• २६ जेठ २०८२, सोमबार

परिषद्को सम्पत्तिमा व्यवसायीको मनोमानी

blog

काठमाडौँ, जेठ २६ गते । राजधानीको भृकुटीमण्डपको भवन, जग्गा र प्रदर्शनीस्थल प्रयोग गरेबापत बक्यौता तिर्न समाज कल्याण परिषद्ले जारी सूचनाको बेवास्ता भएको छ । बक्यौता नतिर्ने सङ्घ, संस्था र व्यक्तिलाई परिषद्ले यसअधि ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । २०८१ चैत २१ गते ५१ वटा सङ्घ, संस्था र व्यक्तिलाई बक्यौता तिर्न सार्वजनिक सूचना जारी गरे पनि दुई महिना पुग्दासमेत एउटा संस्थाबाहेक अन्य सम्पर्कमा आएनन् । 

समाज कल्याण परिषद्का कायममुकायम निर्देशक दुर्गाप्रसाद भट्टराईले नेपाल पर्यटन बोर्ड मात्र सम्पर्कमा आएको जानकारी दिनुभयो । अहिलेसम्म बोर्डले मात्रै कुल १० लाख ६७ हजार ९०३ रुपियाँ २८ पैसा बक्यौता दिने वचन दिएको उहाँले बताउनुभयो । 

बक्यौता नतिर्ने सङ्घ, संस्था, व्यक्तिबाट रकम असुल गर्न कुमारीचोक तथा केन्द्रीय तहसिलको कार्यालयमा पत्र लेखेर पठाउने तयारी परिषद्ले गरेको छ । बक्यौता उठाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा समेत पत्र लेखेर पठाउने तयारी गरिएको भट्टराईले जानकारी दिनुभयो । 

महालेखा परीक्षकको प्रतिवेदनले भृकुटीमण्डपभित्रका विभिन्न ५१ सङ्घ संस्थाबाट छ करोड ८२ लाख ७५ हजार ५४५ रुपियाँ बक्यौता उठाउन परिषद्लाई निर्देशन दिएको छ । राजनीतिक पहुँचका भरमा समाज कल्याणको भृकुटीमण्डपको जग्गा, भवन, स्टल प्रयोग गरेर रकम नतिरेपछि बक्यौतालाई ब्याजमा जोड्ने गरिएकाले रकम बढ्दै गएको हो । बक्यौता नतिर्नेमा नयाँभन्दा पुराना बढी भएकाले रकम असुल गर्न परिषद्लाई सकस परेको छ । 

   

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।