परिवर्तनशील नेपालको राजनीतिक आकाशमा यस पटक ‘घण्टी’ केवल एउटा चुनाव चिह्नको रूपमा मात्र बजेन; यो त दशकौँदेखिको राजनीतिक जडता, भ्रष्टाचार र निराशाविरुद्ध को एउटा शक्तिशाली ‘अलार्म’ थियो । सन् २०२६ को यो चुनावी नतिजाले एउटा स्पष्ट सन्देश दिएको छः नेपाली जनता अब आश्वासनको खेती होइन, परिणामको भोकमा छन् । त्यस भोकलाई मेटाउने सङ्कल्पका साथ बालेन शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जुन ऐतिहासिक जनमत पाएको छ, त्यसले लोकतन्त्रलाई एउटा नयाँ र अपरिचित तर आसलाग्दो मोडमा पु¥याएको छ ।
हामीले बर्सौंसम्म उही अनुहार, उही शैली र त्यही ‘भागबन्डा’ को राजनीति देख्यौँ । सत्ताका लागि हुने अप्राकृतिक गठबन्धन र जनताका आधारभूत आवश्यकतामाथि गरिने खेलबाड नै हाम्रो नियति बनिसकेको थियो । काठमाडौँको सडकबाट सुरु भएको एउटा युवाको साहस जब देशैभरि फैलियो, तब बर्सौंदेखि जकडिएका राजनीतिक किल्ला तासको घर जस्तै ढले । बालेन शाहको प्रधानमन्त्री बन्ने निश्चितता केवल एक व्यक्तिको सफलता होइन, यो त ती तमाम नेपाली युवाको जित हो जसले आफ्नो भविष्य खाडीको तातो बालुवामा होइन, आफ्नै देशको शीतल माटोमा खोजिरहेका छन् ।
नेपालका पुराना राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को पराजय कुनै आकस्मिक घटना होइन । यो त दशकौँदेखि सञ्चित हुँदै आएको जनआव्रmोशको विस्फोट हो । जनताले यी दललाई पटक पटक अवसर दिए तर प्राप्त भयो त केवल भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरता । युवापुस्ताले जब आफूलाई राज्यको मूलधारबाट टाढा र उपेक्षित महसुस ग¥यो, तब उनीहरूले एउटा विकल्पको खोजी गरे । त्यो विकल्प ‘बालेन शाह’ र ‘घण्टी’ मा आएर टुङ्गियो ।
बालेनको लोकप्रियताको मुख्य आधार उहाँको ‘इन्जिनियरिङ माइन्डसेट’ हो भन्ने छ । उहाँले राजनीतिलाई भाषणको विषय मात्र बनाएनन्, यसलाई सेवा प्रवाहको एउटा माध्यमको रूपमा परिभाषित गरिदिनुभयो । काठमाडौँको मेयर हुँदा उहाँले देखाएको सक्रियताले एउटा कुरा प्रमाणित गरिदियो– इच्छाशक्ति छ भने स्रोतसाधनको अभावमा पनि परिवर्तन सम्भव छ । उहाँले टुकुचाको खोजी, फुटपाथ व्यवस्थापन र सुशासनका लागि चालेका कदमहरूले सर्वसाधारणमा एउटा आशा जगायो । जनताले उहाँलाई भोट हाल्नुको अर्थ उनीसँग जादुको छडी छ भन्ने विश्वास गरेर होइन, बरु उहाँले ‘गल्ती गरे पनि नियत सफा राखेर काम गर्नु हुने छ’ भन्ने भरोसा गरेर हो ।
अबको राजनीति ‘पहिचान’ वा ‘वाद’ मा मात्र सीमित रहेन । अबको लडाइँ त कसले छिटो राहदानी दिन्छ, कसले अस्पतालको लाइन हटाउँछ, कसले स्कुलको गुणस्तर सुधार्छ र कसले किसानको उत्पादनलाई बजार पु¥याउँछ भन्नेमा केन्द्रित भएको छ । बालेनको उदयले पुराना दलहरूलाई एउटा कडा पाठ सिकाएको छ– कि त आफूलाई बदल, कि त इतिहासको पानामा सीमित हुन तयार होउ ।
यो जित जति उत्साहजनक छ, यसले बोकेको जिम्मेवारीको भार उत्ति नै चुनौतीपूर्ण छ । सडकबाट विरोध गर्नु र सत्तामा बसेर सुशासन दिनु आकाश–जमिनको फरक हो । बालेन अब एउटा सहरको मेयर मात्र होइनन्, उहाँ दुई ठुला र शक्तिशाली छिमेकीहरूको बिचमा रहेको एउटा राष्ट्रको अभिभावक बन्दै हुनुहुन्छ । भारत र चीनसँगको सन्तुलित सम्बन्ध, अमेरिकी सहायता परियोजनाको कार्यान्वयन र नेपालको राष्ट्रिय हितको रक्षा गर्नु उहाँको पहिलो कूटनीतिक परीक्षा हुने छ ।
देशको आर्थिक चुनौती झनै गम्भीर छ । थलिएको अर्थतन्त्र, बढ्दो वैदेशिक ऋण र उत्पादन क्षेत्रको गिरावटलाई उकास्न उनले कुनै क्रान्तिकारी कदम चाल्नै पर्छ । उहाँले आफ्नो ¥यापरको विद्रोही स्वभाव र इन्जिनियरको सुझबुझलाई एकै साथ प्रयोग गर्नुपर्ने छ ।
यसअघिका शासकहरू सत्तामा पुग्ने बित्तिकै सिंहदरबारको पर्खालभित्र कैद हुन्थे । उनीहरू र जनताको बिचमा सल्लाहकार र बिचौलियाको एउटा ठुलो पर्खाल हुन्थ्यो । बालेनले गर्नुपर्ने पहिलो काम भनेको त्यो पर्खाल भत्काउनु हो । सञ्चारका आधुनिक माध्यमहरू– टिकटक, युट्युब, र डिजिटल दुनियाँ प्रयोग गरेर उनले शासनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नु पर्छ । शासन सञ्चालनमा पारदर्शिता ल्याउनका लागि उनले निम्न कुरामा ध्यान दिनु पर्छ ।
डिजिटल सुशासन : हरेक सरकारी निर्णय र बजेट खर्चलाई अनलाइनमार्फत पारदर्शी बनाउने ।
जनतासँग प्रत्यक्ष संवाद : प्रधानमन्त्री र जनताका बिचमा कुनै पनि बिचौलिया नहुने गरी प्रत्यक्ष फिडब्याक लिन सक्ने संयन्त्र निर्माण गर्ने । परिणाममुखी कर्मचारीतन्त्र ः कर्मचारीतन्त्रलाई राजनीतिबाट मुक्त गरी कामको आधारमा पुरस्कृत गर्ने प्रणालीको विकास गर्ने । जबसम्म एक सामान्य नागरिकले ‘मेरो प्रधानमन्त्रीले मलाई सुनिरहेको छ र मेरो समस्या समाधान गर्न साथ दिइरहेको छ’ भन्ने महसुस गर्छ, तबसम्म बालेनको सत्ता सुरक्षित र सफल रहने छ ।
निष्कर्षमा यो निर्वाचन एउटा सुरुवात मात्र हो । बालेन र रास्वपाले पाएको यो जनमत एउटा ‘ब्ल्याङ्क चेक’ जस्तै हो, जसलाई साट्नका लागि उनीहरूले अबको पाँच वर्ष अहोरात्र खट्नुपर्ने छ । नेपाली जनताले एउटा नयाँ बिहानीको सपना देखेका छन् । यो सपना केवल एउटा व्यक्ति वा दलको होइन, यो त समृद्ध र स्वाभिमानी नेपालको सपना हो । बालेनसँग अब गल्ती गर्ने छुट छैन । उहाँले यो म्यान्डेटलाई केवल सत्ताको सिँढी होइन, देश निर्माणको जगको रूपमा प्रयोग गर्नु पर्छ । हामी केवल एउटा नयाँ प्रधानमन्त्री मात्र पर्खिरहेका छैनौँ, एउटा नयाँ नेपालको कार्यशैली, संस्कार र डेलिभरीको प्रतीक्षामा छौँ ।