• १० जेठ २०८२, शनिबार

'सांसदलाई सवाल'

दलितलाई अछुत भन्छन्, अछुत त भ्रष्टचारी हुन् : सांसद छिरिङ डम्डुल लामा

blog

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् हुम्‍लाका प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा ।

काठमाडौँ, जेठ १० गते ।  नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् हुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले भ्रष्टाचारी अछुत भएको बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘‘दलितलाई अछुत भन्छन्, अछुत त भ्रष्टचारी हुन् ।’’ जिल्लाबाट निर्वाचित भएको साढे दुई वर्ष हुँदा उहाँ हुम्लालाई राष्ट्रिय सडक सञ्जाल र राष्ट्रिय प्रशारण लाइनमा जोड्न सक्रिय हुनुहुन्छ । उहाँले आफ्नो कार्यकाल अब अढाइ वर्ष बाँकी रहेको र त्यो अवधिसम्ममा जिल्ला सदरमुकाम सिमकोटसम्म सडक सञ्जाल पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले हिमाली जिल्ला हुम्लाको विकासका लागि ‘पोड-वे’ को अवधारणसमेत अगाडि सार्नुभएको छ । सांसद लामा काठमाडौँबाट जिल्ला पुग्न समस्या भए पनि जनताको दुःख कहिल्यै नबिर्सने बताउनुहुन्छ । देशको शिर हिमाल जोगाउनुपर्नेमा उहाँको जोड छ । सिङ्गो हुम्लालाई हिमाल पर्यटन क्षेत्र घोषणा गर्नुपर्ने उहाँको माग छ । 

सांसद लामाको २०२४ साल जेठमा बुवा टास्सी लामा र आमा सोनाम छोटोल लामाको कोखबाट जन्मिनुभएको हो । नागरिकतामा भने उहाँको जन्ममिति २०२४ साल भदौ ३ गते उल्लेख छ ।  साविक बरगाउँ गाविसको तोर्पा बैफु गुम्बामा रहेको महेन्द्र पाठशाला (अहिले रलिङ मावि)बाट उहाँले औपचारिक शिक्षा लिनुभयो । अहिले उक्त विद्यालय सिमकोट गाउँपालिका–३ सरेको छ । 


सात वर्षमा बुवा बितेपछि लामाको जीवन बाल्यकालदेखि नै सङ्घर्षमय बन्यो । घरभित्र पारिवारिक समस्यासँग सङ्घर्ष गर्दै हुर्कनुभएका लामाको आकर्षण युवा अवस्थादेखि नै कम्युनिस्ट राजनीति तर्फ केन्द्रित भयो । घर परिवारको जिम्मेवारीसँगै पातलो मसाल, मोटो मशाल हुँदै राजनीति सुरु गर्नुभएका उहाँले २०४६ सालदेखि संयुक्त जनमोर्चाबाट औपचारिक रूपमा राजनीतिको यात्रा तय गर्नुभएको हो । 

२०५४ सालमा साविक बरगाउँ गाविसको निर्विरोध उपाध्यक्ष निर्वाचित लामाले आन्तरिक रूपमा जनप्रतिनिधि बन्नु अगाडिदेखि नै माओवादीको राजनीति सुरु गरिसक्नुभएको थियो । हुम्ला जिल्लामा पहिलो माओवादी कार्यकर्ताका रूपमा उहाँले सङ्गठन बनाउनुभयो । लामा २०५६ सालदेखि तत्कालीन नेकपा माओवादीमा पूर्णकालीन ढङ्गले लागेर भूमिगत बन्नुभयो  । भूमिगत हुँदा उहाँ पश्चिम सैन्य डिभिजन सदस्य, भेरी कर्णाली स्वयत्त राज्यको जनसकार सदस्य, हुम्ला जिल्लाको जनसकार प्रमुख र भेरी कर्णाली स्वयत्त राज्यको क्षेत्रीय ब्यूरो सदस्य बनेर काम गर्नुभयो । २०६५ सालदेखि अहिलेसम्म उहाँले हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ । 

२०६९ सालमा हेटौँडा सम्पन्न नेकपा माओवादीको महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारी पाउनुभएका लामा २०७१ सालमा पोटिलब्यूरो सदस्य बन्नुभयो । उहाँ अहिले माओवादी केन्द्रीय सदस्य हुनुहुन्छ ।


लामासँग २०७८ साल फागुन २५ देखि ०७९ साउन २५ गतेसम्म पाँच महिना कर्णाली प्रदेश सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनेको अनुभवसमेत छ । उहाँ २०७९ सालको आम निर्वाचनमा पहिलो पटक सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभामा हुम्लाबाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ प्रतिनिधि सभाको अर्थ समिति सदस्यसमेत हुनुहुन्छ । 

प्रस्तुत छ– नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् हुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामासँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :