विष्णुप्रसाद पोखरेल
दमक, चैत २० गते । दमकमा रातिको समयमा मादक पदार्थ र लागु औषध सेवन गरेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार प्रहरीले बिहीबार बेलुका दमकमा सञ्चालन गरेको स्वीप अपरेसनमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले केही दिनयता दमक क्षेत्रमा रात्रिकालीन गस्तिलाई तिब्रता दिँदै आएको छ ।
घटना विवरण अनुसार दमक नगरपालिका–६ क्षेत्रमा अनावश्यक रूपमा भेला भई मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा लागु औषध सेवनमा संलग्न पाँच जनालाई एकैसाथ पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखी आवश्यक अनुसन्धान भइरहेको पनि खड्काले जानकारी दिनुभयो ।
यसैगरी मेची यातायात व्यवस्था कार्यालय झापामा बिचौलियाको मिलेमतोमा अनियमित्ता भइरहेको गुनासोपछि प्रहरीले छापा मार्दै बिहीबार एक जनालाई पक्राउ गरेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोड र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको सादा पोसाकको संयुक्त प्रहरी टोलीले कर्यालय परिसरबाट गौरादह–९ निवासी ३० वर्षीय लालबहादुर विष्टलाई पक्राउ गरेको छ । विष्टलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।