भवानीदत्त भट्ट
बेलौरी (कञ्चनपुर), फागुन २८ गते । विगत आठ महिनादेखि अनशनरत आरक्षपीडितले अनशन स्थगित गरेका छन् । क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य दीपकराज बोहोराले माग पूरा गर्ने आश्वासन दिएपछि आरक्षपीडितले अनशन स्थगित गरेका हुन् । यहाँको कृष्णपुर नगरपालिका–२ स्थित वनहरा शिविरमा बस्दै आएका आरक्षपीडित विगत आठ महिनादेखि पुनस्र्थापनाको माग गर्दै सडक किनारामा रिले अनशन बस्दै आएका थिए । आरक्षपीडितलाई भेट्न वनहरा शिविरमा पुग्नुभएका प्रतिनिधि सभा सदस्य बोहोराले वनहरा शिविरमा पुगेर निकुञ्जपीडितलाई उचित व्यवस्थापन गरिने आश्वासन दिलाउनुभयो ।
२४ वर्ष बितिसक्दासमेत विगतमा सरकारले निकुञ्जपीडितको व्यवस्थापन गर्न नसकेको बताउनुहुँदै प्रतिनिधि सभा सदस्य बोहोराले निकुञ्जपीडितको समस्या समाधानका लागि आफ्नो पार्टी र आफू लाग्ने प्रतिबद्धता जनाउनुभयो । सडकछेउमा विगत आठ महिनादेखि रिले अनशनमा बस्दै आएका निकुञ्जपीडितले सवारी दुर्घटनाको जोखिम, स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले तत्कालै उनीहरूलाई रिले अनशन स्थगित गर्न आग्रह गरिएको प्रतिनिधि सभा सदस्य बोहोराले बताउनुभयो । निकुञ्जपीडितको समस्या समाधानका लागि छिट्टै काम अगाडि बढाइने उहाँले बताउनुभयो ।
अनशनरत प्रेमदत्त भट्टले आफूहरूका समस्या समाधान गर्ने भन्दै हालसम्म ३४ आयोग गठन गरिएका स्मरण गराउँदै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बोहोरामाथि विश्वास गरेर नै अनशन स्थगित गरिएको बताउनुभयो । २०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन वन्यजन्तु आरक्ष) विस्तारका क्रममा जिल्लास्थित विभिन्न स्थानमा बसोबास गर्दै आएका झन्डै दुई हजार पाँच सय परिवार विस्थापित भएका थिए ।
निकुञ्ज विस्तारका क्रममा जमिन दिलाउने वाचा गरिए पनि २४ वर्ष बितिसक्दासमेत सरकारले कुनै व्यवस्थापन नगरेको भन्दै लामो समयदेखि निकुञ्ज विस्थापित पुनस्र्थापनाको माग गर्दै आन्दोलित थिए । विस्थापित परिवार सरकार तथा सरोकारवाला निकायलाई समस्या समाधानका लागि दबाब दिन कृष्णपुर नगरपालिका–२, वनहरानजिक सडकछेउमा पाल टाँगेर अनशनमा बस्दै आएका थिए । पुनस्र्थापनाका लागि छिट्टै काम अगाडि बढाइने प्रतिबद्धतापछि उनीहरूले अनशन तोडेका हुन् । यसअघिका सरकारले उचित व्यवस्थापन गर्न ३४ आयोग गठन गरे पनि व्यवस्थापन भने नहुँदा निकुञ्जपीडित सडक किनारा, सार्वजनिक क्षेत्र, जङ्गल, नदीछेउमा अस्थायी टहरा बनाएर कष्टकर जीवन बिताउन बाध्य छन् ।
प्रतिनिधिको प्रतिबद्धता
कञ्चनपुरका तीन ओटै क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित प्रतिनिधि सभा सदस्यले नयाँ सरकार गठन भएलगत्तै जिल्लास्थित आरक्षपीडितको समस्या समाधान गरिने प्रतिबद्धता जनाएका छन् । बुधबार जिल्ला समन्वय समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्नुहुँदै कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले नयाँ सरकार बन्नेबित्तिकै सर्वप्रथम आरक्षपीडित, सुकुमवासी, अव्यवस्थित बसोवासीको समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभयो । जनताको चाहना अनुरूप संविधान संशोधन गरिने बताउँदै उहाँले जनताले दिएको मतको कदर गर्दै सुशासन कायम गर्न, राष्ट्र निर्माण तथा भविष्यका सन्ततिको जीवन सुधार गर्न अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाँच वर्षभित्र सुकुमवासी, अव्यवस्थित बसोवासीको समस्या समाधानलगायतका काम गर्ने उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहोराले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यले कञ्चनपुरमा विद्यमान सुकुमवासी, आरक्षपीडित, बेरोजगारीलगायतका समस्या समाधान गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
यो दुई तिहाइको ‘जिम्मेवारी र विश्वास’ लिएर मुलुकलाई अगाडि लग्न रास्वपालाई उहाँले शुभकामना प्रदान गर्नुभयो । क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महताले जनताको विश्वास र आसालाई आत्मसात् गर्दै प्रतिनिधि सभा सदस्यको हैसियतले सुशासन, पारदर्शिता, विकास र जनसेवाको मार्गमा इमानदारीपूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा बस्दै आएका झन्डै पाँच परिवारलाई नयाँ सरकार गठन हुने बित्तिकै पुनस्र्थापना गरिने उहाँले बताउनुभयो । प्रतिनिधि सभा सदस्य महताले आरक्षपीडितको समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।