• १ चैत २०८२, आइतबार

'सचेत उपभोक्ता आजको आवश्यकता'

blog

उपभोक्ता अधिकारका बारेमा भएको अन्तरक्रियात्मक कार्यक्रमका सहभागीहरु ।

रमेश पौडेल

पोखरा, चैत १ गते । ‘सुरक्षित उत्पादन, विश्वसत उपभोक्ता’ भन्ने नाराका साथ पोखरामा आज अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाइएको छ ।

उपभोक्ता अधिकारका बारेमा आम नागरिकलाई सचेत गराउने उद्देश्यले गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयको आयोजना एवं उपभोक्ता मञ्च गण्डकी प्रदेशको समन्वयमा अन्तरक्रियात्मक कार्यक्रम गरी उक्त दिवस मनाइएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटक मन्त्रालयका सचिव मोतिराम सापकोटाले आम उपभोक्ता सचेत भएमात्र वस्तु तथा सेवा गुणस्तरीय भए नभएको थाहा पाउन सक्ने बताउनुभयो । उहाँले उपभोक्ताहरु तेल, चामलमा मात्र  नभई बस्तु तथा सेवाका बारेमा सचेत नभएसम्म प्राप्त अधिकारलाई कार्यान्वयनमा ल्याउन नसकिने बताउनुभयो । सचिव सापकोटाले सरकार र उपभोक्तावादी संस्थाले वस्तु, सेवा र बौद्धिक सम्पतिको व्यापारले आम उपभोक्ता ठगिएका छन् कि छैनन् भन्ने विषय पनि हेर्नुपर्नेमा जोड दिँदै सम्बन्धित निकायले अनुगमन कार्यलाई निरन्तरता दिन आवश्यक भएको बताउनुभयो । 

नेपालमा राजनीतिक संरक्षणमा नै भ्रष्टाचार र कालोबजारी वढ्ने गरेको आरोप उहाँको थियो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बजारमा एलपी ग्याँस र पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर कालोबजारी गरेको फेला परेकाले त्यस्ता व्यवसायीहरुलाई प्रशासनले कडा कारवाही गरेको जानकारी दिनुभयो । उहाँले मानव स्वास्थ्य नै बिग्रने गरी खाद्य पदार्थमा अखाद्य वस्तु मिसावट गर्नेलाई पनि प्रशासनले कडा कारबाही गरेको बताउनुभयो । 

नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले सरकारी वा गैह्रसरकारी क्षेत्र एवं निजी क्षेत्रले प्रदान गर्ने वस्तु वा सेवालाई प्रभावकारी बनाउन सरकार मात्र नभई उपभोक्ताहरु पनि सचेत हुनुपर्ने भनाइ राख्नुभएको थियो । पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले निजी उद्योगलाई बचाउँदै उनीहरुले प्रदान गर्ने गुणस्तरीयतामा सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विक्रम कर्मचार्यले व्यवसायी सधैँ उपभोक्तालाई कसरी गुणस्तरीय सेवा दिने भन्ने बारेमा उद्योगी व्यवसायीहरु लागि परेको दावी गर्नुभयो। उहाँले दुधमा मिसाउने गुणस्तरीय पाउडरलाई पनि मिसावट भन्ने जस्ता शब्दले उपभोक्ता सशंकित हुने भन्दै यस्ता दुष्प्रचार नगर्न आग्रह गर्नुभएको थियो ।

सो अवसरमा उपभोक्ता मञ्च गण्डकीमा अध्यक्ष कपिलनाथ कोइराला र गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव महराज ढकालले उपभोक्ता अधिकार र कानुनी प्रावधानका बारेमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।