प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), वैशाख ३ गते । एक वर्षअघि राजनीतिमा प्रवेश गरेकी गजाला समिम मिकरानी हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।
सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि उहाँ विभिन्न सामाजिक संस्थामा कार्यरत रही शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र समुदाय विकासका क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । सामाजिक सेवाको पृष्ठभूमिबाट संसद्को यात्रा सुरु गरेकी प्रतिनिधि सभा सदस्य मिकरानीले रौतहटमा सामाजिक अभियन्ताका रूपमा आफूलाई स्थापित गर्नुभएको थियो । शैक्षिक पृष्ठभूमि र सामाजिक सेवाको अनुभवले जनताको प्रत्यक्ष सेवा गर्ने अठोटका साथ आफूले राजनीतिमा पाइला चालेको उहाँको भनाइ छ ।
रौतहटको राजदेवी नगरपालिका–६ मा जन्मिएकी ३२ वर्षीय मिकरानी डिप्लोमा इन फार्मेसीसँगै त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापन सङ्कायमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ । हाल उहाँ कानुन सङ्कायतर्फ स्नातकमा अध्ययनरत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समाजमा देखिएका असमानता, जनताका समस्या र सकारात्मक परिवर्तनको चाहनाले राजनीतिमा आउन प्रेरित ग-यो,” उहाँले भन्नुभयो, “आफूले पाएको जिम्मेवारीलाई देश र जनताको सेवामा इमानदारीसाथ निर्वाह गर्ने छु ।” सुशासन र पारदर्शिता कायम गर्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, पहुँचयोग्य स्वास्थ्य सेवा र दिगो विकासमार्फत समृद्ध समाज निर्माणको अभियानमा आफ्नो ध्यान केन्द्रित रहने उहाँले बताउनुभयो ।
मुस्लिम समुदायका साथै अल्पसङ्ख्यक समुदायका साझा हकहित र अधिकारका लागि आवाज उठाउने उहाँको भनाइ छ ।
प्रतिनिधि सभा बैठकमा शिक्षा र महिला सशक्तीकरण जस्ता अत्यन्त महìवपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराएको उहाँले उल्लेख गर्नुभयो । शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकार र राष्ट्र विकासको मेरुदण्ड रहे पनि मधेश प्रदेश तथा ग्रामीण भेगमा गुणस्तरीय शिक्षाको पहुँच कमजोर रहेको उहाँको भनाइ छ । बिचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको र यसले छोरीलाई बढी प्रभाव पारेको उहाँले बताउनुभयो । मुस्लिम समुदाय र दलित समुदायका बालबालिका झन् पछाडि परेको उल्लेख गर्दै उहाँले आर्थिक अभाव, बालविवाह, सामाजिक विभेद तथा चेतनाको कमीका कारण उनीहरू समान अवसरबाट वञ्चित भइरहेको बताउनुभयो । राज्यले लक्षित र समावेशी कार्यक्रम ल्याएर सबै समुदायका बालबालिकालाई समान अवसर सुनिश्चित गर्नपर्नेमा उहाँको जोड छ ।
शिक्षा र महिला सशक्तीकरणलाई केन्द्रमा राखेर मात्र समावेशी र दिगो विकास सम्भव रहेको उहाँको भनाइ रहेको छ । आफ्नो गृह जिल्ला रौतहटवासीका समस्या समाधानका लागि सधैँ सक्रिय रहने बताउँदै उहाँले बाढीबाट यहाँ बर्सेनि हुने जनधनको क्षति कम गर्न दीर्घकालीन उपायका लागि सरकार र सदनलाई ध्यानाकर्षण गराइरहने बताउनुभयो । जिल्लामा अलपत्र रहेका विकास निर्माणका योजना सम्पन्न गराउन आफू प्रयासरत रहेको उहाँले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उहाँलाई मुस्लिम क्लस्टरबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनाएको हो ।