ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कालिगण्डकी कोरिडोर क्षेत्रमा पर्ने बजार तथा पर्यटकीय स्थलहरूलाई रातको समयमा उज्यालो बनाउने उद्देश्यले सडक बत्ती जडान गर्ने तयारी थालेको छ । ‘उज्यालो बजार क्षेत्र’ कार्यक्रमअन्तर्गत करिब २० लाख रुपियाँ बजेट विनियोजन गरी पहिलो चरणमा कोरिडोर सडकअन्तर्गत पर्ने महभीर, पोखरेबगर र भुरुङ–तातोपानी क्षेत्रमा सडक बत्ती जडान गर्न लागिएको हो ।
गाउँपालिकाले पहिलो चरणमा कोरिडोरको महभीर, गाउँपालिका केन्द्र पोखरेबगर र पर्यटकीय स्थल भुरुङ–तातोपानी क्षेत्रमा सडक बत्ती जडानका लागि १५ दिनको सूचना प्रकाशित गरी शिलबन्दी कोटेशन माग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा विनियोजित बजेटमार्फत कालिगण्डकी कोरिडोर सडकअन्तर्गत बजार क्षेत्र र पर्यटकीय स्थलहरूलाई रातको समयमा उज्यालो बनाउने योजना अनुसार सडक बत्ती जडान गर्न लागिएको हो । असार महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । बाँकी क्षेत्रमा आगामी वर्ष विस्तार गरिनेछ ।”
बत्ती जडानका लागि सम्भव भएका स्थानमा नेपाल विद्युत प्राधिकरणका पोल प्रयोग गरिने र अन्य स्थानमा सडकछेउमा नयाँ पोल गाडिने योजना रहेको उहाँले बताउनुभयो । सडकबत्ती जडान भएपछि रातको समयमा कोरिडोर सडक उज्यालो हुने र दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।