म्याग्दी, फागुन २९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठुलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिनुभयो ।
“बाँध, विद्युत्गृह, पाइप लाइन, प्रसारण लाइन र उपकरण जडानका साथै आन्तरिक परीक्षण सकिएको छ,” उहाँले भन्नुभयो, “नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परीक्षण उत्पादनमा जुटेका छौँ ।”
विसं २०७८ मा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुँगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी), दुई हजार नौ सय मिटर मुख्य पाइप लाइन र तीन सय मिटर सर्च साफ्ट पाइप लाइन जडान, फेदीमा विद्युत्गृह निर्माण गरिएको छ । विद्युत्गृहपरिसरमा स्विचयार्ड निर्माण गरिएको छ । यो आयोजना रन अफ दी रिभर प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ । बन्दीदेखि ठुलोखोला र चिमखोलादेखि मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइएको छ ।
देव ऊर्जा कन्स्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बिएफएल बेङ्गलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । तीन अर्ब रुपियाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ«े बैङ्कले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइने छ ।
राहुघाट र सहायक नदीमा यसअघि तीन वटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाट क्षमताको अप्पर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।
राहुघाटको सहायक ठुलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।