• ३० भदौ २०८२, सोमबार

प्लेकार्डले जोगाइयो सम्पदा

blog

काठमाडौँ, भदौ ३० गते । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, जिल्ला प्रहरी कार्यालयलगायतका भवन जलेर खरानी हुँदा सँगसँगै रहेको पुरातत्त्व विभाग र राष्ट्रिय अभिलेखालय भवन जोगियो कसरी ? अहिले पनि वरपरका खण्डहर देख्दा अचम्म लाग्छ– के जेनजीका नाममा तोडफोड र आगजनीमा उत्रिएको समूहले यी पुराना भवनलाई बेवास्ता गरेका थिए ? होइन, कर्मचारीको सचेत प्रयत्नसँगै सांस्कृतिक अभियानकर्मीले प्लेकार्ड प्रदर्शनसहित अनुनय विनय गरेर यी भवन जोगाएका हुन् ।

यी दुई पुराना भवन केवल सरकारी भवन होइनन्, नेपाली राष्ट्रको समुच्चय प्रामाणिक सम्पदा धन्सार हुन् । राष्ट्रिय अभिलेखालय प्रमुख फोटोग्राफर कुमार श्रेष्ठले जेनजीको आवरणमा उत्तेजित प्रदर्शनकारीबाट पुरातत्त्व विभाग र अखिलेखालयमा धेरै पटक आक्रमण गरेर जलाउने प्रयास गरे पनि जोगाउन सफल भएको जानकारी दिनुभयो । “संस्कृतिकर्मी, सम्पदा अभियन्ता र कर्मचारीले ऐतिहासिक सम्पदा जोगाउन अत्यन्तै अनुरोध गर्नुभयो । कर्मचारी साथी बिहानैदेखि परिचालन हुनुभएको थियो । कार्यालयमै प्लेकार्ड लेखेर बाहिर प्रदर्शन गरियो,” गोरखापत्रसँग श्रेष्ठले भन्नुभयो, “आन्दोलनकर्मीबाट धेरै पटक झम्टिने र आक्रमण गरेर आगो लगाउन प्रयास भयो । कार्यालयको पछाडितिरबाट ढोका खोलेर छिरेका पनि थिए । अभियन्ता र कर्मचारीले सम्झाइबुझाइ गरेर पठाउनुभयो ।” पुरातत्त्व विभाग र अभिलेखालय कुनै पार्टी वा नेताको नभएर राष्ट्रको सम्पत्ति भएकाले कालान्तरसम्म जोगाउनु पर्छ भनेर सम्झाएर पठाइएको उहाँले बताउनुभयो । “यो कुनै पार्टी वा नेताको होइन, यसलाई कालान्तरसम्म जोगाउनु पर्छ भनेर सम्झाउने, बुझाउने काम भयो । राज्य सञ्चालनसँग सम्बन्धी महत्त्वपूर्ण कागजपत्रसहित दस्ताबेज, ऐतिहासिक एवं पुरातात्त्विक सम्पदा छन् भनेर बुझाउने प्रयास गरियो,” उहाँले भन्नुभयो ।

“आगामी दिनमा यस्तो नहोस् भन्ने प्रार्थना गर्दछु,” श्रेष्ठले संस्कृतिकर्मी र कर्मचारीले हातै जोडेर अनुरोध गरेकैले सबै ऐतिहासिक दस्ताबेज र कागजपत्र जल्नबाट जोगिएको सुनाउँदै अहिले पनि सिंहदरबारभित्र आगो बलिरहेकाले पुरातत्त्व र अभिलेखालयसम्म आउन सक्छ कि भन्ने चिन्ताले महानगरलाई पानी हालेर निभाउन अनुरोध गरेको बताउनुभयो ।

“सिंहदरबारमा भएका कागजपत्र झन्डै दुई सय वर्षको इतिहासका थिए, जो जलेर नष्ट भए । यसपछिका पुस्तालाई चाहिने दस्ताबेज कति धेरै थिए होलान्, सबै खरानी भयो,” उहाँले दुःख व्यक्त गर्नुभयो, “सम्पदा भनेको हाम्रो देशको परिचय हो । यसरी जल्नु अत्यन्तै दुःखद घटना हो, यस्तो कहिल्यै नहोस् ।” सिंहदरबार, सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका धेरै महत्त्वपूर्ण कागजपत्र जलेर सकिएकोमा उहाँको चिन्ता छ । पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग संस्कृतिकर्मी र कर्मचारीको पहलमा देशको पाँचौँ शताब्दीसम्मका अभिलेख संरक्षण गरेर राख्न सफल भएको बताउनुहुन्छ । “संस्कृति र सम्पदाप्रेमी साथीको सहयोग माग्यौँ । 

उहाँहरू १५/२० जनालाई फोनमार्फत सम्पर्क ग¥यौँ । खबर गर्नेबित्तिकै उहाँहरू आउनुभयो । दुवै कार्यालयका कर्मचारीसहित सबै प्लेकार्ड लिएर उभिनुभयो । सबैको सहयोगले जोगाउन सफल भयौँ,” उहाँले भन्नुभयो, “जो जसले आआफ्नातर्फबाट सहयोग गर्नुभयो सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । उहाँहरूकै सचेत प्रयत्नले ऐतिहासिक दस्ताबेज जोगाउन सफल भयौँ ।” ऐतिहासिक सम्पदा जोगाउन सामाजिक सञ्जालमार्फत ‘जेनजी’ लाई समेत सचेत गराएको उहाँले बताउनुभयो । 

प्राचीन स्मारकहरूको संरक्षण, पुरातात्त्विक वस्तुको व्यापार र प्राचीन स्मारक भएका ठाउँको खनाइसमेतमा नियन्त्रण राखी प्राचीन स्मारक र पुरातत्त्वसम्बन्धी, ऐतिहासिक वा कलात्मक वस्तुको उपलब्धि र संरक्षणसमेत गर्ने मूल उद्देश्य लिई विसं २००९ मा पुरातत्त्व विभागको स्थापना भएको थियो ।

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।