गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २९ गते । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षार्थ भर्ना गरिएका झन्डै डेढ लाख निर्वाचन प्रहरीको बिदाइ गरिएको छ ।
काठमाडौँ उपत्यकालगायत ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट भर्ना गरिएका निर्वाचन प्रहरीलाई मातहतका प्रहरी अधिकारीले टीका र खादा लगाएर सामूहिक रूपमा बिदाइ गर्नुभएको हो ।
निर्वाचन सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग गरी चार वटा सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी देशभर तीन लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
निर्वाचन सुरक्षार्थ जनशक्ति कम हुने अवस्था देखिएपछि नेपाल प्रहरी प्रधान कार्यालय नक्साल र सशस्त्र प्रहरी बल नेपाल हलचोकले निर्वाचन प्रहरी भर्नासम्बन्धी कार्यविधि
तयार गरी गृह मन्त्रालयसमक्ष जनशक्ति माग गरेका थिए । जस अनुसार नेपाल प्रहरीले एक लाख ३० हजार ९८० सशस्त्र प्रहरी बलले १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गरी देशभरका मतदान केन्द्रमा परिचालन गरेका थिए । निर्वाचन प्रहरीलाई मतदान स्थानमा लाइन मिलाउने, आवतजावतलाई सहजीकरण गर्ने र सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा खटाएको थियो । नेपाल प्रहरीले गत पुस २५ देखि आगामी माघ १ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त आह्वान गरी १८ देखि ५४ वर्ष उमेर समूहबाट निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीको कार्यावधि अनुसार ४० दिनका लागि भर्ना निर्वाचन प्रहरीलाई नेपाल प्रहरीको जवानको तलब स्केल अनुसार प्रतिदिन ८६९ रुपियाँ ४० पैसा तलब उपलब्ध गराइ बिदाइ गरिएको हो ।
निर्वाचन प्रहरीलाई भौगोलिक अवस्था अनुसार साधारण र न्यानो पोसाक रकम, यातायात तथा खाजा खर्चका लागि छुट्टै रकम उपलब्ध गराइएको थियो । निर्वाचन सुरक्षार्थ गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना तयार पारी चारै वटा सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी तीन लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन गरेको थियो । यथेष्ट सुरक्षाकर्मी प्रभावकारी रूपमा परिचालन गरिएका कारण यस पटकको निर्वाचन विगतको तुलनामा शन्तिपूर्ण रूपमा सम्पन्न भएको भएको छ ।