• २० चैत २०८२, शुक्रबार

यात्रुलाई लुट्ने चार जना पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय बाँके । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत २० गते । नेपालगन्ज बसपार्कमा यात्रुहरूलाई धम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपियाँ नगदसहित मोबाइल फोन लुटेर फरार रहेका चार जनालाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गत मङ्गलबार काठमाडौँ जाने बसमा बसेका यात्रुहरूलाई ६–७ जनाको समूहले धाकधम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपियाँ नगदसहित मोबाइल लुटेर फरार भएका थिए । 

उहाँले उक्त समूहले यात्रुहरूबाट नगद, मोबाइल फोन तथा अन्य जिन्सी सामान जबरजस्ती लुटेको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको जनाउँदै अनुसन्धानको क्रममा घटनामा संलग्न चार जनालाई बिहीबार साँझ पक्राउ गरिएको बताउनुभयो

पक्राउ परेकाहरूको साथबाट कटुवा पेस्तोल र खुकुरीसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेहरूमा नेपालगन्जका रामु परियार, सुवास विष्ट, सन्जय क्षेत्री तथा कोहलपुरका सन्दीपजङ्ग क्षेत्री रहेका छन् ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर अन्यहरूको पनि खोजी भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । पछिल्लो समयमा आएर जिल्ला प्रहरी कार्यालयले बाँकेका बसपार्कमा निगरानी बढाएको छ । 

नेपालगन्ज र कोहलपुरको बसपार्कमा यात्रुलाई जबरजस्ती तान्ने, नबस्दा अपशब्दसहित गाली गर्ने लगायतका घट्नाहरु भइरहेको प्रहरीको भनाइ छ । सूचनाको आधारमा प्रहरी निगरानी बढाइएको पातलीले बताउनुभयो ।