• २८ फागुन २०८२, बिहिबार

बसपार्कबाट मात्र काउन्टर सञ्चालन गर्न निर्देशन

blog

भरतपुरस्थित पारस बसपार्क । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता 

चितवन, फागुन २८ गते  । अव्यवस्थित रूपमा सवारीसाधनको टिकट काउन्टर सञ्चालन र यात्रुवाहक साधन रोकिएको भन्दै तत्काल सम्बन्धित स्थानबाट मात्र सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ । 

यातायात व्यवसायी र प्रशासनबिच भरतपुरमा भएको छलफलका आधारमा जिल्ला प्रशासन कार्यालयले बसपार्कभन्दा बाहेकका स्थानबाट काउन्टर सञ्चालन र बस रोक्न निषेध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले यातायातलाई व्यवस्थित गर्न निर्देशन दिएको जानकारी दिनुभयो । 

नारायणगढ बजार क्षेत्रभित्र मुख्य सडकमा अव्यवस्थित पार्किङ तत्काल बन्द गर्नुपर्ने र पुल्चोकलगायतका बजार क्षेत्रभित्रका पेट्रोल पम्पमा पेट्रोल हाल्ने नाममा अनावश्यक पार्किङ गरी यात्रु चढाउने कार्य नगर्न भनिएको उहाँले जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायातलाई व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर सङ्कलन कार्यसमेत बन्द गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र सङ्कलन गर्नुपर्ने भएको छ । ।

यसै गरी यातायात व्यवसायीले आफ्नो सवारीसाधन पार्किङ गरी नियम अनुसार राजस्व बुझाउन निर्देशन दिएका छन् । प्रशासन कार्यालयमा यस अगाडि पटक पटक बसेको बैठकले भरतपुर महानगरको यातायात व्यवस्थित गर्न लामो तथा छोटो दुरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले ती निर्णय कडाइका साथ कार्यान्वयन गराउन सबै सम्बन्धित पक्षलाई निर्देशन दिइएको जानकारी दिनुभयो । 

पश्चिम नेपालबाट आएका सवारीसाधन तथा पूर्वी नेपालबाट आएका सवारीसाधन नारायणगढको पुल्चोक तथा बजार क्षेत्रमा घन्टौँसम्म रोकेर राख्ने कार्य गर्दै आएका थिए । सडकछेउमा सवारीसाधन रोकेर राख्दा ट्राफिक जामको समस्या बढ्दै गएको थियो । बजारमा किनमेल गर्न आएका सवारीसाधन पनि सडकछेउमा रोक्ने, लामो तथा छोटो दुरीका सवारीसाधनसमेत सडक छेउमा रोकिदिँदा बजार अस्तव्यस्त बन्दै गएको थियो ।