गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १० गते । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व शुक्रबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजाआराधना गरी मनाइएको छ । शुक्रबार देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भिड लागेको थियो । विद्यालय नपठाइएका साना बालबालिकालाई श्रीपञ्चमीकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।
यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाआराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्ने चलन रहिआएको छ । सरस्वती पूजाले हरेकको जीवनमा ज्ञान र विद्याको अत्यन्त ठुलो महत्व राख्ने संस्कृतिविद् गोविन्द टण्डन बताउनुहुन्छ । उहाँका अनुसार ज्ञान र विद्याको देवीका रूपमा नेपाली समाजमा पहिलेदेखि नै सरस्वतीलाई स्थान दिएको कुरा सर्वविधितै छ । तसर्थ हामी नेपालीमा बहुभाषी, बहुजाति सम्प्रदाय भएका कारणले गर्दा पनि नेपालमा हिन्दु र बौद्धको बिचमा ज्ञानकी देवी हुन् । एउटै ज्ञानकी देवी सरस्वतीलाई मञ्जुश्रीका रूपमा र मञ्जुश्रीलाई सरस्वतीका रूपमा एकअर्कालाई आरोपण गरेर पूजाआजा गर्ने चलन भएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “सरस्वती पूजाले जीवनमा ज्ञान र त्यागप्रति सम्मान हुनु पर्छ र ज्ञान र विद्याको सम्मान समाजमा दिन सक्यो र व्यक्तिले त्यसलाई ग्रहण गर्न सक्यो भने त्यसको महत्व हुन्छ भन्ने परम्परा आजसम्म पनि रहिआएको छ ।
पञ्चमीको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत सरस्वतीका मन्दिरमा पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।