बुटवल समाचारदाता
बुटवल, माघ १० गते । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘बिगुल’ को प्रचार बुटवलबाट सुरु भएको छ । बुटवलमा एक कार्यक्रमबिच निर्माता दिनेश कोइराला, निर्देशक रामेश कोइराला र नायक नरेन खड्कासहितको टोलीले प्रचार सुरु गरेको हो । बुटवल जेसिससँगको सहकार्यमा गरिएको एक कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसहित जेसिसका पदाधिकारीको उपस्थितिमा चलचित्रको ट्रेलर हेरिएको हो । निर्देशक रामेशले चलचित्रको कथावस्तुदेखि अभिनय र सिनेमाटोमा निकै मेहनत गरिएकाले सबै परिवारको, आफ्नै समाजको यथार्थ कथा बोलेको बताउनुभयो । कलाकार नरेन खड्काले चलचित्र बिगुलले चुनावको छेकोमा समाजको यथार्थ चित्रण गर्दै नयाँ आयाम ल्याउन बिगुल फुक्ने बताउनुभयो । म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिसाका साथमा नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर बाङ्देलगायत कलाकारको अभिनय रहेको छ ।