राजन रावत
हुम्ला, फागुन २८ गते । हिमाली जिल्ला हुम्लाका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएकै दिन विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेका छन्। समयमै पाठ्यपुस्तक सप्लायर्सले ढुवानी गरेर गाउँपालिकासम्म पुर्याएकाले हिउँदे बिदापछि विद्यालय सञ्चालन हुँदा विद्यार्थीले पाठ्यपुस्तक पाएका हुन्।
पुस १६ गतेदेखि फागुन २ गतेसम्म हिउँदे बिदा, त्यसपछि फागुन १८ गतेसम्म भर्ना अभियान तथा निर्वाचन बिदा सकिएलगत्तै विद्यालय खुलेको दिनमै अधिकांश कक्षाका विद्यार्थीले पाठ्यपुस्तक पाएको बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताउनुभयो। उहाँका अनुसार कक्षा ९ र १० का केही विद्यार्थीलाई भने पुस्तक नपुगेको छ। ती पुस्तक सुर्खेतबाट अर्डर गरिएको र दुई दिनभित्र विद्यालयमा पुग्ने उहाँले जानकारी दिनुभयो।
सिमकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले केही अपुगबाहेक अधिकांश विद्यालयका विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेर पठनपाठन सुरु भइसकेको बताउनुभयो। सिमकोट गाउँपालिकामा २१ वटा सामुदायिक विद्यालय रहेका छन्।
त्यस्तै ताँजाकोट गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जयरुद्र ढकालले यस शैक्षिक सत्रका लागि गाउँपालिकामा आवश्यक सबै पाठ्यपुस्तक पुगिसकेको र १६ वटै विद्यालयका विद्यार्थीलाई वितरण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीले पाठ्यपुस्तक पाएसँगै नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाकी प्रमुख सविता उपाध्यायका अनुसार जिल्लाका सातवटै गाउँपालिकाका १४१ विद्यालयका लागि पाठ्यपुस्तक पुगेका छन्। सम्भवतः शैक्षिक सत्र सुरु भएकै दिन विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुगेर पठनपाठन सुरु भएको यो पहिलो पटक भएको उहाँले बताउनुभयो।
यद्यपि नाम्खा गाउँपालिकाको चाला र लिमीस्थित सुनखानी प्राथमिक विद्यालयमा भने अझै पाठ्यपुस्तक पुग्न सकेको छैन। हुम्ला जिल्लामा प्राथमिक, आधारभूत र माध्यमिक गरी करिब १७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।