साहारा लिम्बू
फुङलिङ, चैत १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय आँखाका बिरामीहरूको उपचारका लागि अक्षयकोषमा रकम जम्मा गरेका छन् । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सञ्चालन गरेको नेपाल नेत्र ज्योति अक्षयकोषमा समाजसेवी दम्पतीले रकम जम्मा गरेका हुन् ।
पोखरा १७ कास्की घर भई हाल युकेमा बसोबास गर्दै आइरहनुभएका दम्पती खड्क बहादुर गुरुङ र पूर्णकुमारी गुरुङले अक्षयकोषमा रकम जम्मा गर्नुभएको हो । उहाँहरुले उक्त अक्षयकोषमा एक लाख पाँच हजार रुपियाँ रकम जम्मा गर्नुभएको केन्द्रका वरिष्ठ नेत्ररोग, क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि आर्थिक अभावमा रहेका बिरामीहरूको उपचारमा रकम खर्च गर्ने गरि सङ्घले स्थापना गरेको अक्षयकोषमा रकम जम्मा गर्नुभएको हो ।
अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजको ८० प्रतिशत रकममार्फत विपन्न तथा असहाय आँखाका बिरामीहरूको उपचारमा सहयोग गर्ने उद्देश्य सङ्घको रहेको छ । बाँकी २० प्रतिशत रकम साँवामै जोडिने गरि कार्यविधि बनाइएको समेत सङ्घले जनाएको छ । जस अनुसार नै क्रमश दाताहरूले रकम जम्मा गरिरहेका छन् ।
हालसम्म विभिन्न दातामार्फत करिब साढे ८ लाख रुपियाँ रकम जम्मा भएको क्लिनिक इन्चार्ज गुरुङले जानकारी दिनुभयो । उहाँले भावी दिनमा समेत सोही अक्षयकोषमा रकम जम्मा गर्ने गरि अन्य दाताहरूसँग समेत समन्वय भइरहेको बताउनुभयो ।