• २९ माघ २०८२, बिहिबार

घाँस प्रयोग गर्नै जान्दैनन् किसान

blog

‘साइलेज’ (हरियो घाँस सुकाएर बनाइएको) तयार गरिँदै । फाइल तस्बिर

काठमाडौँ, जेठ २१ गते । पशुलाई खोले र पराल खुवाए मात्रै पुग्छ भन्ने मान्यताबाट नेपाली पशुपालक किसान अघि बढ्न नसक्दा कम लागतमा धेरै दुध र मासु उत्पादन गर्न सकिरहेका छैनन् । वर्षाको मौसममा त्यसै खेर जाने घाँसलाई सही रूपमा प्रयोग गर्न नसक्दा हिउँदमा पौष्टिक खाना पशुलाई खुवाउन नसकेर उत्पादन बढ्न सकेको छैन । 

हरियो घाँसको पौष्टिकतालाई नष्ट नगरी यसलाई लामो समयसम्म संरक्षण गर्न सकिन्छ  । यो प्राविधिक ज्ञान नहुँदा किसानले आफूसँग भएको घाँसको राम्रोसँग प्रयोग गर्न नसकेको यस क्षेत्रका विज्ञले उल्लेख गरेका छन् । 

नेपालमा ‘साइलेज’ (हरियो घाँस सुकाएर बनाइएको) को इतिहास धेरै लामो भए पनि यसको विस्तार भने त्यति धेरै भइसकेको छैन । २०२२ सालमै नेपालमा मकैबाट साइलेज बनाइएको थियो । तत्कालीन स्विस लाइभस्टक एक्सपोर्ट डा. मोन्चले पशु विकास फार्म जिरीमा साइलेज बनाउन सुरु गर्नुभएको थियो । पशु विकास फार्म पोखरामा आर्थिक वर्ष २०३४/३५ मा नै मकै तथा टिओसेन्टी घाँसबाट साइलेज बनाइँदै आएको छ । 

घाँस कम हुने समय वा हिउँदमा गाईभैँसीलाई घाँसमा भएको पौष्टिक तìव खुवाउन सकिने भए पनि नेपाली किसानले यसको प्रयोगमा चासो नदिएको पशु प्राविधिक उद्धवप्रसाद सापकोटा बताउनुहुन्छ । उहाँले नेपालमा खोले र पराल खुवाउने परम्परा रहे पनि विकसित मुलुकमा साइलेज बनाउनु सामान्य नै मानिने उल्लेख गर्नुभयो ।  हरियो अवस्थामा नै रहेको घाँस तथा घाँसेबालीलाई उपयुक्त समयमा काटी त्यसबाट ३० देखि ३५ प्रतिशत जलाङ्शको मात्रा घटाई ओइल्याएर साइलेज बनाउन सकिने उहाँले बताउनुभयो । 

ओइलाएको घाँसलाई १–३ सेमीका टुक्रा पारी हावा पस्न नसक्ने गरेर खाडल वा प्लास्टिक झोलामा तह तह बनाई खाँदेर घाँसमा रहेको सम्पूर्ण पोषक तìवहरूलाई कायमै राखी अम्लीयकरण प्रक्रिया पूरा गरेको पदार्थ नै साइलेज भएको उहाँ बताउनुहुन्छ । 

हिउँद तथा सुक्खा मौसममा खुवाउनका लागि बर्खामा बढी भएको घाँस तथा घाँसेबालीलाई त्यसमा निहित पोषिलोपनलाई कत्ति पनि घट्न नदिने भएकाले यसको ठुलो महìव हुने कृषि प्रचार अधिकृत कृष्ण धितालको भनाइ छ ।  “दुध उत्पादनका लागि बाह्रै महिना हरियो घाँसको उपलब्धता आवश्यकता अनुसार हुन सक्दैन । हरियो घाँस उत्पादन गर्न मौसमी प्रतिकूलता, भू–बनोट र सिँचाइको कमीले गर्दा सबै याममा हरियो घाँस उत्पादन गर्न सकिँदैन,” उहाँले भन्नुभयो, “खास गरी मङ्सिरदेखि जेठसम्म हरियो घाँसको बढी अभाव भएको पाइन्छ । 

यस अवधिमा पशुलाई पोषिलो खुराकका लागि हिउँदे घाँस पर्याप्त मात्रामा खेती गर्नु पर्दछ, होइन भने साइलेज उत्पादनका लागि घाँस खेती गरी उत्पादित घाँसबाट साइलेज बनाउन सकिन्छ ।” साइलेज सबै प्रकारका घाँसबालीबाट बनाउन सकिन्छ । मोटो डाँठ भएको घाँस खास गरी मकै, जुनेलो, टिओसेन्टी, नेपियर घाँसहरू साइलेजका लागि उपयुक्त मानिन्छ । साइलेज बनाउने घाँसमा गुलियोपनको मात्रा धेरै हुने भएकाले पशुले यसलाई रुचि मानेर खाने गर्दछन् । 

ठुला पशु फार्म र डेरी उद्योगले साइलेज प्रयोगलाई प्राथमिकतामा राखे पनि किसान तहसम्म यसको प्रयोग नहुँदा किसानले पराल, ढुटो र दानामा अर्बौं रुपियाँ खर्च गरिरहेको धितालले बताउनुभयो । साइलेजको प्रयोगले दुध उत्पादनको लागत मूल्यमा कमी आउने र हिउँदमा पनि दुधालु पशुले साबिककै दुध दिने उहाँले दाबी गर्नुभयो ।  पछिल्लो समय डेरी फार्ममा सुक्खा यामको अवधिमा जतिबेला हरियो घाँसको अभाव हुन्छ, त्यस समयमा पशु आहारका लागि फार्ममा भएको पशु सङ्ख्याका आधारमा साइलेज बनाउने चलन बढेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताउनुभयो । 

साइलेज बनाउने प्रक्रियालाई कतिपय कृषकहरूले झन्झट र असजिलो ठान्ने गरेका छन् । सुरुमा यसको संरचना निर्माण गर्न केही कठिन भए पनि पछि कुनै किसिमको समस्या नहुने दाहालले स्पष्ट पार्नुभयो । काभ्रेपलाञ्चोकका किसान ध्रुवप्रसाद पराजुली खोले र पराल खुवाउन सजिलो हुने भएकाले पनि साइलेजमा आकर्षण नभएको बताउनुहुन्छ । 

साइलेजको प्रयोगबाट पशुहरू स्वस्थ्य रहने, दुधको उत्पादन लागत घट्ने हुँदा हिउँद तथा सुक्खा समयमा हुने पशु आहारको समस्यालाई न्यूनीकरण गर्न साइलेजबाहेक अरू विकल्प नभएकाले सरकारले नै यसको प्रचार गर्न आवश्यक रहेको पशु प्राविधिक योगेश लम्सालले बताउनुभयो । व्यावसायिक गाईभैँसी पालक कृषकहरूले यसको प्रयोगको बारेमा सोच्ने बेला आएको बताउँदै उहाँले यसको प्रयोगले किसानले आत्मनिर्भरको पथमा जान सक्ने दाबी गर्नुभयो । 

तीन दशकदेखि घाँस खेतीमा संलग्न किरण खरेल घाँसबाहेक दुध उत्पादन दाना र ढुटोबाट सम्भव नहुने बताउनुहुन्छ । उहाँले सरकारले घाँस खेतीको विस्तार, साइलेज निर्माणका लागि ग्रामीण तहसम्म पुगेर किसानलाई तालिम दिन आवश्यक रहेको बताउनुभयो । 

   

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।