• १० माघ २०८२, शनिबार

मन बदलिएपछि [कथा]

blog

हर मुटुलाई छुने, मायाको लहर हुन्छ 

तैपनि मनले पन्छाए, रित्तो रित्तो बगर हुन्छ 

ल्यापटपमा अरुण थापाको गीतको अन्तिम हरफ बज्यो । उनलाई पनि लाग्यो– मायाको लहर बगरमा परिणत भयो; जो हातमा समाएको चिनीबिनाको कालो कफी झैँ तितो लागिरहेको छ । उनले मनीषासँगको पहिलो भेट सम्झे; जो विश्वविद्यालयमा भएको थियो । उनीहरू दुवै फरक विषयका विद्यार्थी थिए । त्यसैले कक्षाकोठामा उनीहरूको भेट कहिल्यै भएन । पहिलो भेट क्यान्टिनमा भएको थियो । 

“यहाँ पानी पोखिएको छ है,” प्रकाशले कसैको आवाज सुने । आवाज सुनेपछि उनी सजग भए र पानी पोखिएको ठाउँमा बसेनन् । उनलाई सचेत गराउने महिला छेवैमा चियाका गिलास समाएर बसेकी थिइन् । 

“धन्यवाद !” प्रकाशले भने । 

महिला मुस्कुराइन् मात्र । जवाफमा उनी पनि मुस्कुराए र आफूले बोकेर ल्याएको आलुचना खान थाले । त्यो पहिलो भेट अति सामान्य थियो । त्यसपछिका धेरै दिन त्यसै त्यसै बितेर गए तर महिना दिनपछि उसै गरी क्यान्टिनमा भेट भयो; जुन दिन उनीहरू दुवै एक्लाएक्लै थिए । एक्लाएक्लै भएकाले मुस्कान विनिमय गर्दै एउटै टेबलमा बसे । 

“तपाईं कुन विषय पढ्नुहुन्छ ?” महिलाले सोधिन् । 

“इतिहास” 

प्रकाशले सोधे, “तपाईं के पढ्नुहुन्छ ?”

“म नेपाली पढ्छु,” महिलाले भनिन्, “तपाईंको विषयमा त खासै विद्यार्थी छैनन् रे ।”

प्रकाशले जवाफमा टाउको हल्लायो मात्र । थोरै विद्यार्थीको पनि आआफ्नै समूह थियो । प्रकाशको मिल्ने एउटा साथी थिए; जो धेरै जसो अनुपस्थित हुन्थे । आज पनि उनका साथी आएनन् ।  

त्यसपछि प्रायः क्यान्टिनमा उनीहरूको भेट हुन थाल्यो । भेट बाक्लिँदै गएपछि उनीहरूले एकअर्कालाई चिनाउने काम पनि गरे । मनीषा लमजुङबाट स्नातकोत्तर गर्नकै लागि काठमाडौँ आएकी थिइन् । खास घर चितवन भए पनि प्रकाशले सानैदेखि काठमाडौँमा होस्टलमा बसेर पढेका थिए । प्रकाश जावलाखेलबाट आउँथे भने मनीषा विश्वविद्यालयनजिकै कीर्तिपुरमै बस्थिन् ।  

बेला बेला मनीषा अरू साथीसँग पनि हुन्थिन् तर त्यो समय पनि प्रकाशसँग बोल्न छुटाउँदिनथिन् ।  आइतबारको दिन थियो, मनीषाले प्रकाशलाई देखिनन् । त्यसपछि केही दिन निरन्तर प्रकाश क्यान्टिनमा देखिएनन् । 

अर्काे आइतबार मनीषा र उनको साथी चिया पिउँदै गर्दा प्रकाश देखिए । मनीषाको पूरै शरीरमा खुसी सञ्चार भयो । उनी साथीहरूलाई छोडेर प्रकाशतिर लागिन् । 

“ओहो !” मनीषाले भनिन्, “यत्रो दिन कता गायब हुनुहुन्थ्यो ?”“म त काठमाडौँबाहिर गएको थिएँ ।”

“घरतिर ?” मनीषाले पुनः सोधिन् । 

“हैन । अफिसको कामले गएको । कैलाली, कञ्चनपुर र डडेलधुरा ।”“अफिसको कामले ?” मनीषाले आश्चर्य मानिन्, “अनि अरू बेला त अफिस जानु पर्दैन ।”

“मेरो अफिस हैन,” प्रकाशले भने, “म अनुवादकको काम गर्छु । एउटा आइएनजिओको काममा गएको थिएँ ।”

मनीषाका साथीहरूले खाजा मगाएर मनीषालाई बोलाए । प्रकाशसँग छुट्टिनुअघि मनीषाले भनिन्, “फोन नम्बर एक्सचेन्ज गर्नुपर्ने भयो ।” “गरिहाल्ने त ?” प्रकाशले ठट्टाको भावमा भने । 

“गर्नु परेन त,” मनीषाले पनि ठट्टाको भावमा भनिन्, “तपाईं अचानक गायब हुनुहुँदो रहेछ । नम्बर भएपछि त सोधीखोजी गर्न मिल्यो नि !”

प्रकाशले भने अनुसारको नम्बर मनीषाले डायल गरिन् । अब प्रकाश र मनीषा दुवैका फोनमा एकअर्काका नम्बर सूचीकृत भए । त्यही साँझ मनीषाले प्रकाशको नम्बर डायल गरिन् । खास कुरा केही थिएन तर फोन राख्न पनि मन थिएन । हरेक मिनेटमा खर्च भइरहेको पैसा सम्झिँदै मनीषाले फोन काटिन् ।  अब कलेजको क्यान्टिनमा हुने भेटले मात्र पुग्न छोड्यो । बिहान उठेपछि होस् वा बेलुका निदाउनुअघि; एक पल्ट फोनमा बोल्नैपर्ने आदत बस्यो । कलेज बिदा भएको समय मनीषा आफँै जावलाखेल आउन थालिन् । सिनेमाघर वा नजिकका पार्कमा टहलिनु उनीहरूका लागि उत्तम समय हुन्थ्यो । स्नातकोत्तरको परीक्षा सकिएपछि दुवैले ‘कोर्ट म्यारिज’ गरे र यही खबर दुवैले आआफ्ना घरमा पठाए । प्रकाशले एउटा आइएनजिओमा पूर्णकालीन काम पाइसकेका थिए । विवाहपछि मनीषाले पनि एउटा संस्थागत विद्यालयमा पढाउन थालिन्; जो उनका लागि रुचिकर भने थिएन । 

विवाहको दुई वर्षपछि छोरी जन्मिइन् । छोरीको आगमनमा दुवै खुसी भए । छोरी बिस्तारै पल्टिन थालिन् । त्यसपछि घस्रिन अनि हिँड्न थालिन् । बिस्तारै छोरी ‘किन्डरगार्टेन’ स्कुल जाने भइन् । छोरीको आगमनले खुसीसँगै खर्चको पनि बढोत्तरी भएको थियो । छोरीको रेखदेख अनि विद्यालयको कामले मनीषा निकै धपेडीमा हुन्थिन् । “म यो स्कुलसिस्कुल पढाउन सक्दिनँ,” मनीषाले प्रकाशलाई चियाको कप थमाउँदै भनिन् । 

“स्कुलमा के भो र ?” प्रकाशले चियाको कपमा ओठ जोड्नुअघि भने । “केही भा’छैन,” रिसको पारो यथावत् राख्दै भनिन्, “गधालाई जस्तो दलाएको छ । सेवासुविधा भने केही छैन ।” पैसा धेरै खालको रहर पूरा गर्ने साधन हो तर सानो बच्चा, त्यसमाथि विद्यालयमा पढाउने कामको धपेडीले मनीषालाई निकै गाह्रो भएको छ । यही सम्झेर प्रकाशले पनि पढाउने काम छोड्ने मनीषाको चाहनालाई रोकेनन् ।  

छोरी छ वर्ष पुगेपछि उनीहरूले राम्रो संस्थागत विद्यालयमा भर्ना गरे । मनीषा पुनः काममा फर्किन सक्थिन् तर एक साँझ उनले अर्कै योजना सुनाइन्, “प्रकाश, तिम्रो सञ्चय कोषको पैसा निकाल; एउटा रेस्टुरेन्ट खोलौँ ।”

“नजानेको काममा हात हाल्न हुँदैन,” प्रकाशले विमति जनाए, “पैसा डुब्न सक्छ ।”

“तिमी त कस्तो नेगेटिभ भा’को, दुनियाँले कमाका छन् त ।” त्यसपछि निकै दिन यो विषयमा वादविवाद चल्यो । अनि प्रकाशले एक दिन मनीषाको अगाडि आत्मसमर्पण गरे । उनले सञ्चय कोषबाट छ लाख जति रुपियाँ झिक्न मिल्ने रहेछ । उनी रकम झिक्ने तयारीमा लागे । मनीषा साझेदारीमा रेस्टुरेन्ट खोल्नतिर लागिन् ।   मनीषाले तामझामसाथ रेस्टुरेन्ट खोलिन् । रेस्टुरेन्टले भने तामझाम गरेजति ग्राहकलाई आकृष्ट गर्न सकेन । दुई वर्षसम्म पनि आशातीत सफलता मिलेन । आइतबार पनि बिदा हुने भएकाले प्रकाश घरमै थिए । छोरी विद्यालय गएकी थिइन् । मनीषाले रेस्टुरेन्ट जान रुचि देखाइरहेकी थिइनन् । “अब रेस्टुरेन्ट बेच्नु पर्छ,” मनीषाले आफ्नो निर्णय सुनाइन्, “अब धेरै घाटा खानु ठिक हुँदैन ।”

“पहिल्यै भनेको हैन,” प्रकाशले भने, “नजानेको काममा हात हाल्दा डुबिन्छ ।”

“नजानेको हैन के,” मनीषाले प्रतिवाद गरिन्, “भाग्यले साथ दिएन त के गर्ने ?”

“दुनियाँमा मूर्खहरू यस्तै हुन्छन् । आफ्नो दिमाग हँुदैन, भाग्यलाई दोष दिन्छन्,” प्रकाशको आवाज पहिलेको भन्दा ठुलो भयो । “भनेपछि म मूर्ख हैन त, तिमी मात्र दिमाग भा’को,” मनीषाको आवाज ठुलो हुन थाल्यो । 

त्यसपछि उनीहरूको विवाद निकैबेर चल्यो । पछिल्लो समय उनीहरूबिच विवादको विषय र समय बढ्दै गएको थियो । दोस्रो सन्तान जन्माउने सवालमा पनि उनीहरूको वादविवाद हुन्थ्यो । परिवार र आफन्तको दबाब भन्दै मनीषा अर्काे सन्तान जन्माउन चाहन्थिन् तर प्रकाश जिम्मेवारी वहन गर्न र खर्च धान्न गाह्रो हुने भएकाले नजन्माउने सोचमा थिए । बेच्न खोजेको एक वर्षसम्म पनि रेस्टुरेन्ट बिक्री भएन । निरन्तर घाटा सहनुभन्दा बन्द गर्नु उचित ठानियो र बन्द गरियो ।   

“मनीषा, सपना देख्नु नराम्रो हैन,” प्रकाशले सम्झाउँदै भने, “तर सपना आफ्नो औकात अनुसार देख्नु पर्छ ।”

“हुतीहाराले गर्ने कुरा यस्तै हो,” मनीषाले व्यङ्ग्यात्मक पारामा भनिन्, “तिम्रा कति साथी इन्टरनेसनल जबमा गएर आफ्नै घर बनाइसके, तिमी भने यही भाडाको घरमा बस । तिम्रो औकात यति नै हो ।”

“तिमीले रेस्टुरेन्टमा पैसा नडुबाएको भए त, हामी पनि जग्गा किन्न सक्थ्यौँ नि ।” प्रकाशले भने, “तर तिमीलाई सजिलो काम चाहिने । धेरै पैसा कमाउनुपर्ने । धेरै कमाउन खोज्दा देख्यौ नि ?”

“देखेँ देखेँ, तिम्रो १०÷१२ लाख पैसा डुब्दा रात दिन टोकस्छौ ।” “१०/१२ लाख त हातको गयो । त्यो बेला अरूतिर तिमीले कमाएको भए थप जोगिन्थ्यो नि !”

“टोक टोक, कति टोक्न सक्छौ टोक,” आफ्नो टाउकोमा धारे हात लगाउँदै मनीषा बोलिन्, “कुन दिनमा यस्तो मान्छे भेटेछु ।” मनीषाको कुराले प्रकाशको पारो ततायो । तैपनि समालिने कोसिसमा केही बोलेन । निकैबेरको सन्नाटापछि प्रकाश बोल्यो, “अब तिमी पनि केही काम गर, घरजग्गा बिस्तारै जोडिँदै जान्छ ।”

“म कामसाम गर्दिनँ,” रिस देखाउँदै भनिन् “म माइती गएर बुवाको बिजनेस समाल्छु । तिमी जस्तो हुतीहारासँग बस्नु छैन मलाई ।”“के रे ?” यति बोल्दा प्रकाशको हात मनीषाको गालामा बज्रिसकेको थियो, “हुतीहारा, हुतीहारा । देखिस् हुतीहारा ।” “अब हात पनि हाल्न थाल्यौ हैन ?” मनीषाले रुँदै भनिन्, “अब त ज्यान गए यो घरमा बस्दिनँ ।”

त्यस दिनदेखि झगडा अझ चर्किंदै जान थाल्यो । केवल उनीहरू छोरीका अगाडि शान्त देखिने कोसिस गर्थे तर १० वर्षकी छोरीले पनि आमाबुवाको सम्बन्ध ठिक नभएको छनक पाइसकेकी थिइन् । हरेक झगडामा मनीषा पारपाचुकेको कुरा गर्थिन् । प्रकाशलाई झोक नचल्ने हैन तर छोरीको मायाले रोक्थ्यो । “छोरीको नाम लिएर रोक्ने कोसिस नगर,” मनीषाले भनिन्, “म अब अदालत जान्छु ।”

“तिमी जाने नै हो भने रमिता नदेखाऔँ ।” प्रकाशले भन्यो, “मिलेर अदालत जाऊँला, अनि छुटौँला ।”

करिब एक महिनापछि छोरीले कक्षा ४ को परीक्षा दिइन् । त्यसपछि प्रकाश र मनीषाले अदालत गएर पारपाचुके गरे । १० कक्षा पढ्दासम्म छोरी आफैँसँग राख्ने सहमति अनुसार मनीषा छोरी लिएर माइतीघरतिर लागिन् । 

नयाँ वर्ष लाग्दै गर्दा छोरी र श्रीमती घरबाट बिदा भए । विराटनगर पुगेको एक सातापछि छोरीले फोन गरिनर । उनले फोनमै गुनासो सुनाउँदै भनिन्, “यहाँ त सारै गर्मी छ बाबा, मलाई बस्न गाह्रो भइसक्यो ।” छोरीको कुराले उनी भित्रभित्रै भक्कानिए तर त्यो पीडा छोरीलाई सुनाउन सकेनन् । फोन राखेपछि भित्तामा झुन्डिएको तस्बिर नियाले; जहाँ प्रकाश र मनीषाको बिचमा सानी छोरी मुस्कुराइरहेकी थिइन् । छेवैको ल्यापटपमा अरुण थापा उसै गरी विरह पोखिरहेका थिए ।