गोरखापत्र समाचारदाता
ललितपुर, चैत १ गते । ललितपुर महानगरपालिकाको लगनखेलस्थित नवनिर्मित प्रशासकीय भवन (ब्लक सी) को शनिबार उद्घाटन गरिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भवनको उद्घाटन गर्दै महानगरपालिकाका प्रशासनिक काम गर्न सो भवनसहित तीन वटा भवन तयार भएकाले अब नगरवासीले सजिलै महानगरको सेवा लिन सक्ने बताउनुभयो । उहाँले महानगरको पुरानो भवनलाई प्रशासनिक भवन ‘ए’, गत मङ्सिर २० गते राष्ट्रपतिले उद्घाटन गर्नुभएको भवनलाई ‘बी’ र नयाँ भवनलाई भवन ‘सी’ नाम दिइएको उल्लेख गर्दै नगरवासीका लागि आवश्यक सेवा प्रवाह गर्न हाललाई अन्य भवनको आवश्यकता नपर्ने बताउनुभयो ।
सो अवसरमा उहाँले यस भवन निर्माण प्रक्रियामा प्राविधिक सहयोग उपलब्ध गराउने परामर्शदाता कम्पनीलगायतलाई सम्मानपत्र प्रदान गर्नुभयो । महानगरका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले आधुनिक सुविधासहितको अपाङ्गतामैत्री यस भवनबाट स्थानीयवासीले गुणस्तरीयसेवा पाएर सन्तुष्ट हुने अवसर आएको बताउनुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले विकासका लागि सधैँ सकारात्मक निर्णयसहित डटेर काम गर्ने नगरप्रमुख महर्जनका कारण ललितपुर महानगरलाई नमुना नगरका रूपमा विकास गर्न सक्षम भएको र यस्ता निर्णयमा आफूसमेत संलग्न रहन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महानगरले ए, बी र सी नामकरणसहित आधुनिक उपकरण, सेवासहितको भवन तयार गरी नगरवासीले हालसम्म विभिन्न स्थानबाट लिनुपर्ने सेवालाई एकत्रित रूपमा तीन भवनबाट दिन तयार भएको बताउनुभयो ।
ज्येष्ठ नागरिक, अपाङ्गतामैत्री व्यवस्थासहितको शौचालय, भ¥याङ, लिफ्ट, ११७ सिटको सेमिनार हलसहित तयार गरिएको र यस भवनबाट वडा नं. १२ का सम्पूर्ण सेवा र छरिएर विभिन्न स्थानबाट दिने गरिएको महानगरको अन्य प्रशासनिक काम पनि यस भवनबाट दिइने बताउनुभयो ।
महानगर वडा नं. १२ का अध्यक्ष नारायणलाल अवालेले यस भवन निर्माणको प्रक्रियामा मुद्दा मामिलादेखि अन्य झन्झटिलो प्रक्रियाका कारण धेरै लामो समय लागे पनि महानगर र स्थानीयको सकारात्मक पहलका कारण निर्माण प्रक्रिया पूरा हुँदा आफू अत्यन्तै खुसी भएको बताउनुभयो ।