काठमाडौँ, चैत १ गते । सितार वादक हिमालयन सितारले ‘वेदांशी’ नामक साङ्गीतिक कृति सार्वजनिक गर्नुभएको छ । बुधबार सार्वजनिक गरिएको ‘वेदांशी’ उहाँको ‘श्रुति’ नामक एल्बमको पहिलो गीत भएको हिमालयन सितारले जानकारी दिनुभयो ।
सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन रहेको यस कृतिमा हिमालयन सितारले चिलीको ब्यान्ड ‘सेरो डुओ’ सँग सहकार्य गर्नुभएको छ । सात मिनेट लामो ‘वेदांशी’ मा हिमालयन सितारलाई चिलीका सङ्गीतकार मोआ एडमन्डस ग्वेभाराले लाफ्ता र तोमास कारास्को गुवेरान्तिसले सेक्सोफोन बजाएर साथ दिनुभएको छ ।
सार्वजनिक गीत हिमालयन सितारको आधिकारिक युट्युब च्यानल, स्पोटिफाई लगायतका डिजिटल प्लेटफर्ममा उपलब्ध छ । काठमाडौँ विश्वविद्यालयको सङ्गीत विभागमा एथ्नोम्युजिकोलोजीमा स्नातकोत्तर गरिरहनुभएका झापाका ‘हिमालयन सितार’ को वास्तविक नाम उत्तम घोष हो । उहाँ हिमालयन सितारमार्फत नेपाली शास्त्रीय सङ्गीतलाई विश्वभर चिनाउन चाहनुहुन्छ ।