• १ चैत २०८२, आइतबार

पार्टी सुधारका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव आह्वान

blog

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ।

काठमाडौँ, चैत १ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव माग्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गर्नुभएको हो । ‘भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात् गर्दै पार्टीको नियमित महाधिवेशन छिट्टै आयोजना गर्नुपर्ने छ । यिनै पृष्ठभूमिमा पार्टीलाई आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ,’ उहाँले लेख्नुभएको छ ।

महामन्त्री पौडेलले कांग्रेसमा गर्नुपर्ने नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषय के हुन सक्छन् भनी समर्थक तथा शुभेच्छुक सबैमा विनम्र अनुरोध गर्नुभएको छ । प्राप्त सुझावलाई पार्टीले आत्मसात् गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभएको छ ।

कांग्रेसले आम निर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । महामन्त्री पौडेलले पार्टीको आधिकारिक इमेल र सम्पर्कका माध्यमबाट सुझाव दिन सकिने उल्लेख गर्नुभएको छ । इमेल:  info@nepalicongressparty.org.np