• १८ असार २०८१, मङ्गलबार

प्रतिनिधिसभा बैठक : मल उपलब्ध गराउन सबै उपाय अपनाउन सरकारलाई निर्देशन

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ३० गते । प्रतिनिधिसभाले किसानका लागि मल उपलब्ध गराउनका लागि सम्भव सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सर्वसम्मतिले सरकारलाई मल उपलब्ध गराउन सबै उपाय अपनाउन निर्देशन दिनुभएको हो ।

नेकपा (एमाले)का सांसद विशाल भट्टराईलगायत सांसदले दर्ता गराउनुभएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपन्क्षी विकासमन्त्री महिन्द्र राय यादवले दिनुभएको जवाफपछि उक्त विशेष प्रस्तावका रुपमा निर्देशन पारित भएको हो ।

‘‘रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।,’’ सभामुख सापकोटाले भन्नुभएको छ ।

सांसद भट्टराईलगायतका सांसदले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७८ बमोजिम दर्ता गर्नुभएको अत्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्तावमा ४८ सांसदले सहभागिता जनाउनुभएको पनि सभामुख सापकोटाले जानकारी दिनुभयो ।