• ७ मंसिर २०८१, शुक्रबार

यतिबेला (कविता)

blog

मानुषी रेग्मी

 

मक्किनु अगावै

सम्बन्धका त्यान्द्राहरू

फुस्किए पछि,

चुँडिए पछि

यी निर्दाेष आँखाका डिलबाट

टिलपिल गर्दै पोखिएका हुन् आँसु

र त्यसैगरी

हरेक सालको बर्खामा चुहिन्छ खरको छानोबाट पानी

त्यसबखत–

रातको निद्रा ब्युँझियो

दिनको भोक छुट्यो ।


जून हेर्दाहेर्दै

अचानक –

हृदयको स्निग्ध हिमतालमा

एकाएक भूकम्पको झट्का लाग्यो

हृदयमा पहिरो गयो

मनका पर्खालहरू भत्किए

मनको नदीमा बाढी आयो

र चुर्लुम्मै डुबायो नतैरिने गरी ।


त्यसपश्चात् –

चिसोले ओस्सिएर

हाम्रो सम्बन्धको थाम मक्कियो

बाले दुःखले बनाएको

त्यो झुप्रो घरको दलिन मक्कियो ।


म यतिबेला ठिक मेरै घरजस्तो भएको छु ।