• २८ फागुन २०८२, बिहिबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण सुरु

blog

निकुञ्ज क्षेत्रमा पाइने पाटेबाघ । तस्बिर सौजन्य : पर्यटन व्यवसायी केशव सापकोटा

घोडाघोडी समाचारदाता 

घोडाघोडी (कैलाली), फागुन २८ गते । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत शुक्लाफाँटा–लालझाडी कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामरा ट्र्यापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताउनुभयो । 

उहाँका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामरा ट्र्यापिङ विधिबाट पाँचौँ पटक बाघ गणना गर्न लागिएको सो कम्प्लेक्समा १५ दिनसम्म सर्वेक्षण गरिने छ । 

निकुञ्जका अनुसार बाघ हिँडडुल गर्ने क्षेत्रको पहिचान गरी बाटोको दायाँ बायाँ स्वचालित क्यामरा जडान गरिएको छ । संरक्षण अधिकृत वाग्लेले भन्नुभयो, “त्यहीँ फोटोको आधारमा बाघ गणना गरिन्छ, क्यामराले खिचेको बाघको पाटा अर्को बाघसँग मेल खाँदैन ।” सूचना अधिकारी वाग्लेका अनुसार शुक्लाफाँटामा बाघ गणनाका लागि एक सय जनाको जनशक्ति र हात्ती परिचालन गरिने छ । उहाँले भन्नुभयो, “यहाँ ११ वटा क्याम्प अन्तर्गत दुई हजार ६० ग्रिड छुट्याएर जनशक्ति परिचालन गरिएको छ, २६० ग्रिडमा ५२० स्वचालित क्यामरा जडान गरिएको छ । एक ग्रिडमा एक जोडी क्यामरा जडान गरिन्छ ।” निकुञ्जका अनुसार डडेलधुराको आलितालमा २३ ग्रिड, शुक्लाफाँटाको वनखेडामा २३, वेदकोटमा २१, चिर्किट्टेमा १९, डाँडाजाइमा ३६, दोमिल्लामा ३१, कालिकिचमा २६, कुवाडाँडामा २३, नौलामा १६, शुक्लामा २३ र तिकेनीमा १९ ग्रिडमा क्यामरा जडान गरिएको छ ।

सर्वेक्षण कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा वन तथा भूसंरक्षण विभाग, प्रदेश सरकार, नेपाली सेना, संरक्षण साँझेदारी संस्था, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल र जेडएसएल नेपालको सहयोगमा भइरहेको जनाइएको छ । शुक्लाफाँटामा सन् २०२२ को राष्ट्रिय गणना अनुसार ३६ वटा बाघ रहेकोमा निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन् । पछिल्लो समय राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ । थोरै क्षेत्रफल भए पनि शुक्लाफाँटामा बाघको आहारा प्रजातिको घनìव बढी भएका कारण यहाँ बाघको सङ्ख्या उलेख्य रूपमा बढेको संरक्षण अधिकृत बताउँछन् । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जले परिचित छ ।