो ।

दूध र मासुमा आत्मनिर्भर मनाउने रणनीति सो गाउँपालिकाले लिएको छ । यही नीतिअनुरूप पहिलो पटक दूधमा अनुदान दिन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताउनुभयो । 

कृषकहरूले दूध उत्पादन गरे पनि बजारसम्म पु-याउन समस्या हुने र मूल्यसमेत नपाएको गुनासो आउने गरेकाले गाउँपालिकाले दूध उत्पादन गर्न प्रोत्साहन स्वरूप यस्तो योजना अगाडि बढाएको हो । 

“कृषकले सहकारीमार्फत दूध बिक्री गर्ने र सहकारीलाई गाउँपालिकाले भुक्तानी गर्ने गरी कार्यविधि बनाएका छौँ,” उहाँले भन्नुभयो । अहिले तीन रुपियाँबाट सुरु गरे पनि आगामी वर्षमा कृषकहरूको माग र बजार अवस्था हेरी रकम थप गर्न सकिने क्षेत्रीले बताउनुभयो । 

सबै कृषक सहकारीमा आबद्ध भएमा बजारीकरणमा समेत सहज हुने र कृषकहरू लाभान्वित हुन सक्ने भएकाले यस्तो नीति लिइएको हो । अनुदानका लागि दुग्ध सहकारीहरूले गाउँपालिकासँग सम्झौता गरी आवश्यक भुक्तानी दिने व्यवस्था गरिएको छ ।

कृषकले वर्षभरिमा उत्पादन गरी बिक्री भएको दूधको प्रमाणित रेकर्डसहित सहकारीमार्फत गाउँपालिकामा निवेदन दिएमा गाउँपालिकाले प्रतिलिटर तीन रुपियाँको दरले अनुदान उपलब्ध गराउने भएको छ । दूध उत्पादन गरी बजारमा व्यावसायिक रूपमा बिक्री गरिरहेका कृषकलाई सहकारीमार्फत अनुदान उपलब्ध गराउन लागिएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीको भनाइ छ । यसरी बजारीकरण गर्न र बाहिरी बजारमा समेत प्रतिस्पर्धा गर्न सहज हुने अपेक्षा गरिएको छ । यस वर्ष कृषकले गाउँपालिकाबाट तीन लाख ५० हजार रुपियाँ भुक्तानी लिइसकेका छन् ।