नयाँदिल्ली, माघ ९ गते । आगामी महिनामा आयोजना हुने टी-२० क्रिकेट विश्वकपले विश्वव्यापी खेल आयोजकका रूपमा भारतको साख बलियो बनाउने र दीर्घकालीन ओलम्पिक महत्वाकांक्षालाई सहयोग गर्ने अपेक्षा गरिएको थियो ।
तर बङ्गलादेशसँगको कूटनीतिक विवाद, सुरक्षा बहस र राजनीतिक हस्तक्षेपका आरोपले प्रतियोगिताको तयारीलाई गम्भीर रूपमा प्रभावित बनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सुरक्षा चिन्ताका आधारमा आफ्ना खेल भारतबाट सह-आयोजक श्रीलङ्कामा सार्ने बङ्गलादेशको अनुरोध अस्वीकार गरेपछि प्रतियोगिता सुरु हुन दुई हप्ता मात्र बाँकी रहँदा बङ्गलादेश प्रभावकारी रूपमा बाहिरिन बाध्य भएको छ ।
बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले ‘हाम्रो माग विश्वकप खेल्नु हो, तर भारतमा होइन’ भन्दै स्थल परिवर्तन नभए टोली सहभागी नहुने स्पष्ट पार्नु भएको छ । भारत सन् २०३० को राष्ट्रमण्डल खेल अहमदाबादमा आयोजना गर्ने तयारीमा छ, जसलाई सन् २०३६ को ओलम्पिक आयोजना गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
तर विशेष गरी क्रिकेट लस एन्जलस २०२८ ओलम्पिकमा पुनः समावेश भएपछि टी-२० विश्वकपको अव्यवस्थित तयारी, तालिका ढिलाइ र बङ्गलादेशको बहिष्कारले ती महत्त्वाकांक्षामाथि प्रश्न उठाएको छ । विश्वकपको तालिका डिसेम्बरसम्म सार्वजनिक हुन सकेको थिएन । अब फेब्रुअरी ७ मा हुने उद्घाटन खेलअघि बङ्गलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराउने सम्भावना देखिएको छ ।
बुलबुलका अनुसार करिब २० करोड जनसङ्ख्या भएको क्रिकेट-प्रेमी राष्ट्र बङ्गलादेश बाहिरिएमा आइसिसीले ठूलो दर्शकवर्ग गुमाउने छ । आइसिसीले भने बङ्गलादेशका खेल सार्न कुनै ‘विश्वसनीय वा प्रमाणित खतरा’ नदेखिएको र विश्व क्रिकेटको सामूहिक हितको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ । तर विश्व क्रिकेटमा भारतको प्रभाव अत्यन्त बलियो छ ।
दक्षिण एसियामा विश्वका करिब ९० प्रतिशत क्रिकेट समर्थक रहेका छन् र भारतले विश्व क्रिकेट आम्दानीको करिब तीन चौथाइ हिस्सा उत्पादन गर्छ । खेल पत्रकारले बिसिसिआईको विशाल राजस्व र प्रभावका कारण विश्व क्रिकेटमा भारतको प्रभुत्वलाई ‘चुनौती दिने कोही छैन’ भन्ने टिप्पणी गरेका छन् । आइसिसीका अध्यक्ष जय शाह भारतीय गृहमन्त्री अमित शाहका पुत्र हुनु पनि आलोचनाको विषय बनेको छ ।
यस विवादलाई धेरैले राजनीतिक मुद्दाका रूपमा हेरेका छन् । सन् २०२४ मा ढाकामा भएको जनआन्दोलनपछि भारत-बङ्गलादेश सम्बन्ध चिसिएको छ । यही पृष्ठभूमिमा आइपिएल टोली कोलकाता नाइट राइडर्सबाट बङ्गलादेशी बलर मुस्ताफिजुर रहमानलाई हटाइएको घटनाले ढाकामा थप आक्रोश पैदा गरेको थियो ।
बङ्गलादेशका अन्तरिम खेल सल्लाहकार आसिफ नजरुलले क्रिकेटमा ‘कसैको एकाधिकार हुनु नहुने’ बताउँदै, आइसिसी साँच्चिकै विश्वव्यापी संस्था बन्न चाहन्छ भने बङ्गलादेशलाई श्रीलङ्कामा हुने टी-२० विश्वकपमा खेल्न दिनुपर्ने माग गर्नु भएको छ । यसरी क्रिकेटमा बढ्दो राजनीतिक हस्तक्षेप र कूटनीतिक तनावले टी-२० विश्वकप मात्र नभई, भारतको दीर्घकालीन ओलम्पिक सपनामा समेत छायाँ पारेको विश्लेषकको निष्कर्ष छ । रासस/एएफपी