काठमाडौँ, साउन २५ गते । नेपालबाट विभिन्न देशमा चोरी तस्करी गरेर विदेशमा बेचिएका १९८ मूर्ति स्वदेश फिर्ता भएका छन् । नेपालबाट कुल ४०९ मूर्ति हराएको उजुरी परे पनि १९८ मूर्ति मात्रै फिर्ता भएका हुन् ।
पुरातत्व विभागका शाखा अधिकृत सरिता सुवेदीले विसं. २०४२ देखि गत २०८१ सालसम्म नौ देशबाट १९८ मूर्ति मात्रै फिर्ता गर्न सफल भएको जानकारी दिनुभयो । फिर्ता भएका प्रायः मूर्ति ऐतिहासिक र प्राचीन खालका एक सय वर्षभन्दा पुराना सम्पदा भएको उहाँले बताउनुभयो । “हामीलाई प्रमाणसहित हराएका मूर्तिको उजुरी ४०९ वटा प्राप्त भएका छन् । यो विभागलाई जानकारी गराएको मात्रै तथ्याङ्क हो,” उहाँले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालयमा मूर्ति हराएको उजुरी, कतै उजुरी नगरेर बसेकाको सङ्ख्या पनि धेरै हुन सक्छ । मूर्ति हराएको यकिन तथ्याङ्क ल्याउन सकिएको छैन ।” नेपालबाट राजनीतिक अस्थिरताका बेलामा थुप्रै मूर्ति विदेश लगेर बेचिएको हुन सक्ने आशङ्का उहाँले गर्नुभयो ।
“नेपालबाट पञ्चायतकाल र त्योभन्दा पहिले धेरै मूर्ति नेपालका तस्करले विदेशी पर्यटकमार्फत बेचबिखन गरे कि भन्ने छ । नेपाली बन्द समाज जब खुला हुँदै गयो, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको विकास हुन थालेपछि बेचिएका मूर्ति फिर्ता हुन थालेका हुन्,” उहाँले भन्नुभयो । नेपाली युरोप, अमेरिकालगायत विभिन्न देशमा अध्ययन, भ्रमण र कामको सिलसिलामा जान थालेपछि ती देशका सङ्ग्रहालयमा राखिएका मूर्ति अवलोकन गर्ने क्रममा पत्ता लाग्ने गरेको उहाँले बताउनुभयो । “पहिला नेपाली प्रायः विदेश जाँदैनथे । नेपालका मूर्ति कहाँ कति कस्तो अवस्थामा छन् भन्ने थाहा हुने कुरा भएन,” उहाँले भन्नुभयो, “पछिल्लो समय नेपाली विदेश जान थालेपछि कहाँ कस्ता ऐतिहासिक र प्राचीन सामग्री रहेछन् भनेर हेर्न थाले । त्यसपछि सामाजिक सञ्जालमा हाल्ने, नेपाली दूतावासमा सूचना दिन थालेपछि मूर्ति भेटिन थालेका हुन् ।” नेपालबाट हराएका मूर्ति फिर्ता लिन सबै कागजपत्र मिलाउँदा दुई महिनासम्म लाग्ने गरेको अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
पुरातत्वविद् प्रकाश दर्नालका अनुसार देशको गरिबी र अशिक्षाका कारण लोभमा पारेर तस्करले ऐतिहासिक र प्राचीन मूर्ति बिक्री गर्ने गरेको बताउनुभयो । यस्तै अति विशिष्ट व्यक्तिको राम्रोसँग जाँच नहुने भएकाले मूर्ति बाहिर गएका हुन् कि भन्ने अनुमान गरिएको उहाँले बताउनुभयो । “तस्करले पुरातात्त्विक महत्व भएका प्रायः पत्थर, काठ, धातुका मूर्ति, टुँडाल जस्ता सम्पदा बेच्ने गरेको पाइन्छ । लिच्छविकालीन, मल्लकालीन, शाहकालीन जो एक सय वर्षभन्दा पुराना मूर्तिहरू चोरी हुने गरेका छन्,” उहाँले भन्नुभयो, “अहिले विभागले एक सय वर्षभन्दा बढी नाघेका मूर्ति बाहिर बिक्री गर्न दिँदैन । एक सय वर्षभन्दा कम भएको प्रमाणित भएपछि मात्रै बिक्री गर्न दिन्छ ।” पछिल्लो समय प्रायः दरबार, मन्दिरका मूर्ति र ऐतिहासिक सम्पदाको रेकर्ड राख्ने व्यवस्था र सिसिटिभी राख्ने व्यवस्था भएकाले पनि चोरी कम हुँदै गएको उहाँले बताउनुभयो ।
बिस मूर्ति फिर्ता भएनन्
पुरातत्व विभागले २० वटा मूर्ति तीन देशमा भएको कागजसहित पुष्टि गरे पनि ल्याउन नसकिएको अधिकृत सुवेदीले जानकारी दिनुभयो । फ्रान्समा १८ वटा मूर्ति, स्विट्जरल्यान्ड र सिङ्गापुरमा एक/एक वटा मूर्ति रहेका छन् । “फेला परेका मूर्ति नेपालबाटै गएका हुन् भन्ने प्रमाणबाट पुष्टि भइसकेको छ । स्वदेश फिर्ता ल्याउन सम्बन्धित देशको कानुन बाधक बन्दा ल्याउन सकिएको छैन । ती मूर्ति सम्बन्धित देशको सङ्ग्रहालयमा सुरक्षित राखिएको छ,” उहाँले भन्नुभयो, “नेपालबाट सशक्त रूपमा कूटनीतिकमार्फत दबाब बढाए मात्रै मूर्ति फिर्ता हुन्छ नभए स्वदेश ल्याउन गाह्रो छ ।” ती प्रायः मूर्ति देवीदेवता, बुद्धका काठ, पत्थर, ढलोट, फलामद्वारा निर्माण गरिएका भएको उहाँले बताउनुभयो । १९१ वटा मूर्ति कहाँ कुन अवस्थामा छ भन्ने पत्ता लगाउन नसकिएको विभागले जनाएको छ ।