• ७ जेठ २०८१, सोमबार

‘विश्वविद्यालय राजनीतिक प्रयोगशाला होइन’

blog

मध्यपश्चिम विश्वविद्यालयको १२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभामुख राजबहादुर शाही । तस्बिर : नवीन सुवेदी

छिन्चु समाचारदाता

सुर्खेत, असार ४ गते । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयलाई राजनीतिक प्रयोगशालाका रूपमा स्थापित गर्न नहुने बताउनुभएको छ ।  सभामुख शाहीले मध्यपश्चिम विश्वविद्यालयको १२औँ वार्षिकोत्सवमा शुक्रबार आयोजित कार्यक्रममा ‘विश्वविद्यालयलाई राजनीतिक प्रयोगशाला’ बनाउन नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “विश्वविद्यालय अनुसन्धान गर्ने थलो हो, विश्वविद्यालयमा राजनीति पढ्ने पढाउने काम हुन्छ ।”

पछिल्लो समय विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको र बेरोजगार उत्पादन थलो बन्दै गएको सभामुख शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालयलाई राजनीतिक प्रयोगशालाका रूपमा स्थापित गर्न हुँदैन ।” 

उहाँले भन्नुभयो, “कर्णाली आफैँमा पछाडि परेको प्रदेश हो । यहाँको बेरोजगारी दर कम गर्न मध्यपश्चिम विश्वविद्यालयले भूमिका खेल्नुपर्छ । विश्वविद्यालयले व्यक्तिगत स्वार्थमा अल्मलिनु हुँदैन ।” उहाँले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन आवश्यक भएको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “विश्वविद्यालयलाई प्राज्ञिक केन्द्र बनाउन समयसापेक्ष परिवर्तन भई काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी छ ।” विश्वविद्यालयलाई अनुसन्धानमूलक प्राज्ञिक क्षेत्रमा केन्द्रित हुनुपर्ने सभामुख शाहीको भनाइ थियो ।

विश्वविद्यालयबाट उत्पादन भएका विद्यार्थीलाई कसरी रोजगार दिन सकिन्छ भन्नेतर्फ ध्यान दिँदै देश हाँक्न सक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । सभामुख शाहीले भन्नुभयो, “राष्ट्र निर्माणमा विश्वविद्यालयको भूमिका महìवपूर्ण छ । विश्वविद्यालय सबैको योगदानको प्र्रतिफल हो । यो सधैँ कायम रहन जरुरी छ ।” 

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई कर्णाली प्रदेशको मात्र नभई नेपालकै उत्कृष्ट शैक्षिक संस्था बनाउने गरी आफूले सुधारका विभिन्न कार्यक्रम अगाडि सारेको दाबी गर्नुभयो ।