• १८ असार २०८१, मङ्गलबार

हतारले यात्रुलाई सास्ती

blog

मीना कँडेल

कावासोती, जेठ ३१ गते । सार्वजनिक यातायातका सवारी साधनबीच ‘प्रतिस्पर्धा’ गरी हतार–हतार यात्रु चढाउने अनि ओराल्ने परिपाटीले सर्वसाधारणलाई सास्ती बेहोर्नु परेको छ । शिष्ट व्यवहार नहुनु अर्काे समस्या भएको यात्रुको गुनासो छ ।

नारायणगढ–डन्डा–चोरमारा रुट भएर चल्ने सवारीमा यात्रुले बढी हैरानी खेप्नु परेको कावासोती–१६ का हरि ज्ञवालीले बताउनुभयो । स्थानीय रुटमा चल्ने सवारीमा देखिएको यस्तो समस्या समाधान गर्न सम्बद्ध निकायले चासो दिनुपर्ने भनाइ उहाँको छ । 

नवलपुर क्षेत्रमा मात्र तीनदेखि चारवटा यातायात व्यवसायी सङ्घअन्तर्गतका बस चल्ने गर्दछन् । चौतारी यातायात, लेकबेँसी यातायात, सिटीबस यो रुटमा चल्ने मुख्य सार्वजनिक बस हुन् । चालक तथा सहचालकले यात्रुलाई आफ्नो सवारीमा राख्न हारालुछ गर्ने गरेका छन् । 

समयमै गन्तव्यमा पु-याइदिने नाममा त कहिले आफूभन्दा अघि अर्कै बस गयो भन्ने नाममा यात्रुलाई जबरजस्ती आफ्नै बसमा चढाउन खोज्ने, अभद्र व्यवहार प्रदर्शन गर्ने जस्ता मानसिकताले यात्रुले निकैसास्ती भोग्नु परेको छ । 

यति घिनलाग्दो प्रतिस्पर्धा छ कि यातायात व्यवसायीबीच आफू ओर्लने ठाउँ आयो भन्दा पनि पर पु-याएर रोक्छन्, एक्लै भए त केही हुन्थेन बच्चासँग हुँदा पनि संयमता अपनाउँदैनन्, नारायणगढबाट कावासोती यात्रा गर्दै गरेकी पवित्रा शर्माले गुनासो सुनाउनुभयो ।  

सार्वजनिक बसमा सवार गर्ने अशक्त र ज्येष्ठ नागरिकले मात्र होइन, सशक्तहरू पनि चालक र सहचालकको हैरानीबाट आजित हुने गरेका छन् । अपाङ्गता पुनस्र्थापना कावासोतीका सागर लुइँटेलले भन्नुभयो, हामीलाई भाडा सहुलियत पनि दिँदैनन् । अपाङ्गता भएकाले सिट पाउँदैनन् । सरकारले ज्येष्ठ नागरिकका लागि बनाइदिएको परिचय पत्र देखाउँदा समेत आलटाल गर्ने गरेको ज्येष्ठ नागरिक रुमबहादुर थापाले गुनासो गर्नुभयो । 

 यता चालकले भने टाइम कार्ड लागू हुने भएकाले छिटो छिटो उकाल्नु र ओराल्नुपर्ने समस्या रहेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रदीप थापाका स्थानीयको उजुरी वा गुनासोपछि कतिपयलाई कारबाही गरिने बताउनुहुन्छ तर बसको विषयमा कुनै गुनासो र उजुरी आएको छैन, उहाँले भन्नुभयो, “यस्ता उजुरी आए हामीले तत्काल कारबाही गर्छौं ।”