• ३० वैशाख २०८१, आइतबार

लोककलाको विविधता प्रस्तुत

blog

शिवा तामाङ

काठमाडौँ, जेठ ३० गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागले ‘विभिन्न जातीय लोककला’ शीर्षकमा आयोजित दुई दिने कार्यशालामा कलाकारले लोककलाको विविधतालाई प्रस्तुत गर्नुभएको छ । 

प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सहभागीलाई क्यानभास वितरण गरी सुरु भएको कार्याशालामा १५ कलाकारले सहभागिता जनाउनुभएको थियो । कुलपति कर्माचार्यले जातीय विविधतासँगै भिन्न–भिन्न संस्कार, संस्कृति र कला रहेको लोककलाले जातिअनुसार नै फरक शैलीको प्रतिनिधित्व गर्ने बताउनुभयो । 

उहाँले कार्यक्रममा महिला कलाकारको उत्साहजनक उपस्थिति देखेर खुसी लागेको बताउँदै घरपरिवारको जिम्मेवारीसँगै कला सिर्जनालाई समय छुट्टयाएको भन्दै सफलताको शुभकामना दिनुभयो । प्रतिष्ठानका उप–कुलपति गोपाल चित्रकारले  जातीय विविधतासँगै फरक लोककलाको  अध्ययन, अनुसन्धान, खोज गरी कलाको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । 

कला कार्यशालामा सहभागी कलाकार सरिता चित्रकारले महिला कलाकारले घरको जिम्मेवारी सम्हाल्दै समय मिलाएर चित्र कोर्दा तनावसमेत कम हुने र लोपोन्मुख कलाको संरक्षण हुने दाबी गर्नुभयो । लोककला विभाग प्रमुख प्राज्ञ मिथिला देवी यादवले यस कला कार्यशाला विभिन्न जनजातिको कलाकारको जमघटको अवसर जुराएको बताउनुभयो । 

उहाँले हरेक जात–जातिले जन्मदेखि मृत्यु संस्कारसम्म अभ्यास गर्ने परम्परा नै लोककला हो भन्नुहुँदै मिथिला लोककलाले जस्तै सबै जातिको लोककला जीवन्त बनाउन सम्बन्धित समुदाय तथा कलाकारले लोकचित्र कोरिरहन आग्रह गर्नुभयो ।