केप क्यानाभरल, फ्लोरिडा, चैत २० गते । नासाको ‘आर्टेमिस-२’ मिसनका चार जना अन्तरिक्षयात्री शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ उडेका छन् । यो मानव इतिहासमा पचास वर्षपछि चन्द्रमाको नजिक पहिलो यात्रा हो ।
उहाँहरूले पृथ्वीको वरिपरि २५ घण्टा बिताएपछि चन्द्रमातर्फको मार्गतर्फ बढेका हुन् । यसले मानिसलाई पृथ्वीको नजिकको कक्षबाट मुक्त गर्दै चार लाख किलोमिटर टाढा चन्द्रमातर्फ पठाएको छ । नासाका निर्देशकले पत्रकार सम्मेलनमा भन्नुभयो, “यो सन् १९७२ पछि पहिलो पटक मानिसले पृथ्वीको कक्षाबाट बाहिर यात्रा गरेका छन् ।”
क्यानाडाका अन्तरिक्षयात्रीले भन्नुभयो,“हामी सबैले क्याप्सुलको झ्यालबाट पृथ्वीलाई पछाडि छोड्दै अनौठो दृश्य अवलोकन गरिरहेका थियौं । यो अनुभव अविस्मरणीय छ ।” आर्टेमिस-२ परीक्षण उडानले नासाको भविष्यका ठुलो योजनाको सुरुवात गरेको छ । यसले चन्द्रमामा दीर्घकालीन बासस्थान र मानव बसोवासको तयारीको मार्ग खोल्ने छ । कमान्डर, पाइलट र अन्य दुई अन्तरिक्षयात्रीले चन्द्रमाको वरिपरि उडान गरेर फिर्ता आउँछन् । यस क्रममा उनीहरूले अपोलो मिसनका दूरी रेकर्ड तोड्ने छन् र पुनः प्रवेश गर्दा सबैभन्दा छिटो गति हाँसिल गर्न सक्छन् । रासस/एपी