• १० माघ २०८२, शनिबार

नारीकेन्द्रित उपन्यास ‘कुन्ती’

blog

शिक्षक तथा पत्रकार हरिविनोद अधिकारीको नवीनतम औपन्यासिक कृति प्रकाशनमा आएको छ, ‘कुन्ती’ । नेपाली आख्यान विधामा पौराणिक पात्रको नाममा सार्वजनिक ‘कुन्ती’ आत्मालाप शैलीमा लेखिएको छ ।

महाभारतका अनेकन् पात्रमध्ये एक हुन्– कुन्ती । उनी महाभारतकी मातृपात्र हुन् । उनी वासुदेवकी बहिनी हुन् । कर्णकी आमा हुन् । कुन्ती भरतवंशी पाण्डुकी पत्नी हुन् । कुन्तीका छोराहरू युधिष्ठिर, भीम र अर्जुन पनि हुन् । महाभारत युद्धमा अर्जुनका सारथि कृष्णका फुपू पनि तिनै कुन्ती हुन् । कुन्ती महाभारतमा कतै कतै देखा पर्ने तर महत्वपूर्ण पात्र हुन् । कुन्ती अल्पभाषी तर जस्तोसुकै दुःखमा पनि अविचलित रहने साहसी नारी पात्र पनि हुन् । उनी सत्य, निष्ठा, विवेक र त्यागकी प्रतीक हुन् । पाण्डव हुन् या कौरव; दुवै पक्षको प्रसङ्गमा पन्छाउन नमिल्ने पात्र हुन् । यिनै पात्रलाई छानेर लेखकले आत्मालाप शैलीमा महाभारतका विभिन्न महत्वपूर्ण प्रसङ्गलाई ‘कुन्ती’ उपन्यासमा प्रस्तुत गर्नुभएको छ ।

कुन्ती छोराहरूको भविष्यप्रति सधैँ चिन्तित हुन्छिन् । त्यसैले वारणावर्तमा लाक्षागृहमा आगो लगाउन आदेश दिने राजमाता हुन् । उनी सुदूर भविष्यको राजनीतिलाई नियाल्न सक्ने दूरदर्शी पात्र हुन् । शान्तिवार्ताका लागि युधिष्ठिरका तर्फबाट शान्तिदूत भएर कृष्ण आएका थिए । जसरी पनि धर्मयुद्ध आवश्यक छ भनेर आफ्ना छोराहरूलाई सन्देश दिने नाउँमा क्रान्तिकारी आशीर्वचन पठाउने पनि कुन्ती नै हुन् । आदर्श र व्यावहारिक जीवनकी कठोर मार्गनिर्देशकका रूपमा मौनताका साथ सतीसालझैँ ठिङ्ग उभिने साहसी नारी पात्र हुन्, कुन्ती ।

‘कुन्ती’ आत्मालाप उपन्यास हो । महाभारतमा कुन्ती कम बोल्ने पात्र हुन् । कम बोल्ने मान्छेका मनमा कति धेरै कुरा होलान् भन्ने जिज्ञासा सबैलाई हुन्छ । त्यही कुरालाई बुझेर होला, उपन्यासमा लेखक स्वयम् कुन्ती बनेर सलल बग्नुभएको पाइन्छ । कथाको प्रारम्भ आगोबाट भएको छ । महाभारत आफैँमा आगोसँगको कथा हो । सत्तासङ्घर्षको कथा आगोकै कथा हो । युद्ध झन् डरलाग्दो आगो हो । कुन्ती राज्यसत्ताको केन्द्रमा रहेकी पात्र हुन् । उनीभित्र आगोको त्रास छ– समयको आगो, तनावको आगो र उमेरको आगो । अझ अर्को भयानक आगो त निकट आइरहेको भौतिक विसर्जनको सम्भावित आगो । यसरी कथाको अन्त्य पनि आगोकै प्रसङ्गमा भएको छ ।

उपन्यासको अन्त्यमा संसारमा कोही पनि स्थायी छैन भन्ने शाश्वत सत्यलाई प्रकट गरिएको छ । चारैतिर कृष्णलाई मात्र देखिरहेको छु भन्ने कुरा कुन्तीको मुखबाट व्यक्त भएको छ । आँखा चिम्लेर अग्निसमाधिको तयारी गर्ने कुन्तीले कृष्णलाई मुक्तिदाताका रूपमा स्विकारेकी छन् । उनी भन्छिन्, “हे कृष्ण, हे कृष्ण ! अब तिमीबाहेक कोही पनि सहारा छैन मेरो । सबै पापको प्रायश्चित्त गर्दै अब म बिदा भएँ ।”

“महाभारतमा बर्बरिक मारियो, अर्जुन–सुभद्रा पुत्र अभिमन्यु मारियो, द्रौपदीका पाँच भाइ छोराको हत्या गुरुपुत्र द्रोणबाट गरियो । कर्ण यही युद्धमा मारिए । कस्तो विडम्बना ! छोरा, नाति, पनातिको अन्त्य भएको छ, मारिएका छन् ।” यी हरफ पढिरहँदा निकट विगतमा नेपालमा एक दशकसम्म चलेको सशस्त्र सङ्घर्षको दृश्य आँखाअगाडि सरर आउँछ । युद्धमा कैयौँ मान्छे मारिन्छन् । कयौँ बेपत्ता हुन्छन् । बेपत्ता नागरिकको खोजीका लागि तिनका परिवारले, आफन्तले गरेको याचना सम्बोधनको माग पनि यस कृतिले गरेको देखिन्छ । 

लेखनको मूलमा युद्धविरोधी चेतना छ । युद्धको घाउ सधैँ पीडादायी हुन्छ । महाभारतको युद्ध प्रसङ्ग र नेपालमा भएको दशक लामो सशस्त्र द्वन्द्वमाथिको पक्षविपक्षको बहस जुग जुग रहिरहने छ । लेखकले त्यो प्रसङ्ग र हरेक युद्धका प्रसङ्गलाई तुलना गरेको पाइन्छ । युद्ध कसै गरे पनि राम्रो नहुने कुरामा लेखक दृढ देखिनुहुन्छ । 

पाँच भाइ पाण्डवको विजयको कामना गरे पनि कुन्तीलाई कर्णको चिन्ता पनि त्यत्तिकै थियो । कर्णको चिन्ता गरे पनि पाण्डवको विजयको चिन्ता त्यत्तिकै थियो । त्यो बेला जन्मँदाको कर्ण, अधिरथ र राधाले पालेको कर्ण, हस्तिनापुर दरबारमा सारथिको छोरो कर्ण, दुर्योधनका अनन्य साथी कर्ण, मलाई भेट्दाको दुर्वासा जस्तै कर्ण, मैले माग्नेबित्तिकै चार वटा अमोघ अस्त्र दिने कर्ण अनि इन्द्रले माग्दा छाला काढेर दिने कर्ण । 

कुन्तीले कुनै बेला दुर्वासा ऋषिलाई अतिथि सेवामा सन्तोष गराएकी थिइन् । त्यसैले ऋषि खुसी भएर मन्त्रशक्ति दिएका थिए । पुत्रप्राप्तिका लागि नियोग नीति प्रयोग गरिन् । विवाहपूर्व नै कुन्तीले सूर्यसँगको प्रसङ्गमा कर्ण जन्माइन् । पाण्डुसँग विवाह गरेपछि यमराजको आह्वानबाट युधिष्ठिर, वायुको आह्वानबाट भीमसेन र इन्द्रको आह्वानबाट अर्जुनलाई जन्म दिइन् । उनी जसरी आमा बनिन्, ती प्रत्येक प्रसङ्ग यसमा छ । अनि पूरै महाभारत युद्धकी प्रत्यक्ष साक्षी र रहस्यमयी साक्षी र निरुपाय साक्षीका रूपमा कुन्तीले भनेका उनका कठोर नियतिका कथाहरू लेखकको कलमले जीवन्त तरिकाले प्रस्तुत गरेको छ । 

नेपालको राजनीतिको सन्दर्भ पनि यहाँ जोडिएको पाइन्छ । कतिपय नेपाली नेताले त सत्ताका लागि राजनीतिक विचारको अनपेक्षित नियोग गरे जस्ता देखिन्छन् । राजनीतिक नेतृत्वको चारित्रिक स्खलन, वैचारिक अस्पष्टता र परनिर्भरताको राम्रो विश्लेषण लेखकले कुन्तीमा गरेको पाइन्छ । कुन्ती दुःखी दुःखी छिन् रोएर पनि रुन नसकेकी, बाँचेर पनि बाँच्न नसकेकी, जीवन जस्तो जीवन नभएकी तर बाहिर देखिँदा सानले बाँचिरहेकी । उनी एक कठोर नियतिको बन्दी बन्न पुग्छिन् । यस्तो वर्णनले कुन्तीलाई एक अविश्वसनीय र अप्राकृतिक पात्रको भयानक कल्पना जस्तो लाग्छ । यो कृति पढ्ने पाठकलाई पूरै महाभारतभित्र पस्ने हुट्हुटी पक्कै जाग्ने छ ।

लेखकका अनुसार महाभारतमा सिर्जना गरिएकी कुन्ती नारीका चार भेदमध्ये ‘अक्षता’ हुन् । त्यागकी प्रतिमूर्ति हुन् । राजनीति र युद्धबाट पीडित मातृभाव हुन् । कर्म र नियतिकी एक विम्ब हुन् । लेखकका प्रत्येक कथामा कुन्ती आफ्ना कथा बोल्छिन् । इतिहासका प्रत्येक कालमा करोडौँ कुन्तीको मातृपीडा, नारीपीडा र नियतिको चक्रध्वनि निरन्तर यसै गरी प्रकट हुँदै आएको छ । महाभारतको विशाल ग्रन्थभित्र छिरेर तत्कालीन समाजको विश्लेषण र सामाजिक न्याय परम्पराको झलक प्रस्तुत गरेर लेखकले वर्तमान पुस्तालाई ऐतिहासिक ज्ञानको राम्रो उपहार दिनुभएको छ । यो कृति महाभारतको एक पूरक ग्रन्थका रूपमा नेपाली साहित्यको उपन्यास विधामा आएको छ ।

पुस्तकको आवरण पृष्ठ विषय सुहाउँदो आकर्षक देखिन्छ । भित्री पृष्ठमा प्रयोग भएको कागज ठिकै खालको छ । उपन्यासको प्रस्तुति सरल छ । सरल हुँदाहुँदै पनि कतै कतै वाक्यको संरचनामा संयोजक र निपातहरूको दोहोरो प्रयोग पाइन्छ । चामलभित्रका बियाँ झैँ कतै कतै हिज्जेगत अशुद्धि पनि भेटिन्छ । समग्रमा हेर्दा अधिकारीको औपन्यासिक कृति ‘कुन्ती’ ले पाठकमा पढ्ने रुचि जगाउने देखिन्छ ।