• १० माघ २०८२, शनिबार

अज्ञात समूहद्वारा टौवामा आगजनी

blog

शुक्रबार बिहान कार्यपालिका सदस्य विश्वकर्माको टौवामा गरेको आगजनी ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), माघ १० गते । कैलालीको बर्दगोरिया गाउँपालिका –३ रानीकुण्डास्थित कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको परालको टौवामा शुक्रबार बिहान अज्ञात समूहले आगजनी गरेको छ ।  

बिहान ५ बजे आगो लागेको थाहा पाएपछि गाउँलेको सहयोगमा आगो निभाइएको थियो । डेढ विघा खेतको पराल जलेर खरानी भएको चिन्ता भन्दा पनि गाउँको टौवामा यसरी आगजनी गर्नेलाई पत्ता लगाउन नसक्नु चिन्ताको विषय भएको विश्वकर्माको भनाइ छ । 

विश्वकर्माले भन्नुभयो, “योसहित गाउँमा आगलागीका घटना १५ वटा पुग्यो । रातिको समयमा सबै सुतेपछि आगलागी हुने भएकाले प्रहरी प्रशासनले अनुसन्धान गर्नुपर्छ ।” 

गत कात्तिक २७ गते सोही गाउँको लालसिंह विश्वकर्माको घरनजिकै रहेको परालमा आगजनी भएको उहाँले बताउनुभयो । गाउँमा अरुको परालको टौवा, गोठमा समेत आगो लगाउने काम भएको उहाँले बताउनुभयो । 

रानीजरुवा सामुदायिक वनको अध्यक्षसमेत रहेका विश्वकर्माले गाउँमा नियमित आगलागीका घटनाले अशान्ति त्रास बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा मेरो घरनजिकै रहेको परालको टौवामा राति १२ बजे आगो लगाएका थिए । मेरो घरबाट सुरु भएको आगलागीका घटना बढ्दैगएको छ । हामी धेरै चिन्तामा छौ ।” 

रानीकुण्डा गाउँकै पत्रकार टिकाराम साउँद, स्थानीय रबी कुँवर, चक्रबहादुर बिक, लालसिंह विक, उदय तिरुवा लगायतको परालमा आगो लगाइएको छ । 

रानीकुण्डा गाउँमा एकै दिन आठ ठाउँमा आगलागि भएको स्थानीयको भनाइ छ । ईलाका प्रहरी कार्यालय बौनियाका प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले पुस २२ गते रानीकुण्डा गाउँमा आठ ठाउँको परालमा आगलागी भएको जानकारी आएको बताउनुभयो ।