शशिधर पराजुली
विराटनगर, वैशाख ३ गते । राजनीतिलाई सेवा र समाज रूपान्तरणको माध्यम मान्नेका लागि डा. प्रमिलाकुमारी गच्छेदार एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । प्राध्यापन, अनुसन्धान र प्राज्ञिक साधनामा समय व्यतीत गरेकी डा. गच्छेदार अहिले देशको सर्वोच्च नीति निर्माण तह प्रतिनिधि सभामा नेपाली जनताको प्रतिनिधिका रूपमा पुग्नुभएको छ । कोशी प्रदेशबाट वनस्पतिशास्त्रमा विद्यावारिधि गर्ने सम्भवतः पहिलो थारू महिलाको पहिचान बनाएकी उहाँ संसद्मा भने सीमान्तकृत समुदायको मुद्दा र वातावरणीय सुधारको एजेन्डालाई बलियोसँग उठाउने बताउनुहुन्छ ।
बुवा दुखाराम गच्छेदार र आमा मनोरमादेवी गच्छेदारको सन्तानका रूपमा २०३२ साल मङ्सिरमा सुनसरीको दुहबी नगरपालिका–२, तुताहास्थित मामाघरमा जन्मिएकी गच्छेदारको पुख्र्यौली घर सुनसरीको बर्जु गाउँपालिका हो । उहाँले कक्षा ३ सम्म दुहबीकै श्री नवीन शिक्षा निकेतन आधारभूत विद्यालयमा र कक्षा ५ सम्म बर्जु बेलगछियाको श्री सार्वजनिक राष्ट्रिय आधारभूत विद्यालयमा पढ्नुभयो । त्यसपछि बसाइँ सरेर परिवार विराटनगर–४ मा गएपछि उहाँले बरगाछीको गोग्राह माध्यमिक विद्यालयबाट विद्यालय तहको पढाइ पूरा गर्नुभयो । त्यसपछि विराट् साइन्स क्याम्पसबाट आइएस्सी, महेन्द्र मोरङ क्याम्पसबाट बिएस्सी र डिग्री क्याम्पसबाट स्नातकोत्तर गर्दै त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गर्नुभयो । डा. गच्छेदारको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको हो । २०५४/५५ सालदेखि नै राजनीतिमा सचेत गच्छेदार २०६२/६३ सालको जनआन्दोलन र त्यसपछिको मधेश आन्दोलनपछि राजनीतिमा थप सव्रिmय बन्नुभयो । युवा फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै अहिले नेपाली कांग्रेसको कोशी प्रदेश सहमहामन्त्री र महासमिति सदस्यको जिम्मेवारीमा रहनुभएको छ । यसअघि कोशी प्रदेश योजना आयोगको सदस्यका रूपमा उहाँले नीतिगत अनुभवसमेत बटुलिसक्नुभएको छ ।
डा. गच्छेदार राजनीतिज्ञ मात्र नभएर एक स्थापित वनस्पतिविद् र अनुसन्धानकर्ता पनि हुनुहुन्छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापनसमेत गरेकी उहाँले समाजलाई प्राज्ञिक आँखाबाट हेर्न, बुझ्न सिक्नुभयो । त्यसैले पनि उहाँ संसद्मा हुने बहसलाई ‘डाटा’ र ‘तर्क’ मा आधारित बनाउनुपर्ने मान्यता राख्नुहुन्छ ।
सांसद डा. गच्छेदार भन्नुहुन्छ, “मैले लामो समय प्रकृति, वन र वनस्पतिको अध्ययनमा बिताएँ । अहिले जलवायु परिवर्तनको असरले हाम्रो जनजीवन अस्तव्यस्त छ । त्यसैले अबको मेरो मुख्य प्राथमिकता वन, वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा नीतिगत सुधार गर्नु हो । वैज्ञानिक सोचबिनाको विकासले विनाश मात्र निम्त्याउँछ ।” प्रकृति र प्राकृतिक स्रोतको संरक्षण गर्दै त्यसलाई पर्यटन र आयआर्जनसँग जोड्नुपर्नेमा उहाँको जोड छ । थारू समुदायबाट प्रतिनिधित्व गर्ने डा. गच्छेदारले संसद्मा सीमान्तकृत, महिला र पिछडिएको वर्गका सवाललाई घनीभूत रूपमा उठाउने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सीमान्तकृत समुदायका मुद्दा अझै पनि नीतिगत रूपमा स्पष्ट हुन सकेका छैनन् । ती आवाजलाई संसद्को रोस्टमबाट उठाउनु मेरो दायित्व हो ।”
शिक्षा र पर्यटनमा समेत रुचि राख्ने डा. गच्छेदारको संसदीय यात्रा प्राज्ञिक क्षमता र राजनीतिक सव्रिmयताको एउटा सङ्गम पनि हो । एउटा शिक्षित परिवारको पृष्ठभूमिबाट आएकी उहाँले अविवाहित रहेरै आफ्नो सम्पूर्ण जीवन अध्ययन र समाजसेवामा समर्पित गर्नुभएको छ ।