• २८ फागुन २०८२, बिहिबार

विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण

blog

न्यानो कपडा घर लैजाँदै कुलाला गाउँका महिला। तस्बिर : मोहनसिंह बुढा

मोहनसिंह बुढा
हुम्ला, फागुन २८ गते ।
हुम्लाको अदानचुली गाउँपालिका–२ कुलाला गाउँका दलित समुदायका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।

सो समुदायका २३ घरधुरीका करिब ६० जनालाई पुग्ने गरी जेबी फाउन्डेसनले न्यानो कपडा वितरण गरेको हो। फाउन्डेसनका अध्यक्ष लोकेन्द्र भण्डारीको सहयोगमा कपडा वितरण गरिएको वडा सदस्य अमनी कटुवालले जानकारी दिनुभयो।

उहाँका अनुसार विपन्न दलित परिवारलाई एक–एक थान डसना, बाक्लो सिरक, तकिया र सिरानी वितरण गरिएको छ।

न्यानो कपडा पाएपछि स्थानीय दलित समुदायका नागरिक खुसी भएका छन्। फाउन्डेसनका अध्यक्ष भण्डारी स्वयं दलित बस्ती तुम्च पुगेर सामग्री वितरण गर्दा विपन्न परिवारलाई राहत पुगेको स्थानीय ज्येष्ठ नागरिक भक्त कुलालले बताउनुभयो।

अन्य क्षेत्रमा गर्मी सुरु भइसके पनि हुम्लामा अझै जाडो कायमै रहेकाले यस्ता सामग्री खरिद गर्न नसक्ने परिवारलाई सहयोग उपयोगी भएको उहाँले बताउनुभयो।