काठमाडौँ, साउन २ गते । सम्बन्धको धागो सधैँ टिक्छ भन्ने हुँदैन । कुनै पनि समय तोडिन सक्छ । सम्बन्ध टिकाइराख्न मानिसले अनेकन सम्झौता गर्नु पर्छ । तब मात्र सम्बन्धको धागो बलियो हुन्छ । अनुराग बसु निर्देशित चलचित्र ‘मेट्रो इन दिनो’ ले मानिसको जीवनमा आउने उतारचढावको सम्बन्धलाई प्रस्तुत गर्न खोजेको छ । सन् २००७ मा बसुकै निर्देशनमा बनेको चलचित्र ‘लाइफ इन अ मेट्रो’ मा मुम्बईमा बस्ने मानिसको जीवनको फरक कथालाई देखाइएको थियो । करिब १८ वर्षपछि बसुले केही फरक ढङ्गमा मुम्बई, दिल्ली, कोलकाता र बेङ्गलुरमा बसोबास गर्ने पात्रको सम्बन्धको कथालाई चलचित्रमा उतार्नुभएको छ । चलचित्रमा निर्देशकले किशोरावस्थादेखि वृद्धावस्थासम्मको जीवनमा देखिने प्रेम र सम्बन्धको महत्वलाई दर्शाउन खोज्नुभएको छ ।
चलचित्रको कथा फरक फरक सहरमा बस्ने चार जोडीको वरिपरि घुमेको छ । चार जोडीभित्र देखिने सम्बन्ध र प्रेममा आउने अनेकन उतारचढाव नै चलचित्रको कथा हो । मुम्बईमा बस्ने विवाहित जोडी मोन्टी (पङ्कज त्रिपाठी) र काजोल (कोनकोना सेन शर्मा) बाहिरी दुनियाँबाट खुसी देखिए पनि भित्रभित्रै उनीहरूमा मनमुटाव चलेको हुन्छ । कोलकातामा, शिवानी (नीना गुप्ता) र सञ्जीव (शाश्वत चटर्जी) विगत ४० वर्षदेखि वैवाहिक जीवन बिताइरहेका छन् । उनीहरूका लागि आफ्नो परिवार र आफ्ना दुई छोरीको खुसी महत्वपूर्ण छ तर यी दुवै आफ्नो जीवनमा खासै खुसी देखिँदैनन् । यसका कारण शिवानीले आफ्नो पुरानो प्रेम परिमल (अनुपम खेर) भुल्न नसक्नु पनि हुन सक्छ ।
दिल्लीमा काम गर्ने चुम्की (सारा अली खान) लामो समयदेखिको प्रेमी आनन्दसँग विवाह गर्ने तयारीमा हुनुहुन्छ । चुलबुले चुम्किको जीवन अनिश्चित भुमरीमा हुन्छ । उहाँ जीवनको भोगाइ बुझ्न असमर्थ देखिनुहुन्छ । त्यसपछि अचानक उहाँको भेट बेङ्गलुरका पार्थ (आदित्य रोय कपुर) सँग हुन्छ र त्यसपछि कथाले भिन्न रूप लिन्छ ।
चलचित्रमा अनुपम खेरको अभिनयले दर्शकलाई सधैँ झै मनोरञ्जन गराउँछ । एउटा वृद्ध प्रेमी र जिम्मेवार ससुराको भूमिका उहाँलाई सुहाएको छ । नीना गुप्ताको अभिनयमा पनि कुनै खोट लगाउने ठाउँ देखिन्न । कोनकोनाको अभिनय उत्कृष्ट छ । पङ्कजले आफ्नो भूमिका बेजोड तरिकाले निर्वाह गर्नुभएको छ । उहाँको तुलना ‘लाइफ इन अ मेट्रो’ का इरफान खानसँग भइरहेको छ । अली फजललाई हेर्दा कहिलेकाहीँ ‘थ्री इडियट्स’ को असहाय आनन्द देखिनुहुन्छ । उहाँ आफ्नो चरित्रमा पूर्ण रूपमा डुबेको देख्दा लाग्छ उहाँलाई पहिले कतै यसरी नै प्रस्तुत गरिएको थियो । फातिमा सना शेखले पाएको अवसरलाई आफ्नो क्षमताले भ्याएसम्म प्रयोग गर्नुभएको छ । उहाँले आफ्नो संवाद शैलीमा अलि बढी काम गर्नुपर्ने देखिन्छ ।
चलचित्रको दृश्यदेखि सङ्गीतसम्म सबै कुरामा निर्देशक बसुको प्रभाव देखिन्छ । चलचित्रभित्र मेट्रो र सहरको दृश्य प्रयोग राम्रो छ । अरिजित सिंह र पापोनको आवाजले भरिएका गीत साच्चै मन छुने खालका छन् । चलचित्रको कमजोर पक्ष भनेको सम्पादनमा अलि राम्रो ध्यान नदिनु हो । सुखद अन्त्यको प्रतीक्षामा रहेका दर्शकलाई चलचित्रका केही कथा अचानक समाप्त भएको वा अपूर्ण छोडिएको जस्तो महसुस गर्न सक्छन् । सायद अलिकति थप विरामले चलचित्रलाई अझ सुन्दर बनाउन सक्थ्यो कि ?