काठमाडौँ, भदौ १० गते । मुस्ताङको घरपझोङ गाउँपालिकाले नवीन पहल सुरु गर्ने भएको छ । जलवायु परिवर्तनको असरका बारेमा राष्ट्रको ध्यान खिच्न गाउँपालिकाले भदौ ३१ गते देशभरिकै पालिका प्रतिनिधित्वमा गम्भीर छलफल कार्यक्रम आयोजना गर्ने भएको हो । त्यसका निम्ति देशभरकै पालिकालाई आआफ्ना पालिकाको जलवायु असर समेटेर मुस्ताङ आउन निम्ता दिइएको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भन्नुभयो, “देशैभरका ७५३ स्थानीय तहका प्रमुखलाई मुस्ताङ आउन निम्ता दिइएको छ । उहाँहरूले आआफ्नो पालिकाको जलवायु परिवर्तनका असरबारे कार्यपत्रसहित आउनुहुने छ ।” जलवायु परिवर्तनका बारेमा सम्मेलन हुने भएपछि आआफ्नो स्थानीय तहमा देखिएका असरबारे टिपोट गरेर गृहकार्य थालिएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नपर्दा काला पहाडमा परिणत हुन थालेको बताउनुभयो ।
“हिउँदमा सोलुमा धेरै हिउँ पथ्र्यो । अरू तल्लो भेगसम्म राम्रै हिउँ पथ्र्यो । अहिले हाम्रै नगरपालिका क्षेत्रमा हिउँ नपरेको तीन वर्ष भई सक्यो,” उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण कृषि, पशुपालन जलविद्युत्मा असर देखिएको छ ।”
यस्तै मोरङको धनपालथान गाउँपालिकाका अध्यक्ष जीवच्छप्रसाद गच्छदारले जलवायु परिर्वनका कारण वर्षाको समयमा पानी नपर्दा धान बालीमा असर देखिएको बताउनुभयो । “वर्षा लागेपछि असार/साउनमा धेरै पानी पथ्र्यो । धानलगायत बर्खे बालीको राम्रो उत्पादन हुन्थ्यो । अहिले वर्षामा पानी नै परेन । पूरै खडेरी जस्तै भयो । बल्ल भदौ लागेपछि पानी पर्दै छ,” उहाँले भन्नुभयो । जलवायु परिवर्तनले कृषिलगायत हरेक क्षेत्रमा असर देखिएको गच्छदारले बताउनुभयो ।
यस्तै दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कहिले पानी नपर्ने कहिले चाहिनेभन्दा बढी पानी पर्दा बाढीपहिरो जस्ता समस्या उत्पन्न हुने गरेको बताउनुभयो । जलवायु परिवर्तनका कारण वर्षामा पानी नपर्ने र हिउँदमा जाडो कम हुँदै गएकाले नयाँ नयाँ रोगको सङ्क्रमण बढ्दै गएको जानकारी दिनुभयो । आफ्नो पालिकाभित्र देखिएको जलवायु परिवर्तनको असरका बारेमा मुस्ताङ सम्मेलनमा जानकारी दिने उहाँले बताउनुभयो ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष लालचनले जलवायु परिवर्तनका कारण दैनिक जीवनसहित सम्पूर्ण क्षेत्रमा असर पर्न थालेपछि कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । “हामीले नगरेको गल्तीको असर भोग्नुपर्ने अवस्था आयो । पानीका मूल सुक्दै गए । हिउँदमा हिउँ नपरेको दुई वर्ष हुन थाल्यो । सुक्खा मौसममा पहिरो गएर समस्या हुन थाल्यो ।
कृषि, पर्यटन, पशुपालनलगायत हरेक क्षेत्रमा असर देखिन थाले,” उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असर सबैभन्दा बढी हामीलाई परेकाले कुन स्थानीय तहमा कस्तो असर र प्रभाव देखिएका छन् । त्यसबारे छलफल गरेर मुस्ताङ घोषणापत्र तयार गरी सम्बन्धित निकायलाई घचघच्याउने छौँ ।” जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारलाई बजेटको आकारबमोजिम कार्यक्रम तथा योजना बनाएर काम गर्न दबाब दिइने उहाँले बताउनुभयो ।
स्थानीय तहका प्रमुख, जलवायु परिवर्तन विज्ञसहित अरू विषय विज्ञ राखेर भदौ ३१ गते एकदिने कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा कुल दुई हजार पाँच सयभन्दा बढी सहभागी हुँदा ६० लाखभन्दा बढी खर्च हुने अनुमान छ ।