साहारा लिम्बू
फुङलिङ, मंसिर १८ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाथीभरा याङवरक गाउँपालिकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको २५ औँ मिनेटमा अनुस्का शेर्पाले पहिलो गोल गरेर टीमलाई अग्रता दिलाउनु भएको थियो । त्यस्तै करिब १ मिनेटपछि पुनः मेरिङ्देनका खेलाडी सुस्मा लिम्बू गोल गर्न सफल हुनुभएको थियो ।
दोश्रो हाल्फको ५७ औँ मिनेटमा मनिता तामाङले गोल गर्दा ६४ औँ मिनेटमा पुनः अनुस्काले गोल गर्नुभएको थियो । खेलको इन्जुरी समयमा समेत अनुष्काले ह्याट्रिक गोल गरेसँगै मेरिङदेन ५–० गोलको फराकिलो अन्तरले विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
अब मेरिङ्देन गाउँपालिकाले उपाधिका लागि फुङलिङ नगरपालिकासँग प्रतिष्पर्धा गर्नेछ । फुङलिङले बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा मैवाखोला गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल खेल शनिबार हुँदैछ ।
प्रतियोगिताको विजेताले नगद दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।