- विभिन्न ४५ वटा राष्ट्र भाषामा प्रकाशन गरेर गोरखापत्रले स्थानीय भाषाको संरक्षण मात्र गरेको छैन, भाषिक विविधतासहितको प्रकाशनको विश्व इतिहासमा पनि अग्रपङ्क्तिमा छ । गोरखापत्रले आफ्नो परिचयलाई इतिहासको सुरुवातकर्ताका रूपमा मात्रै प्रस्तुत गर्नु परेको छैन, अनलाइन युगमा त्यसका सबै आयामको सशक्त उपयोगमार्फत पत्रकारितामा आफ्नो प्रभावशाली उपस्थितिलाई प्रदर्शन गरिरहेको छ ।
युरोपेली मुलुकहरूको उपनिवेश अनि सामाजिक रूपमा पिछडिएको क्षेत्रका रूपमा दक्षिण एसियाका अधिकांश मुलुकमा अखबारी पत्रकारिताको इतिहास बाँकी विश्वको तुलनामा केही ढिला सुरु भएको पाइन्छ । सुरुवातमा शासकहरूको निर्देशन र आदेशलाई स्थानीयसमक्ष पु¥याउने उद्देश्यसहित राज्य संयन्त्रबाट यस क्षेत्रमा अखबारको प्रयोग गरिएको देखिन्छ । कतिपयले जनचेतना जगाउने उद्देश्य राखेको पनि पाइन्छ ।
अठारौँ शताब्दीको पछिल्ला वर्षहरूबाट सुरु भएको दक्षिण एसियाको अखबारी इतिहास वर्तमान समयसम्म आउँदा सबैभन्दा फराकिलो अवस्थामा आइपुगेको भेटिन्छ । खास गरी भारतको राजनीतिक परिवर्तनपछि वाक तथा पे्रस स्वतन्त्रतासम्बन्धी अधिकार उपयोगमा हस्तान्तरित स्वतन्त्रताले यस क्षेत्रको पत्रकारिता विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । यसको लाभ यसका छिमेकीसहित दक्षिण एसियाका अन्य मुलुकले पनि प्राप्त गरेका छन् ।
दक्षिण एसियाको पत्रकारिताको इतिहास बाँकी विश्वमा जस्तै अखबारले नै नेतृत्व गरेको देखिन्छ । सामाजिक सञ्जालको सशक्त उपस्थिति भए पनि अद्यापि त्यो अवस्था कायम छ । निरन्तरताका हिसाबले इतिहासमा सुरु भएका धेरै अखबार अहिले इतिहासमै सीमित भएका छन् । इतिहासको त्यस्तो प्रवृत्तिभन्दा अलग नाम हो, गोरखापत्र । नेपालमा अखबारी पत्रकारिताको इतिहास सुरु गरेको गोरखापत्र त्यसयता अविच्छिन्न रूपमा नियमित तालिकामा प्रकाशन हुँदै आएको छ । गोरखापत्रले प्रकाशन गर्ने सामग्री र स्वनियन्त्रणप्रति आलोचनाका पर्याप्त स्थान हुँदाहुँदै पनि यसले कायम गरेको निरन्तरता र उपस्थिति विश्वकै सन्दर्भमा दुर्लभ उदाहरण हो ।
प्रस्तुत लेख दक्षिण एसियामा समाचारमूलक अखबारको इतिहास र त्यससँग गोरखापत्रको इतिहासको तुलनात्मक विश्लेषणसँग सम्बन्धित छ । दक्षिण एसियाका विभिन्न मुलुकमा अखबारको इतिहाससँग सम्बन्धित फरक फरक तथ्य उपलब्ध रहेको अवस्थामा सबैभन्दा आधिकारिक र प्रामाणिक तथ्यलाई लेखमा समेट्ने प्रयास गरिएको छ ।
१. बङ्गाल गजेटले कोरेको इतिहास
दक्षिण एसियामा अखबारको इतिहास सुरुवात गर्ने श्रेय ‘दी बङ्गाल गजेट’ लाई जान्छ । आयरल्यान्डका नागरिक जेम्स अगस्टस हिकीले सन् १७८० मा यसको सुरुवात गर्नुभएको थियो । सोही समय उहाँकै नेतृत्वमा ‘क्यालकटा जेनेरल एडभर्टाइजर’ पनि सुरु भएको इतिहास भेटिन्छ । यद्यपि ‘दी बङ्गाल गजेट’ दुई वर्षभन्दा लामो समय टिक्न सकेन । तत्कालीन ब्रिटिस प्रशासनले आफ्नो शासनमाथि आलोचना अनि टिप्पणी गरेको भन्दै यसलाई बन्द गराउन आदेश दिएको थियो ।
प्रकाशनको लामो इतिहास कायम गर्न नसके पनि ‘दी बङ्गाल गजेट’ ले दक्षिण एसिया क्षेत्रलाई सूचना र सन्देशको प्रकाशनमार्फत आमजनतासमक्ष पुग्न सकिन्छ भन्ने बाटो कोरिदियो । त्यसको सुरुवातले यस क्षेत्रका अन्य देशहरूमा पनि अखबारको सुरुवात गर्न परोक्ष रूपमा सहयोग पुगेको पाइन्छ ।
भारतमै पनि ‘दी बङ्गाल गजेट’ को प्रकाशनपछि ‘दी बङ्गाल जर्नल’, ‘क्यालकटा क्रोनिकल’, ‘मद्रास कुरियर’, ‘बम्बे हेराल्ड’ जस्ता पत्रिका प्रकाशन हुने अवसर सिर्जना भयो । यस्ता धेरै पत्रिका ब्रिटिस प्रशासनको तारो बनेर सेन्सरसिप भोग्न बाध्य भएको इतिहास छ । पे्रससम्बन्धी कानुनका नाममा तत्कालीन प्रशासनले पत्रिकाहरूमाथिको नियन्त्रण कायम गरेका थिए । जसलाई उनीहरूले भारतको स्वतन्त्रताअघिसम्म विभिन्न ऐन कानुनका नाममा निरन्तरता दिएको देखिन्छ ।
भारतको राजनीतिक परिवर्तनका पछाडि अखबारहरूको भूमिका पनि प्रभावकारी भएको पाइन्छ । महात्मा गान्धीको सत्याग्रह सफल बनाउन अखबारहरूको व्यापक प्रयोग भएका प्रशस्त उदाहरण छन् । खास गरी ब्रिटिस सरकारको दमनविरुद्धका सूचना सम्पे्रषणका लागि अखबारमार्फत त्यस्ता सन्देश प्रवाह भएको थियो । त्यसको प्रभाव देखेर ब्रिटिस सरकारले सन् १९३० मा पे्रस कानुन लगाएर प्रादेशिक सरकारले पनि ‘सेन्सरसिप’ गर्न सक्ने अधिकार प्रदान गरेको थियो ।
भारतीय स्वतन्त्रता सङ्ग्रामको सफलतापछि भने त्यहाँको सरकारले पे्रस स्वतन्त्रताकै रूपमा स्वीकार गरी यसलाई संविधानमार्फत आधारभूत अधिकारकै रूपमा समावेश गरेको पाइन्छ । त्यसका लागि सन् १९४७ मा पे्रस इन्क्वायरी कमिटी गठन गरेर काम अगाडि बढाएको इतिहास छ ।
विश्वकै सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुकका रूपमा भारत अहिले विश्वमै सबैभन्दा धेरै सञ्चार माध्यमहरूको उपस्थिति रहेका मुलुकहरूमध्ये पर्छ । भारतीय सञ्चार क्षेत्रमा टेलिभिजन, रेडियो र पछिल्लो समय सामाजिक सञ्जालको बाक्लै उपस्थिति भए पनि तुलनात्मक रूपमा अखबारको विश्वसनीयता शीर्ष स्थानमा छ । ‘दी टाइम्स अफ इन्डिया’, ‘दी हिन्दु’, ‘इन्डियन एक्सपे्रस’ जस्ता अङ्गे्रजीमा प्रकाशन हुने पत्रिकाहरू मात्र होइन; हिन्दी र क्षेत्रीय भाषामा प्रकाशन हुने अखबारमा प्रकाशन हुने समाचारप्रति पाठकको विश्वास अन्य सञ्चार माध्यमको तुलनामा बढी देखिन्छ ।
२. रङ्गपुर अनि बङ्गलादेश
बङ्गलादेशको आधुनिक पत्रकारिताको इतिहासको नेतृत्व पनि अखबारले नै गरेको पाइन्छ । ब्रिटिस शासकहरूकै समयमा तत्कालीन रङ्गपुर जिल्लाबाट सन् १८४७ बाट सुरु भएको ‘रङ्गपुर बर्तबाहा’ बाटै बङ्गलादेशको पहिलो अखबारको इतिहास सुरु भएको पाइन्छ । साप्ताहिक रूपमा हरेक मङ्गलबार प्रकाशन हुने यो पत्रिका सुरुवातमा एक सय प्रति छापिन्थ्यो । पत्रिकाका सञ्चालक र सम्पादक गुरुचरण रोय हुनुहुन्थ्यो । सन् १८५७ मा ब्रिटिस शासनविरुद्ध सैनिकहरूले विद्रोह गरेको समयमा अखबारले ब्रिटिस सरकारको विपक्षमा समाचार र सन्देश प्रवाह गरेका पत्रिकाहरूलाई तत्कालीन प्रशासनले नियन्त्रणमा लिने कानुन पास गरेर यसलाई बन्द हुन बाध्य बनाएका थिए ।
‘रङ्गपुर बर्तबाहा’ को प्रकाशन बन्द भएपछि केही समय पत्रिकाहरू नै प्रकाशन भएनन् । यद्यपि बङ्गलादेशको अहिलेको राजधानी ढाकामा भने सन् १८५६ मा ‘ढाका न्युज’ प्रकाशन भएको इतिहास छ । ढाकाबाट प्रकाशन भएका कारण मात्रै यो सम्भव भएको इतिहासविद्को मत छ । अलेक्जेन्डर फोब्र्सको सम्पादकत्वमा प्रकाशित यो पत्रिका लोक्ता उत्पादकहरूको पक्षमा थियो । त्यतिबेला यस्ता उत्पादकहरूले किसानलाई खाद्यबालीको साटोमा लोक्ता खेती गर्न दबाब र उच्च ब्याजदरमा ऋण उपलब्ध गराउँथ्यो । उत्पादकहरूको यस्तो दबाब र ऋणका कारण किसानले विद्रोहसमेत गरेका थिए । त्यतिबेला यो पत्रिका लोक्ता उत्पादकहरूको स्वार्थमा प्रयोग भएको देखिन्छ । यो अखबार १३ वर्षसम्म प्रकाशन भएको पाइन्छ ।
सन् १८७४ मा पाक्षिक रूपमा प्रकाशनमा आएको ‘परिल बर्तबाहा’ नामक पत्रिकाको बङ्गलादेशको इतिहासमा विशिष्ट स्थान छ । यो त्यस्तो पहिलो पत्रिका थियो जुन त्यहाँका बहुल मुस्लिम धर्मावलम्बीको नेतृत्व र सम्पादकत्वमा प्रकाशनमा आएको थियो । अनिसुद्धिन अहेमदको सम्पादकत्वमा प्रकाशित यस पत्रिकाले अन्य मुस्लिम सम्पादकहरूलाई पनि सम्पादनको नेतृत्वमा ल्याउने बाटो देखाएको थियो । त्यसपछि नै ‘अहेमदी’, ‘कोहिनु’, ‘इस्लाम अभा’, ‘अखबार ए इस्लामिया’ जस्ता अखबार प्रकाशनमा आएका थिए । सन् १९१६ देखि अङ्गे्रजी भाषामा प्रकाशनमा आएको ‘दी हेराल्ड’ बङ्गलादेशको पहिलो अङ्गे्रजी दैनिक पत्रिका बन्न पुग्यो । सन् १९४७ मा भारतबाट अलग भएपछि बङ्गलादेशमा पनि अखबारको प्रकाशन व्यापक बन्न पुग्यो ।
३. कान्छो प्रकाशन भुटानमा
दक्षिण एसियाली अखबारहरूको इतिहासमा भुटान प्रकाशनको हिसाबले सबैभन्दा कान्छो देशका रूपमा रहेको छ । सन् १९८६ को अगस्टमा भुटान सरकारमातहत रहने गरी प्रकाशनमा आएको ‘कुन्सेल’ नै त्यहाँको पहिलो अखबार हो । भुटानी भाषामा साप्ताहिक रूपमा यो पत्रिका प्रकाशन हुन्थ्यो । सन् २००६ को अप्रिलमा निजी लगानीमा ‘भुटान टाइम्स’ प्रकाशनमा आएपछि सरकारी पत्रिकाले प्रतिस्पर्धी पाएको थियो । ‘भुटान टाइम्स’ प्रकाशनको एक महिनालगत्तै ‘भुटान अब्जर्भर’ प्रकाशनमा आएको थियो जसले सूचना प्रवाहको गतिलाई अगाडि बढाउन सहयोग पु¥याएको थियो ।
भुटानको राजनीतिक, सामाजिक संरचना र जनसङ्ख्याका कारण धेरै अखबार प्रकाशन र विस्तार हुने अवस्था भने थिएन । अहिले पनि भुटानमा सीमित अखबार, टेलिभिजन र अनलाइन संस्करण मात्र सञ्चालनमा छन् ।
४. माल्दिभ्सको आधा शताब्दीको इतिहास
टापु देश माल्दिभ्समा अखबारको सुरुवात भएको आधा शताब्दी पनि पूरा भएको छैन । सन् १९७९ मा ‘हाभेरु’ प्रकाशनमा आएसँगै माल्दिभ्सको अखबारी पत्रकारिताको इतिहास सुरु भएको हो । बिहानी अर्थ दिने ‘हाभेरु’ ले माल्दिभ्सको प्रकाशन इतिहासमा धेरै इतिहास रचेको पाइन्छ । पहिलो पटक कम्युटराइज्ड हुने, थाना टाइपराइटर्सस र वर्ड प्रोसेसर्सको प्रयोग गर्नेदेखि विदेशी समाचार एजेन्सीसँग सहकार्य गर्ने इतिहास ‘हाभेरु’ को नाममा छ । ‘हाभेरु’ ले सन् १९८५ मा पहिलो पटक कुवेत न्युज एजेन्सीसँग सहकार्य सुरु गरेको थियो ।
‘हाभेरु’ प्रकाशनको लामो समयपछि माल्दिभ्समा अरू पत्रिका प्रकाशनमा आएको पाइँदैन तर सन् २००४ को नोभेम्बरमा ‘मिनिभान इन्डिपेन्डेन्ट’ पत्रिका प्रकाशनमा आएपछि त्यहाँका पाठकहरूका लागि विकल्प प्राप्त भयो । माल्दिभियन डेमोव्रmेटिक पार्टीका सदस्यले सञ्चालनमा ल्याएको यस अखबारले निकै उतारचढाव बेहोर्दै सन् २०१५ मा ‘माल्दिभ्स इन्डिपेन्डेन्ट’ नामबाट प्रकाशनलाई निरन्तरता दिएको थियो । सन् २०२० मा वित्तीय सङ्कटको कारण देखाउँदै बन्द भएपछि सन् २०२५ मा यसलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
ठुलो जनसङ्ख्या नभए पनि माल्दिभ्समा पत्रकारिता भने फस्टाएको देखिन्छ । अहिले माल्दिभ्समा छ वटा दैनिक पत्रिका र १५ वटा म्यागाजिन प्रकाशन भइरहेका छन् ।
५. श्रीलङ्का अग्रस्थानमै
दक्षिण एसियामा अखबारहरूको प्रकाशनको इतिहासमा श्रीलङ्काको स्थान अग्रस्थानमै आउँछ । ब्रिटिस सरकारको समयमा श्रीलङ्कामा पहिलो पटक ‘कोलम्बो जर्नल’ नामक पत्रिका प्रकाशनमा आएको पाइन्छ । सन् १८३२ जनवरीदेखि प्रकाशनमा आएको यो पत्रिका सरकारी पे्रसमा छापिन्थ्यो । जर्ज लीको सम्पादकत्वमा प्रकाशित पत्रिकाले सरकारी संरक्षण प्राप्त गरे पनि यसका सम्पादकले पत्रिकालाई सधँै निष्पक्ष पत्रिकाका रूपमा प्रकाशन गर्नेमा जोड दिएको पाइन्छ । यद्यपि ब्रिटिस सरकारकै आदेशमा प्रकाशनको दुई वर्ष पूरा नहुँदै सन् १८३३ डिसेम्बरमा यो पत्रिका पनि बन्द हुन पुग्यो । पत्रिका प्रकाशनको काम निजी क्षेत्रलाई दिनु पर्छ भनेर बन्द गर्नुको कारण देखाइए पनि ब्रिटिस सरकारको आलोचना गरेका कारण यसले त्यस्तो नियति भोग्नु परेको इतिहासकारको धारणा छ ।
कोलम्बोबाहिर पनि त्यतिबेला पत्रिका प्रकाशनमा आएको पाइन्छ । श्रीलङ्काको जाफ्नामा सन् १८६२ मा ‘सिलोन फ्रिम्यान’ नामक साप्ताहिक पत्रिका सञ्चालनमा आएको इतिहास छ । त्यसबाहेक सन् १८६३ मा ‘सिलोन प्याट्रोट’, सन् १८७६ मा ‘क्याथोलिक गार्जियन’ लगायतका पत्रिका प्रकाशनमा आएको पाइन्छ । अहिले श्रीलङ्कामा दैनिक ३० वटा र साप्ताहिक रूपमा ५० वटा पत्रिका प्रकाशनमा आएको पाइन्छ ।
६. अफगानिस्तानको अस्पष्ट इतिहास
अफगानिस्तानको अखबारको ऐतिहासिक तथ्यबारे आजसम्म पनि स्पष्टता छैन । यद्यपि सन् १८६० को दशकपछि अखबार अस्तित्वमा आउन थालेको इतिहास पाइन्छ । अफगानिस्तानको पहिलो पत्रिकाका रूपमा ‘साम्स उल नहर’ सन् १८७३ मा प्रकाशनमा आएको इतिहास छ । यद्यपि यो पत्रिकाको बढीमा ५० औँ संस्करण मात्र प्रकाशनमा आएको इतिहासकारहरूको मत छ । यसको लामो समयसम्म अफगानिस्तानमा अर्को पत्रिका प्रकाशन भएको देखिँदैन । दोस्रो पत्रिकाका रूपमा सन् १९११ मा ‘सिराज उफ’ अखबार प्रकाशन भएको देखिन्छ । यस पत्रिकाले खास गरी राजनीतिक र सांस्कृतिक सन्देश प्रवाहमा भूमिका खेलेको देखिन्छ ।
७. अविरल गोरखापत्र
दक्षिण एसियाली अखबारको भिडमा गोरखापत्र यस्ता थोरै अखबारमध्ये हो, जुन अस्तित्वमा आएपछि निरन्तर प्रकाशनमा छ । माथि उल्लिखित विभिन्न देशका अखबारको इतिहासको प्रवृत्ति हेर्दा धेरै अखबार प्रकाशनमा आएको छोटो अवधिमै बन्द हुन पुगेको देखिन्छ । केहीको थोरै लामो इतिहास बने पनि त्यसले आजसम्म भने निरन्तरता पाउन सकेको छैन । भारतको ‘बम्बे समाचार’ र ‘दी टाइम्स अफ इन्डिया’ पछि निरन्तर प्रकाशन हुने अखबारको पङ्क्तिमा गोरखापत्र पर्छ ।
दक्षिण एसियाली समाचारमूलक अखबारको ऐतिहासिकता विश्लेषण गर्दा भुटान र माल्दिभ्सभन्दा नेपाल अगाडि देखिन्छ । यसबाहेक अरू देशमा नेपालभन्दा पहिले नै अखबार अस्तित्वमा आएको देखिन्छ । ‘सुधा सागर’ लाई नेपालको पहिलो पत्रिकाका रूपमा राख्दा पनि नेपालमा प्रकाशनको इतिहास दक्षिण एसियाली अन्य देशको तुलनामा अलि पछि नै भएको देखिन्छ ।
नेपालभन्दा छिटो प्रकाशनको इतिहास सुरु भएका मुलुकको प्रवृत्ति हेर्दा बाँकी सबैमा ब्रिटिस शासनकालमा अखबार अस्तित्वमा आएको देखिन्छ । प्रकाशनको विश्व इतिहासमा बेलायत अघि नै रहेका कारण उसले शासन गरेका मुलुकमा पनि यसको प्रभाव रहेको विश्लेषण गर्न सकिन्छ तर पे्रसको विस्तार र स्वतन्त्रताको सन्दर्भमा भने दक्षिण एसियाका धेरै मुलुक विश्व परिवेशको तुलनामा पछि नै देखिन्छन् । यस क्षेत्रको राजनीतिक उथलपुथल, शिक्षाको अभाव तथा अन्य सामाजिक परिवेशका कारण अखबारको उपलब्धता र आकर्षण भने सन् १९५० को दशकपछि क्रमिक रूपमा अघि बढेको देखिन्छ ।
सन् १९०१ अर्थात् विसं १९५८ वैशाख २४ देखि प्रकाशन सुरु गरेको गोरखापत्रले आफ्नो १२४ बर्से इतिहासमा धेरै उतारचढाव सामना गर्नु प¥यो । यसै अवधिमा मुलुकको उतारचढावको पनि साक्षी बन्न पुग्यो गोरखापत्र । गोरखापत्रको अविरल अस्तित्वले मुलुकको उतारचढावको प्रामाणिक तथ्यहरू आज समग्र मुलुकलाई उपलब्ध गराएको छ । त्यति मात्र होइन, समय अनुरूप प्रकाशनका नयाँ शैलीलाई अपनाउँदै डिजिटल संस्करणमा पनि बलियो उपस्थिति बनाएको छ ।
विभिन्न ४५ वटा राष्ट्र भाषामा प्रकाशन गरेर गोरखापत्रले स्थानीय भाषाको संरक्षण मात्र गरेको छैन, भाषिक विविधतासहितको प्रकाशनको विश्व इतिहासमा पनि अग्रपङ्क्तिमा छ । गोरखापत्रले आफ्नो परिचयलाई इतिहासको सुरुवातकर्ताका रूपमा मात्रै प्रस्तुत गर्नु परेको छैन, अनलाइन युगमा त्यसका सबै आयामको सशक्त उपयोगमार्फत पत्रकारितामा आफ्नो प्रभावशाली उपस्थितिलाई प्रदर्शन गरिरहेको छ ।
सन्दर्भ सामग्री
- Ghorzang, Sabghatullah. “History of Newspaper in Afghanistan.” Journal of Mass Communication Journalism, OMICS Publishing Group, 2018.
- Toby, Mendel. Assessment of Media Development in the Maldives. UNESCO, 2009.
- Genilo, Jude William."Bangladesh." The SAGE Encyclopedia of Journalism. Vol. 4. Thousand Oaks,: SAGE Publications, Inc., 2022, pp. 176-78. Sage Knowledge, doi: https://doi.org/10.4135/9781544391199.
- https://editorsguild.in/history-of-journalism/
- https://www.worldgenweb.org/lkawgw/newsceylon.htm
- https://nepalpressfreedom.org/main/cms/2#:
लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘ दक्षिण एसियाली आलोकमा गोरखापत्र ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।