• २९ फागुन २०८२, शुक्रबार

‘साझा प्रयासबाट व्यावसायिक वातावरणमा सुधार’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २९ गते । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण खस्किएको निजी क्षेत्रको मनोबल सबैको साझा प्रयासबाट उकास्न सम्भव भएको अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बताउनुभएको छ । निजी क्षेत्रका प्रतिनिधिसँग बिहीबार मन्त्रालयमा भएको बिदाइ भेटमा उहाँले आन्दोलनपछि देखा परेका चुनौती साझा प्रयासबाट समाधान भई अहिले व्यावसायिक वातावरणमा सुधार आएको उल्लेख गर्नुभयो । अर्थमन्त्री खनालले आफू अर्थमन्त्रीका रूपमा रहँदा निजी क्षेत्रले पु¥याएको सहयोगका लागि निजी क्षेत्रलाई आभार व्यक्त गर्नुभयो । त्यस्तै उहाँले आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, घरेलु उद्योगको संरक्षण गर्दै निर्यात प्रवर्धन गर्न, पुँजी बजारलाई पारदर्शी तथा लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गर्न विभिन्न क्षेत्रबाट आएका सुझाव अनुसार केही विषय सम्बोधन भएको सो व्रmममा जानकारी गराउनुभयो । 

वर्तमान परिस्थिति र नीतिगत जटिलताका कारण आफ्नो कार्यकालमा अर्थ मन्त्रालयबाट सम्पादन हुन बाँकी रहेका कामको जानकारी आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

छलफलमा निजी क्षेत्रका व्यक्तित्वले अर्थमन्त्रीका रूपमा निजी क्षेत्रले उठाएका मुद्दा र विषयमा देखाउनुभएको चासो र माग सम्बोधनका लागि धन्यवाद व्यक्त गर्नुभयो । मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको र सोका लागि हालै सम्पन्न निर्वाचनले दिएको नतिजाप्रति निजी क्षेत्र आशावादी रहेको उहाँहरूको धारणा थियो । 

निजी क्षेत्रका प्रतिनिधिले निजी क्षेत्रले उठाएको मूल्य अभिवृद्धि करतर्फ बहुदरमा जानुपर्ने, कच्चा पदार्थको आयातमा लाग्ने कर र तयारी वस्तुको आयातमा लाग्ने करको कम्तीमा दुई तह न्यून हुनुपर्ने, सरकारले सीमाविहीन उत्पादन तथा निर्यात प्रवर्धनमा जोड दिनुपर्ने, नियमनकारी निकायको प्रभावकारिता परीक्षण गरिनुपर्ने, अन्तःशुल्कतर्फका उच्च दरबन्दी घटाइनुपर्ने जस्ता विषय सम्बोधन हुन बाँकी रहेको जानकारी गराउनुभएको थियो ।

छलफलमा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल उद्योग व्यापार महासङ्घका अध्यक्ष खेमराज भण्डारीको उपस्थिति रहेको अर्थ मन्त्रालयले जनाएको छ ।