• १८ असार २०८१, मङ्गलबार

सहकारीमा चोरी गर्न नपाएपछि आगजनी

blog

लीलाराज खड्का

बिर्तामोड, जेठ ३० गते । झापाको कनकाई नगरपालिका ३ स्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा चोरी गर्न गएको समुहले चोरी गर्न नपाएपछि सहकारीको भवनमा आगजनी गरेर क्षति गरेको छ ।  

सोमवार विहान राती १ बजेतिरको समयमा सहकारीभित्र पसेको समुहले मूलगेट, सीसीटिभी फुटेज, लगायत लगाइएका ताला तोडी क्षति गरेको छ । सो समुहले सहकारीको आर्थिक कारोवार हुने कक्षको ताला तोड्न असफल भएपछि माथिल्लो तलामा गई आगजनी गरी क्षति गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले बताउनुभयो । 

सो समुहले सहकारीको आर्थिक कक्षको समेत सबै तालाचाबी बिगारिदिएको सहकारीका पदाधिकारीहरुको भनाई छ । सहकारीको आफ्नै भवनमा अन्य व्यापारिक पसलहरु रहेको भएपनि सो लुटेरा समुहले सहकारीलाई लक्षित गरी मात्रै चोरी प्रयास र आगजनी गरेको हो । 

नगद चोरी हुन नपाए पनि आगजनीबाट सहकारीको तेस्रो तला जलेर क्षति पुगेको छ । कार्यालयका कागजात समेत जलेर नष्ट भएको छ । सहकारीमा लागेको आगो नेपाल प्रहरी, स्थानीय नागरिक र बिर्तामोड, मेचीनगर र भद्रपुर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको छ । 

केही दिन पहिले मात्रै यसै सुरुङ्गा बजार आसपासमा साँझको समय सुभेक्षा बचत तथा ऋण सहकारीको ताला पनि तोडिएको थियो । प्रहरीले केही घण्टामै चोरीमा संग्लनलाई नगदसहित पक्राउ गरेको थियो । यस क्षेत्रका अधिकांश सहकारीले दिउँसोको समयमा सुरक्षा गार्ड राख्नेगरेको भए पनि राती सुरक्षागार्ड नराख्ने गरेको पाइएकाले सहकारी कार्यालयमा चोरीका घटना बढ्ने गरेको सुरक्षाकर्मीको भनाई छ ।