• १० माघ २०८२, शनिबार

रुकुमपूर्वमा प्रचण्डको परीक्षा

blog

जयमान बुढामगर

रुकुमपूर्व, माघ १० गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार बन्नुभएको छ । उहाँको उम्मेदवारीसँगै रुकुमपूर्वको चुनावी माहोल तातेको छ । 

माओवादी आन्दोलनको केन्द्र रहेकाले रुकुमप्रति प्रचण्डको विश्वास छ तर यस पटकको चुनाव त्यति सहज भने छैन । विगतमा अन्य क्षेत्रबाट संसद्मा पुग्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्डका लागि रुकुमपूर्वबाट प्रत्यक्ष निर्वाचनमा उत्रिनु राजनीतिक रूपमा परीक्षण जस्तै बनेको छ । माओवादी केन्द्रका कार्यकर्ता यसलाई आन्दोलनको सम्मान र ऐतिहासिक निरन्तरताको प्रतीकका रूपमा व्याख्या गरेका छन् भने विपक्षी दलहरू प्रचण्डको राजनीतिक भविष्यसँग जोडेर हेरेका छन् ।

प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुमपूर्वमा प्रचण्डसहित ११ जना चुनावी मैदानमा होमिएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा एक जना स्वतन्त्र उम्मेदवार अमरसिंह पुनले उम्मेदवारी फिर्ता लिनुभएको छ । 

सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार नेकपाका संयोजक प्रचण्डसहित नेपाली कांग्रेसबाट कुसुमदेवी थापामगर, नेकपा (एमाले) बाट लीलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन उम्मेदवार हुनुहुन्छ । यसै गरी राष्ट्रिय जनमोर्चाबाट चन्द्रप्रसाद शाही, मङ्गोल नेसनल अर्गनाइजेसनबाट ज्योति रोकामगर, नेसनल रिपब्लिक नेपालबाट धर्मकुमार बुढा, जनता समाजवादी पार्टीबाट शिरबहादुर बुढा, राप्रपाबाट रोशन शाह र नेकपा माओवादीबाट जुद्धबहादुर बुढा मगर उम्मेदवार हुनुहुन्छ । 

रुकुमपूर्वमा मुख्य प्रतिस्पर्धा माओवादी केन्द्र र नेकपा (एमाले) बिच हुने देखिन्छ । एमालेले स्थानीय रूपमा प्रभाव जमाएका, सङ्गठनमा बलियो पकड भएका लीलामणि गौतमलाई उम्मेदवारका रूपमा अघि सारेपछि प्रतिस्पर्धा तीव्र हुने देखिएको छ । २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रुकुमपूर्वबाट तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी हुनुभएको थियो । उहाँले १२ हजार २६२ मत प्राप्त गरेर विजय हासिल गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार कैलाशकुमार मल्लले पाँच हजार २११ मत प्राप्त गर्नुभएको थियो भने स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६ मत प्राप्त गर्नुभएको थियो ।

सङ्घीयतामा गएपछि नयाँ जिल्लाका रूपमा स्थापित रुकुमपूर्वलाई समाजवाद विकासको मोडेलमा लैजाने प्रचण्डले बताउनुभएको छ । युद्धकालीन राजनीतिक क्रान्तिको भूमिलाई अब समाजवादी क्रान्तिभूमिको पहिचान दिने उहाँको भनाइ छ । आगामी निर्वाचन जितेपछि रुकुमपूर्वका सडक निर्माणलाई प्रमुख प्राथमिकता दिने उहाँको भनाइ छ । “मेरो मुख्य प्राथमिकता भनेको अन्य सडकसँगै सिस्नेदेखि डोल्पासम्म सडक सञ्जाल विस्तार गर्नु हो,” उहाँले भन्नुभयो । पुथाउत्तरगङ्गा गाउँपालिका–१० का दुर्गा बुढाले राष्ट्रिय नेतृत्व जिल्लाले पाउनु भनेको गर्वको कुरा रहेको र विकासले मुहार फेर्ने अपेक्षा राखेको बताउनुभयो । 

अन्य दलका उम्मेदवारले भने जिल्लाकै उम्मेदवारलाई मत दिनुपर्ने तर्क गरिरहेका छन् । रास्वपाका उम्मेदवार लखन थापाले मत परिवर्तन गरी नयाँ प्रतिनिधि छान्ने समय आएको बताउनुभयो । कांग्रेसका उम्मेदवार कुसुमदेवी थापामगर र एमालेका उम्मेदवार लीलामणि गौतमले जिल्लाकै मान्छेलाई मत दिएमा मात्र जिल्लाको विकास हुने बताउनुभएको छ । कांग्रेस यस क्षेत्रमा कमजोर देखिए पनि कतिपय वडामा उसको परम्परागत मताधार कायम छ । यसबाहेक स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले पनि मत विभाजनको सम्भावना बढाएको छ ।

रुकुमपूर्वमा जनयुद्धको स्मृति अझै ताजा छ । धेरै परिवार प्रत्यक्ष रूपमा त्यस आन्दोलनसँग जोडिएका छन् । यही भावनात्मक सम्बन्ध प्रचण्डको ठुलो शक्ति मानिएको छ तर नयाँ पुस्ताले भने सामाजिक सञ्जालमार्फत फरक प्रश्न सोधिरहेका छन्, “युद्धपछि हामीले के पायौँ ?” सामाजिक सञ्जाल र चिया पसलका बहसमा यो प्रश्न बारम्बार उठ्ने गरेको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुकुमपूर्व सबैभन्दा कम मतदाता रहेको जिल्ला हो । यहाँ ३४ हजार ७७२ मतदाता छन् । तीमध्ये १७ हजार ५८२ पुरुष र १७ हजार १९० महिला मतदाता छन् । रुकुमपूर्वमा ४४ मतदानस्थल र ५६ मतदान केन्द्र तोकिएका छन् । यहाँ ८५१ जना नयाँ मतदाता थपिएका छन् ।