• ३१ जेठ २०८२, शनिबार

अनेरास्ववियुमा मेधावी युवाको वर्चस्व

blog

काठमाडौँ, जेठ ३१ गते । क्लिनिकल साइकोलोजीमा काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस गर्नुभएका ३२ वर्षीय डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित हुनुभएको छ । कडरियासँगै अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट तीन जना डाक्टर र १३ जना इन्जिनियर विजयी बनेका छन् । 

राजनीतिप्रति युवाको आकर्षण घटिरहेको समयमा राजनीतिको मूल नेतृत्वमा प्राज्ञिक व्यक्ति आउनेक्रम बढेको छ । त्यसको उदाहरण डा. सुजनसँगै केन्द्रीय कमिटीमा प्राज्ञिक युवाको वर्चस्व देखिएको छ । 

अनेरास्ववियुको मात्र नभएर विद्यार्थी सङ्गठनकै इतिहासमा सम्भवतः पहिलो पटक मेडिकल डाक्टर अध्यक्ष बनेर एउटा उदाहरण पेस गर्नुभएको छ सुजनले । “राजनीतिभन्दा उन्नत समाजसेवा केही पनि छैन,” सुजनले भन्नुभयो, “राजनीति कमाइखाने भाँडो हैन, जनताको जीवनस्तर उकास्ने सशक्त माध्यम हो ।” डा. सुजनले आफू जनताको जीवनस्तर उकास्न रचनात्मक कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो चिकित्सक पेसा र राजनीतिलाई सँगसँगै लिएर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

रामेछापका स्थायी बासिन्दा कडरियाले कोभिडकै बेलादेखि गाउँ गाउँमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आफूलाई समाजसेवी राजनीतिज्ञका रूपमा स्थापित गरिसक्नुभएको थियो । “डाक्टर पढेर राजनीति गर्नुहुन्न भन्ने कुनै कुरा छैन,” सुजनले भन्नुभयो, “योजना बनाउने र मुलुकलाई कुन दिशामा लैजाने भन्ने काम राजनीतिबाहेक अरूले गर्न सक्दैन ।” उहाँले आफ्नो चिकित्सक पेसा र राजनीतिक जिम्मेवारीलाई एकैसाथ लिएर जाने प्रतिबद्धता जनाउनुभयो । उहाँ मात्रै हैन, अनेरास्ववियुको उपाध्यक्षमा इन्जिनियर विकास श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ सिभिल इन्जिनियर हुनुहुन्छ । उपमहासचिवमा निर्वाचित कमल जोशी एमएससीका सर्वोत्कृष्ट विद्यार्थी हुनुहुन्छ । उपमहासचिवमा पराजित प्रेमिका राज्यलक्ष्मी शाही स्टाफ नर्सका रूपमा सेवा गरिरहनुभएको छ । त्यस्तै केन्द्रीय सचिवालयमा विजयी र पराजित अधिकांश नेता स्नातकोत्तर र एमफिलमा अध्ययरत हुनुहुन्छ । चार जना निर्वाचित सचिवमध्ये रचना सापकोटा सिभिल इन्जिनियर र गोपाल नेपाल अधिवक्ता हुनुहुन्छ । अर्का सचिव आकाश घर्ती पेसाले फार्मासिस्ट हुनुहुन्छ । चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज मेडिसिन क्याम्पसको सभापति हुनुभएका डा. आनन्दकुमार सिंह सचिवमा पराजित हुनुभएको छ । त्यस्तै ४९ सदस्यीय केन्द्रीय सचिवालय सदस्यमा पाँच जना इन्जिनियर विजयी हुनुभएको अनेरास्ववियुले जनाएको छ । गण्डकीबाट किशोरचन्द्र सुवेदी, सुदूरपश्चिमबाट रोशनबहादुर साउद, विश्वविद्यालय राष्ट्रिय कमिटीबाट विशाल आचार्य, बागमतीबाट नवीन्द्र चालिसे, खुला सचिवालय सदस्यमा नितेश लामिछाने र सुकृति सुवेदी इन्जिनियर हुनुहुन्छ । 

खुला सचिवालय सदस्यमा डा. पुष्पराज भाम, एमएससीका रुद्रहरि पोखरेल, अधिवक्ता समीर रिजाल पनि विजयी हुनुभयो । पोखरेल अमृत साइन्स क्याम्पस ठमेल र रिजाल नेपाल ल क्याम्पसका सभापति रहनुभएको अनेरास्ववियुले जनाएको छ । 

इन्जिनियर सुदिन अधिकारी, सचिवन श्रेष्ठ, प्रेमबहादुर लामा, आकाश खत्री, अनिश पोखरेल, आसिफ अहमद र लोकेन्द्रबहादुर विष्ट, डा. प्रवीण भुसाल र अधिवक्ता स्मृति अधिकारीले केन्द्रीय कमिटीमा विजयी हुनुभएको छ । 

अधिवक्ता एवं अधिकारकर्मी हरिशरण दाहालले प्राज्ञिक युवाको राजनीतिमा आकर्षण देखिनु र जिम्मेवारी लिन अग्रसर हुनुले राम्रो कुराको सङ्केत गरेको उल्लेख गर्नुभयो । उहाँले अनेरास्ववियुबाट सुरु भएको यस्तो कार्य अरू राजनीतिक दल तथा तिनका भ्रातृ संस्थामा देखिन आवश्यक रहेको बताउनुभयो । प्राज्ञिक जनशक्ति नेतृत्वबाट भागेर हैन, नेतृत्व लिएर सुधारका पक्षमा उभिन आवश्यक रहेको उल्लेख गर्नुभयो । प्राडा अम्बुभवानी कार्कीले राजनीतिको मूल नेतृत्वमा प्राज्ञिक समूहका युवा पुग्नु सुखद समाचार रहेको उल्लेख गर्नुभयो । 

 

अध्यक्षमा कडरिया


अनेरास्ववियुको २४ औँ महाधिवेशनले डा. सुजन कडरियाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । निर्वाचनमा प्रकाश पौडेललाई सात मतले पराजित गर्दै कडरिया अध्यक्ष पदमा विजयी हुनुभएको हो । समितिको उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ निर्वाचित हुनुभएको हो । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी हुनुभएको हो । त्यस्तै सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससिमबाबु खाम विजयी हुनुभयो । अधिवेशनबाट भूगोल तथा विभिन्न समावेशी कोटासहित ३३ जना सचिवालय सदस्य निर्वाचित हुनुभएको छ । एक हजार ५५१ मतदातामा रहेको अखिलमा एक हजार ४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो । 


  

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।