ज्ञानु पंगेनी
मध्यविन्दु, चैत १ गते । नवलपुरमा आइतबारदेखि जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्लाका सबै पालिकामा एकैसाथ खोप अभियान सुरु गरिएको हो।
कावासोती नगरपालिकाले चैत १ गतेदेखि ९ गतेसम्म अभियान सञ्चालन गर्ने जनाएको छ । पालिकाका सबै १७ वटै वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमार्फत खोप लगाउने व्यवस्था गरिएको छ ।
स्वास्थ्य शाखाका पारेश्वर भेर्तेलले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा पुगेर खोप लगाउन सबैलाई अनुरोध गर्नुभएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख केशवप्रसाद चापागाईंका अनुसार जिल्लाभर सञ्चालन हुने अभियानमार्फत १ लाख ५० हजार ६६ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।
विगत पाँच वर्षदेखि नवलपुरमा जापानिज इन्सेफलाइटिसका बिरामी लगातार देखिँदै आएका छन् । यस रोगबाट मृत्यु हुनेको संख्या पनि यहाँ तुलनात्मक रूपमा बढी देखिएकाले विशेष अभियान सञ्चालन गरिएको हो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुरमा जापानिज इन्सेफलाइटिसका बिरामीको संख्या बढ्दै गएको पाइएपछि खोप अभियान सञ्चालन गरिएको चापागाईंले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत ३५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिलाई खोप लगाइने छ । जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइएको जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालले बताउनुभयो ।
मुख्य रूपमा जापानिज इन्सेफलाइटिसको जोखिम भदौ–असोज महिनामा बढी हुने भए पनि समयमै खोप प्रदान गरी नागरिकलाई सुरक्षित बनाउने उद्देश्यले अहिले नै अभियान सञ्चालन गरिएको खनालले बताउनुभयो । ३४ वर्षसम्मका उमेर समूहका व्यक्तिले यसअघि नियमित खोप तथा अभियानमार्फत खोप लगाइसकेकाले ३५ वर्षभन्दा माथिका उमेर समूहलाई लक्षित गरिएको उहाँको भनाइ छ ।
गर्भवती महिला, पहिले खोप लगाउँदा एलर्जी भएका व्यक्ति, खोप लगाउने समयमा उच्च ज्वरो आएका व्यक्ति तथा एचआईभी संक्रमित बाहेक सबैले यो खोप लगाउन सक्ने उहाँले जानकारी दिनुभयो ।
संक्रमित सुंगुर, बंगुर वा हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ ।