भुवन मास्के ‘मुस्कान’
“जन्मभूमि नेपाल भए पनि कर्मभूमि भारत हो । यहीँ बस तिम्रो स्वरको सही उपयोग हुनेछ,” मखमली आवाज अर्थात् ‘गोल्डेन भ्वाइस’का धनी प्रेमध्वज प्रधानलाई प्रसिद्ध भारतीय सङ्गीतकार खयाम र गुरु जयदेवले नेपाल फर्कने अन्तिम समयसम्म भनिरहे । प्रेमध्वज भने मुसुक्क मुस्कुराउँदै जवाफ दिनुहुन्थ्यो, “म यहाँ सुगम सङ्गीतका विविध पक्षको अध्ययन गर्न मात्र आएको हुँ । मेरी आमा नेपालमा एक्लै हुनुहुन्छ । उहाँको हेरविचार गर्नुपर्छ ।”
प्रेमध्वज भारतमा बसी उतै सङ्गीतमा लाग्ने सुझावको बडो सम्मानपूर्वक यसरी अस्वीकार गर्नुहुन्थ्यो । उहाँले आफूलाई नेपालको गायक भनेर त्यहाँ सम्बोधन हुँदा बढो आनन्द लाग्ने गरेको पनि बताउनुहुन्थ्यो ।
जन्म दिने आमा र जन्मभूमि स्वर्गसमान हुन्छन् भन्ने भनाइ छ । साँच्चै नै प्रेमध्वजले दुवै आमाको जीवनभरि असीम श्रद्धा र सम्मान गर्नुभयो । उहाँ आपूmले पाएको सम्मान र अपार मायालाई आमाको आशीर्वाद ठान्नुहुन्थ्यो । उहाँको साधारण जीवनशैली, स्वावलम्बीपन र भलाद्मीपन सबैका लागि उदाहरण बन्न पुग्यो । आफ्नो निजी सवारीसाधनभन्दा पनि सार्वजनिक सवारीसाधनमा यात्रा गर्न उहाँ रुचाउनुहुन्थ्यो । हरेक बिहीबार ललितपुरस्थित बगलामुखी मन्दिर तथा आइतबार बटुक भैरवको दर्शन गर्न जाँदा उहाँ प्रायः सार्वजनिक सवारीसाधन चढ्नुहुन्थ्यो । उहाँको यो क्रम जीवनको उत्तरार्धसम्म चलिरह्यो । टाउकोमा समस्या देखिएपछि उहाँले शल्यक्रिया गर्नुप-यो । शल्यक्रियापश्चात् मात्र उहाँको सार्वजनिक सवारीसाधन चढ्ने क्रम रोकिन पुग्यो । उहाँ आफ्नो काम आफैँ गर्न रुचाउनुहुन्थ्यो । जीवनको सत्तरी वर्ष अटुट रूपमा उहाँले गीत–सङ्गीतको साधना गर्नुभयो ।
एक पटक सम्मान ग्रहण गर्नका लागि प्रेमध्वज बेलायत पुग्नुभयो । त्यहाँ उहाँलाई आत्मकथा लेख्न साहित्यकारहरूले आग्रह गरे । बेलाबेला प्रशंसक, शुभचिन्तक, सङ्गीतपे्रमी श्रोताले पनि यस्तो आग्रह गर्दै आएका थिए । उहाँले व्यक्तिगत तथा साङ्गीतिक जीवनका विषय निकै कम मात्र गर्नुहुन्थ्यो । उहाँ यस्ता कुरा गर्न रुचाउनु हुन्नथ्यो । त्यसैले उहाँ यस्ता प्रस्तावलाई त्यति वास्ता गर्नु हुँदैनथ्यो तर कोरोनाले सम्पूर्ण क्षेत्र ठप्प भई बन्दाबन्दी हुँदा यो समयको सदुपयोग गर्दै उहाँले आत्मकथाका लागि आफ्नो साङ्गीतिक यात्राबारे मसँग बताउनुभएको थियो । यस क्रममा उहाँले सुगम सङ्गीत अध्ययनका लागि बम्बई (हाल मुम्बई) बसेका दिनलाई आफ्नो साङ्गीतिक जीवनको अविस्मरणीय दिन भनी उल्लेख गर्नुभएको छ । उहाँले ती दिनका बारेमा बताउनुभएका केही प्रसङ्ग जुन नेपाली गीत–सङ्गीत क्षेत्र मात्र नभई सबैका लागि प्रेरणादायी हुन सक्ने ठानी उहाँकै शब्दमा यहाँ उल्लेख गरिएका छन् :
सन् १९६५ मा नेपाली चलचित्र माइतीघरको गीत रेकर्ड गरी बम्बईबाट फर्केको थिएँ । त्यसबेला बम्बईमा एक महिना बसेँ । गीत–सङ्गीतसँग सम्बन्धित अन्य विविध पक्षबारे जान्ने मेरो रहर अधुरै रहेको थियो । सन् १९६९ सम्ममा मैलै जागिर खाएको दस वर्ष पूरा भइसकेको थियो । मलाई अफिसमा बेतलबी बिदा लिएर एक वर्षजति बम्बईमा सुगम सङ्गीत, चलचित्रका पाश्र्व सङ्गीत, गायन सङ्गीत संयोजनबारे विस्तृत रूपमा जान्ने साथै भारतीय विद्या भवनमा सङ्गीत अध्ययन पनि गर्ने मनस्थितिले जाने विचार गरी आमासँग सल्लाह गरेँ । त्यस समयसम्म म अविवाहित नै थिएँ भने ज्याठामा दुईतले घर बनाइसकेको थिएँ । घरको तल्लो तलामा दुई अमेरिकी पिस्कोर स्वयंसेवी डेरा गरी बस्थे । आमाले एक वर्ष बस्न सक्ने बताएपछि ढुक्क भएर बम्बई जान तयारी गरेँ ।
बिदाका लागि अफिसको मुख्य कार्यालय वासिङ्टन डीसीबाट स्वीकृत हुनुपथ्र्याे । म जुन विभागमा काम गर्थें, मेरो अनुपस्थितिमा अर्को व्यक्तिलाई अस्थायी नियुक्ति गरी मलाई एक वर्षका लागि बेतलबी अध्ययन बिदा स्वीकृत भएको पत्र अफिसबाट पाएँलगत्तै म बम्बई जाने तयारी गर्न थालेँ । व्यक्तिगत खर्चका लागि चार हजार भारतीय रुपियाँको ड्राफ्ट बनाएँ । नेपाल बैङ्कमा बनाएको ड्राफ्ट भारतस्थित जुनसुकै बैङ्कमा पनि साट्न सकिन्थ्यो ।
नेपाली चलचित्र माइतीघरमा गाएदेखि प्रसिद्ध भारतीय सङ्गीतकार जयदेव वर्मनजीसँग आत्मीय सम्बन्ध थियो । मेरो स्वभावबाट उहाँ अति प्रभावित हुनुहुन्थ्यो । मलाई आफ्नो छोरासरह ठान्नुहुन्थ्यो । औधी माया गर्नुहुन्थ्यो । तिम्रो जन्मभूमि नेपाल भए पनि कर्मभूमि यहीँ हो भनी मलाई बारम्बार बम्बईमा बस्न सुझाव दिनुहुने प्रथम व्यक्ति उहाँ नै हुनुहुन्थ्यो ।
एक वर्षका लागि बम्बई जान लागेको कुरा घरमा आमा र अफिसबाहेक कसैलाई भनिनँ । मसँग जयदेवजी बस्ने बम्बईको ठेगाना थियो । जयदेवजीलाई पनि आफू आउन लागेको जानकारी दिएको थिइनँ । म र आमा भर्खर बनाएको काठमाडौँको ज्याठास्थित घरमा बस्थ्याैँ । आमालाई आवश्यक खर्चको बन्दोबस्त गरिदिएँ । आमा पनि मजस्तै सङ्गीतको शोखिन हुनुहुन्थ्यो । गायनका साथै हार्मोनियम, तबला बजाउनुहुन्थ्यो । मैले गायन तथा हार्माेनियम र तबला बजाउन आमाबाट नै सिकेको हुँ । आमा र म सङ्गीतमा यति मग्न हुन्थ्यौँ कि सबै व्यथा बिर्सन्थ्यौँ । म भारत गएको समयमा घरमा बस्ने पिस्करका ती दुई अमेरिकीलाई पनि आमाले तबला बजाउन सिकाउनु भएछ ।
काठमाडौँबाट पटनासम्म हावाईजहाजमा र पटनादेखि बम्बई एक्स्प्रेसमा रातिको रेल चढेर बम्बर्ई पुगेँ । घरबाट हिँडेको पर्सिपल्ट बिहान म बम्बई पुगेँ । बम्बई पुग्नासाथ जयदेवजीकहाँ गएँ । मलाई अचानक देखेर उहाँ निकै खुसी हुनुभयो । मैले उहाँलाई आफू सुगम सङ्गीतबारे थप अध्ययन गर्ने उद्देश्यले आएको कुरा बताएँ ।
नेपालबाट मैले गितार, मादल तथा घुम्टीमा नआऊ है, आई जाऊ न छहारीनेर, शिरीष फुल्यो नीलो नीलो, कोही टाढा बसी बोलाउँछ, तारा मात्रै होइन जस्ता केही गीतमा कम्पोजिसन गरी लगेको थिएँ । साथै केही कविता पनि लगेको थिएँ । जुन कविताको पछि मैले भारतमा नै छँदा गितारबाट कम्पेजिसन गरेँ ।
आफू त्यहाँ बसुञ्जेल एउटा कोठा लिएर बस्छु भन्ने मेरो योजना थियो । त्यसैले बम्बई पुगेपछि जयदेवजीकहाँ सामान राखी मैले चिनेको नेपाली मित्र ज्ञानप्रकाश श्रेष्ठको बम्बईस्थित सरदार पटेल रोडमा रहेको उनको पसलमा पुगेँ । नेपाली सङ्गीतलाई माया गर्नुहुने ज्ञान प्रकाशले मलाई उनको दाजुको घरमा बस्ने बन्दोबस्त मिलाई दिए । म चार महिना त्यहाँ ‘पेइङगेस्ट’का रूपमा बसेँ । पछि ज्ञान प्रकाशले आपूmसँगै बस्न आग्रह गरेपछि नेपाल नफर्केसम्म उनको संयुक्त परिवारका साथ बस्न थालेँ ।
खाना बाहिर होटेलमा खान्थेँ । बिहान गितारमा रियाज गरी ८ बजेपछि सिधै जयदेवजीकहाँ सङ्गीत सिक्न पुग्थेँ । नियमित रूपमा यसरी म जयदेवसँग हुने भएकोले त्यस समयका सबैजसो भारतीय सङ्गीत क्षेत्रका व्यक्तिसँग मेरो राम्रो चिनजान हुन पुग्यो । गायक मुकेश, मन्नाडे सङ्गीतकार मदन मोहन, सलिल चौधरी, म झैँ नियमित रूपमा आउँथे ।
प्रसिद्ध गजल गायक जगजित सिंह र उहाँकी गायिका धर्मपत्नी चित्रा सिंह त्यस समयमा सङ्गीत क्षेत्रमा सङ्घर्षरत थिए । उनी पनि मजस्तै जयदेवजीकहाँ नियमित आउने भएकाले उहाँसँग बढी मेरा समय बित्थे । ब्रिजक्यान्डीस्थित उहाँको कोठामा म धेरै पटक गएको छु । त्यसबेलासम्म भारतमा पनि निकै कम गायकले मात्रै आफैँ गितार बजाएर गाउँथे । मैले गितार बजाएर मेरो रिकर्ड गर्न बाँकी गीत ‘घुम्टीमा नआऊ है’ सुनाउँदा उनले मलाई तिमी आफ्नै शैलीमा नेपालीपनमा राम्रो गितार बजाएर गाउँदा रहेछौ भन्ने गर्थे । उनले पनि हार्माेनियम बजाएर पाकिस्तानी गजल गायक मेहेन्दी हसनका गजल गाएर सुनाउँथे ।
म नेपालमा गायकका रूपमा परिचित भइसकेको थिएँ । यसैले साथी ज्ञान प्रकाशले बम्बईमा पनि विभिन्न कार्यक्रममा गाउने अवसर मिलाइदिन्थे । एक पटक बम्बईस्थित केसी कलेजमा विद्यार्थीको ठूलो समूहमाझ गाउन पुगेँ । कहिले नेपाली गीत नसुनेका उनीहरूले हुटिङ गरिरहेका थिए । यसअघि पनि त्रिचन्द्र कलेजमा अध्ययनरत छँदा कलेजका विद्यार्थीमाझ गाउने मेरो बानी थियो । पछि अलइन्डिया टुरमा पनि त्यस्तै विद्यार्थी समूहमाझ गाएको अनुभव थियो । मलाई ठूलो समूह देख्दा झन् गाउने जोश बढ्थ्यो । जब मैले स्टेजमा गितार बजाउँदै घुम्तीमा गाउन थालेँ, सबै जना अचानक चुप लागे । एउटा नेपाली, एउटा हिन्दी गीत गाइदिएँ । यो मेरा लागि पनि एउटा रोमाञ्चक अनुभव रह्यो । यसरी मैले त्यहाँ २० भन्दा बढी स्टेज सोमा गाएँ । जहाँ गाएँ पनि नेपाली र हिन्दी दुवै गाउने गर्थें ।
यसमध्ये करिब पाँच हजार दर्शक क्षमता रहेको षडमुखानन्द हलमा भएको फिल्मफेयर नाइटका लागि गाउँदाको क्षण अविस्मरणीय बनेको छ । टाइम्स अफ इन्डिया, स्टेटम्यानलगायतका तत्कालीन प्रसिद्ध भारतीय पत्रिकामा कार्यक्रम हुनुअघि सहभागी गायकको नाम प्रकाशित भएको थियो । यसमा ‘प्रेमध्वज भ्वाइस अफ नेपाल’ भनी लेखिएको आफ्नो नाम देख्दा एकदम खुसी लाग्थ्यो । भारतीय चलचित्र क्षेत्रका सबैजसो व्यक्तिको उपस्थिति रहेको त्यस कार्यक्रममा मेरो गाउने पालो पाँचवटा आइटमपछि थियो । सोनिया साहनीले उद्घोषण गर्दै मलाई नेपालबाट आउनुभएको नेपाली गायक प्रेमसाहब भनेर सम्बोधन गरे । त्यस समयमा अहिलेझैँ फिल्मफेयर नाइटको स्टेज झकिझकाउ नभई साधारण किसिमको थियो । स्टेजमा म गितार समाएर एक्लै उभिएँ । दर्शकदीर्घाबाट हिन्दी गीत भनेर कराउन थाले । मैले आफँै गितार बजाउँदै हिन्दी चलचित्र ‘प्यारका मौसम’को ‘तुम बिन जाऊ कहाँ’ भन्ने गाउँदा निकै बेरसम्म ताली बजिरह्यो । ‘वान्समोर वान्समोर’ शब्द हलमा गुञ्जिरह्यो । मैले आफ्नो नेपाली गीत ‘घुम्तीमा नआउ है’ गाएँ । मलाई नेपालबाट आएका नेपाली गायक भनी मेरो स्वर त्यतिबेला निकै मन पराए ।
जयदेवजी पछि मलाई माया गर्नुहुने अर्का प्रसिद्ध भारतीय सङ्गीतकार खयामजी हुनुहुन्थ्यो । उहाँ बम्बई कोलावोमा बस्नुहुन्थ्यो । “तिम्रो कर्मभूमि यहीँ हो” भनी मलाई बम्बई बसी त्यहीँको सङ्गीत क्षेत्रमा लाग्न बारम्बार भनिरहनुहुन्थ्यो । म उहाँलाई आमाको मबाहेक कोही छैन । त्यसैले आमालाई एक्लै छोड्न नसक्ने कुरा बताउँथेँ । नेपाल फर्कने समयमा खयामजी निकै दुःखी हुँदै तिम्रो स्वरको कदर यहाँ हुन्छ, फर्केर आऊ है पनि भन्नुभयो । मेरो भित्री चाहना सङ्गीत जान्नु थियो । त्यहीँ बसेर त्यहीँको सङ्गीत क्षेत्रमा लाग्ने मेरो मनसाय कहिल्यै भएन । भारतीय विद्या भवनमा पुगेपछि गुरुको अघि गितार बजाएर नेपाली र हिन्दी गीत गाएर सुनाएँ । मेरो स्वर सुनेपछि मलाई तिमीले सङ्गीत सिकेका रहेछौ, आफैँ गितार बजाएर यति राम्रो गाउँदा रहेछौ, तिमीलाई यहाँ थप सिक्नु जरुरी छैन भनी गुरुले फर्काइदिनुभयो ।
बिहानको समय जयदेवजीकहाँ बित्ने गथ्र्यो । त्यहाँबाट म नियमित रूपमा हिन्दी चलचित्रका गीत रेकर्ड हुने स्टुडियो मुख्य रूपमा फेमस, फिल्म सेन्टर, मिनु क्वाट्रक, राजकमल, वेस्टन आउटडोर पुगेर रिकर्डिङ हेर्ने गर्थें । प्रायः बिहान १० बजे पुगी दिउँसो लन्च टाइमसम्म बस्ने गर्थें । मैले लता मङ्गेसकर, मोहम्मद रफी, किशोर कुमार, मुकेश, आशा भोस्ले, मन्नाडे, गीता दत्तका रिकर्डिङ बढी हेर्थें । उहाँहरू जति पनि चलचित्रका गीत गाउनुहुन्थ्यो, धेरैजसो लन्चटाइमअघि नै रिकर्ड हुन्थ्यो । यो मेरो लागि नौलो अनुभव थियो । गीत ओके भएपछि जुन चलचित्रको गीत रिकर्ड भएको हो, त्यसका प्रड्युसरका हातमा सम्बन्धित गीतका गायक/गायिकादेखि वाद्यवादकसम्मका व्यक्तिको नामको सूची हुन्थ्यो । गीत ओके भएपछि तुरुन्त सूचीअनुरूप पारिश्रमिक दिने चलन पो रहेछ त्यहाँ । गायकदेखि वाद्यवादक सबैलाई सम्मानजनक व्यवहार र मेहनतको राम्रो कदर हुँदो रहेछ ।
म बम्बई आएको केही महिनापछि आमाले नेपालबाट चिठी पठाउनुभयो । चिठीमा ‘प्र्रेमध्वजले नेपाल छोडे’ भन्ने समाचार एक पत्रिकाले प्रकाशित गरेको छ भन्ने पनि लेखिएको थियो । त्यसैले मैले नेपाल छोडेँ भन्ने व्यापक हल्ला भएकाले आमाले त्यसको जवाफ पठाइदेऊ भनी चिठीमा लेख्नुभएको थियो । यसपछि मैले गोरखापत्रमा म बम्बई एक वर्ष सुगम सङ्गीत अध्ययनका लागि मात्र आएको हुँ भन्ने बेहोराको पत्र पठाएँ, जुन गोरखापत्रमा प्रकाशित पनि भयो । यसपछि यो हल्ला धेरै हदसम्म शान्त भयो ।
मेरो आफ्नै सङ्गीत रहेको घुम्टीमा नआऊ है, गुलाफी घुम्टो, लाग्दछ मन, शिरीष फुल्योलगायत दसवटा गीत रेकर्ड गराएँ । यस कुराले भारतमा निकै चर्चा पनि पायो । नेपाली गायकका रूपमा मलाई अझ राम्ररी परिचित गरायो । यही बेला अचानक नेपालबाट आमा बिरामी हुनुभएको खबर पाएँ । म १९६९ को नोभेम्बर १५ मा बम्बई पुगेको थिएँ । यहाँ आएको एक वर्ष हुन केही समय बाँकी छँदै म सन् १९७० को जुलाई अन्त्यतिर आमाका लागि नेपाल फर्कें ।