• ७ जेठ २०८१, सोमबार

तातो हुरीका कारण जापानमा ऊर्जा संकट

सरकारकाे निर्देशनमा जापानमा आज ३ घण्टा लोडसेडिङ्ग

blog

काठमाडाैं, जेठ १३ गते । जापान सरकारले राजधानी टोक्योसहित आसपासका तीन करोड ७० लाख ग्राहकसँग सोमबार न्यून विद्युत् खपत गर्न निर्देशन दिएको छ । जापानी समयअनुसार दिउँसो ३ बजेदेखि ३ घण्टासम्म अनावश्यक विद्युत् नचलाउन सर्वसाधारणसँग अपिल गरेको हो ।

तातो हुरीका कारण विद्युत् उत्पादन कम हुने भएकाले आपूर्ति कम हुने जापान सरकारले जानकारी दिएको छ । अनावश्यक विजुलीलगायतका विद्युतीय उपकरण बन्द गर्न निर्देशन दिए पनि आवास, गृह, कार्यालयलगायतमा चिसो पार्ने एयर कन्डिसनर भने चलाउन पाउनेछन् । तापक्रम बढिरहेकाले त्यहाँका अधिकारीहरुले हप्तौंदेखि विद्युतमा गडबढ हुने बताउँदै आएका थिए ।

गएको शनिबार टोक्यो शहरमा तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो भने राजधानीको उत्तरपश्चिममा रहेको इसेसाकी शहरमा ४०.२ डिग्री सेल्सियस मापन गरिएको थियो । यो तापमान जुन महिनामा जापानमा सबैभन्दा अत्यधिक हो । यसअघि सामान्यतः प्रत्येक वर्ष जुन महिनामा तापक्रम ३० डिग्रीभन्दा कम हुन्थ्यो ।

हिजो आइतबार अर्थ, व्यापार र उद्योग मन्त्रालयको प्रतिवेदनमा आज सोमबार दिउँसोसम्म टोक्यो र आसपासका इलाकामा ३.७ प्रतिशतले विद्युत उत्पादन कम हुने उल्लेख छ । 

स्थायी पावर सप्लाईको आवश्यक मात्रामा ३ प्रतिशतको बफर मानिन्छ । यद्यपि, विद्युत गृृहहरुले उत्पादन बढाउनको लागि प्रयास गरे पनि आशातित सफलता पाएका छैनन् । ‘ विद्युतको माग बढ्यो र तत्काल विद्युत् आपूर्तिमा समस्या भयो भने ‘रिजर्भ मार्जिन’ न्यूनतम आवश्यक ३ प्रतिशतभन्दा तल झर्छ ।’ मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

मार्च महिनामा उत्तरपूर्वी क्षेत्रमा आएको भूकम्पका कारण केही आणविक भट्टीहरुको सञ्चालनमा रोक लगाएपछि जापानमा विद्युत् उत्पादन कम हुँदै आपूर्तिमा समस्या आएको हो ।

यस्तै, कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न कोइलालगायतका जैविक ऊर्जा पावर हाउसहरु बन्द गरेपछि जापानमा ऊर्जा सङ्कट बढेको हो । विद्युत् गृह बन्द हुनु र अर्काेतिर विद्युतको माग बढ्नाले समस्या विकराल बन्दै गएको छ ।

यो महिनाको शुरुवाती दिनदेखि सरकारले स्थानीय उपभोक्ता र उद्योगहरुलाई यो गर्मीयाममा सकेसम्म विद्युतको उपभोग कम गर्न आह्वान गर्दै आएको हो ।

यसैबीच, जापानी समाचार संस्था ‘एनएचके’ले आइतबार ताताे हुरीका कारणले बिरामी परेका ४६ जनालाई अस्पतालमा भर्ना गरेको समाचार प्रसारण गरेको छ । कावागोइ शहरका ९४ वर्षीय एक वृद्धको तातो हुरीका कारण मृत्यु भएको बताइएको छ ।

गतहप्ता अष्ट्रेलिया सरकारले त्यहाँकाे ऊर्जा सङ्कट समस्या समाधान गर्न सिड्नी, न्यू साउथ वेल्सलगायतका शहरमा कम बत्ती बाल्न निर्देशन दिएपछि त्यहाँको समस्या समाधान भएको थियो ।उपेश महर्जन (बीबीसीको सहयोगमा)