काठमाडौँ, असार १४ गते ।
असारया सिनाज्या, फुल फुलो ससिवा
सिरीसिरी फँसडाया, मन चङ्गा ...
(असारको सिमसिमे पानीमा धान रोप्दै गर्दा बहने चिसो हावाले मनै चङ्गा गराउँछ) ।उपत्यकाका नेवार बस्तीमा असारे भाका गाउँदै रोपाइँको रौनक सुरु भइसकेको छ । अघिल्लो वर्षको तुलनामा यस पटक पानी चाँडो परेकाले चाँडै रोपाइँको रौनक सुरु भएको हो । असारे भाका गाउँदै रोपाइँ गर्नुको मज्जा नै छुट्टै हुन्छ, ललितपुर हरिसिद्धिकी हरिमाया महर्जन भन्नुहुन्छ । पहिले जस्तो गीत गाउने चलन लोप भए पनि हामी बूढापाका भएसम्म यसरी नै धान रोप्ने गरिन्छ । थकित भएपछि खेतमा नै भोज खाने परम्परा पनि रमाइलो छ, उहाँको भनाइ छ ।
कतिपय ठाउँमा पुराना खाजाको ठाउँमा चिया, बिस्कुटले ओगटे पनि यहाँका पुराना नेवार बस्तीमा भने परम्परागत खाजा जारी नै छ । नेवार समुदायको रोपाइँमा देखिने अर्को रौनक खेतको आलीमा लहरै बसेर खाने रोपाइँको भोज पनि हो । हरिमाया भन्नुहुन्छ, “आलीको डिलमा बसेर आलुको अचार र पेय पदार्थ खाँदा होस् या मासु–चिउरा खाँदा यसको रमाइलो बयान नै गर्न सकिँदैन । छिमेकीहरू पनि धान रोप्ने बेला सघाउन आउँछन् । त्यसपछि त असारे भाका गाउँदै माटो छ्यापेर रमाइलो गरिन्छ ।
हरियो डाँडामाथि हलो जोत्ने साथी
हो हो माले हो हो, हो हो तारे हो हो...
जनकविकेशरी धर्मराज थापाको यो सदाबहार गीत असारमा मात्र होइन, अन्य महिनामा पनि उत्तिकै सुनिने गरिन्छ । धर्मराज थापाको यो गीत मात्रै होइन, हाम्रा गाउँबेँसी र तराईका फाँटमा पनि असारमा आफ्नै परम्परा र संस्कृति झल्काउने खालका असारे गीत प्रचलनमा रहेका छन् । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरका रूपमा लिने गरिन्छ ।
रोपाइँ गर्दा गाइने असारे भाकाको पनि विशेष महìव छ । यसलाई नेपाली समाजको मौलिक पहिचान मानिने गर्दछ । बालीनाली सप्रियोस् भनेर असारे गीत गाइने लोकगायक पुरुषोत्तम न्यौपानेको भनाइ छ । चाहे त्यो पूर्वमा गाइने असारे भाका होस्, चाहे पश्चिममा गाइने । पहाडमा गाइने असारे गीत होस् या तराईका फाँटमा । असारे गीतले धानमा कीरा नलागोस्, असिनाले नथिचोस् र राम्ररी धान फलोस् भनेरै कामना गर्दछ, लोकगायक न्यौपाने भन्नुहुन्छ ।
गायक रामकृष्ण दुवालका अनुसार धान रोप्ने मित्रता र एकताको प्रतीक हो । एउटा परिवारको धान रोप्न सकेपछि अर्को ठाउँमा गएर मद्दत गर्न जाने नेवार समुदायको परम्परा हो । त्यसमा गीत गाएर रमाइलो गर्नु भनेको मित्रता अझ प्रगाढ बनाउनु हो, उहाँ भन्नुहुन्छ ।
बूढापाका भएको ठाउँमा गीत गाउने परम्परा भए पनि धेरै ठाउँमा भने लोप हुने अवस्थामा छ । गायक दुवालका अनुसार हाम्रा परम्परा हराउँदै जानुमा हामी र अहिलेका युवापुस्ता त्यस परम्परासँग परिचित नहुनु हो । नयाँ पुस्ता आफ्नो लोकसंस्कृतिभन्दा पनि बाहिरबाट भित्रिएको संस्कृतिसँग नजिक छ, नेपाली चाडपर्वभन्दा पनि विदेशी चाडपर्व नै उत्सवका साथ मनाउन पाउँदा रमाउँछन् । नयाँ पुस्ता आयातित सङ्गीतमा झुम्न थालेपछि नेपाली लोकसंस्कृति र सभ्यता झल्काउने असारे गीत बिर्सिंदैछ, गायक दुवालको भनाइ छ । उहाँले असारको महìव घट्दै गएको हाम्रो समाजमा रोपाइँ पर्व मात्रै रोपाइँको निरन्तरताका लागि सीमित भइरहेको बताउनुभयो ।
अर्मपर्म मेलापात सँगसँगै धाउन आउ,
बर्खा लाग्यो यसपालि त चोखो मायाँ लाउन आउ..।
मानो रोपी मुरी उब्जाउने बेलो हो यो मित्र,
हिलो छ्याप्दै प्रिय असारे गीत गाउन आउ ।
गाउँले झ्याउरे भाकामा असारे गीत गुन्गुनाउँदै किसानले हिलोमा काम गरिरहेको दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, यो सबैका लागि रहरको विषय पनि हो । गीत गाउँदै हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुसी छाउँछ कुन्ठा हट्छ भने अर्काे चर्म रोग पनि निको हुन जनविश्वास रहेको छ ।