• ३१ वैशाख २०८२, बुधबार

जलवायु परिवर्तनको असरप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर देखिएन : महासचिव पोखरेल

blog

काठमाडौंमा आयोजना गरेको ‘सगरमाथा संवादको स्थानीयकरण ः जलवायु सशक्तिकरण र विपद् व्यवस्थापनको लागि राजनीतिक प्रतिबद्धता’ विषयक कार्यक्रममा महासचिव पोखरेलसहित अतिथिहरु ।

काठमाडौं, वैशाख ३१ गते ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जलवायु परिवर्तनको असरप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर नदेखिएको बताउनुभएको छ । नेकपा (एमाले) विपद् तथा स्वयम्सेवा विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘सगरमाथा संवादको स्थानीयकरण : जलवायु सशक्तिकरण र विपद् व्यवस्थापनको लागि राजनीतिक प्रतिबद्धता’ विषयक कार्यक्रममा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।

नेपालजस्ता राष्ट्रहरुले कार्बन नियन्त्रणमा खेलेको भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनुपर्ने विषयमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।0 महासचिव पोखरेलले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदाय जति यो विषयमा गम्भीर हुनुपर्ने हो, त्यति गम्भीर देखिएको छैन । भाषण त देखिन्छ तर, उसले कार्बन उत्सर्जन गरेबापत त्यसबाट प्राप्त गरेको लाभ बापत, नेपालजस्ता राष्ट्रहरुले कार्बन नियन्त्रणमा खेलेको भूमिकामा मूल्य तिर्न तयार छन् कि छैनन् भन्ने कुरा अहिलेसम्म देखिएको छैन । त्यसर्थ, सगरमाथा संवादले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न सक्नुपर्दछ ।”

उहाँले नेपालको जैविक विविधताका सम्बन्धमा मौलिक दृष्टकोणबाट सोच्नुपर्ने भनाइ राख्नुभयो । उहाँले मौसम परिवर्तनका कारण हिमाली क्षेत्र सबैभन्दा बढी जोखिममा रहेको बताउनुभयो । हिमाली क्षेत्रका बस्ती, पूर्वाधार, सडक सञ्जाल, विपद्को पूर्वतयारी र विपद् जोखिमको दृष्टिकोणले जोखिममा रहेको उहाँको भनाइ छ । 

उहाँले जलवायु परिवर्तनको असर देशको कृषि प्रणालीमा पर्नुका साथै सामाजिक जीवन संकटमा पर्दै गएको बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले गत चैत १७ गतेदेखि यस वर्षको मनसुनजन्य विपद्को पूर्वतयारी सुरु भएको बताउनुभयो । 

२०७२ को भुकम्पमा ९० प्रतिशतभन्दा बढी उद्वार जनस्तरबाट भएको भन्नुहुँदै उहाँले स्वयम्सेवक व्यवस्थापन प्रणालीका लागि कार्यविधि पास भएको बताउनुभयो । विज्ञ लालु पौडेलले पृथ्वीमा पटक–पटक जलवायु परिवर्तन हुने गरेको भन्नुहुँदै आजभन्दा २५ करोड वर्षअघि भएको ‘ग्लोबल कुलिङ’ का कारण समुद्रमा भएका ४४ प्रतिशत र जमिनका ६० प्रतिशत जव लोप भएको जानकारी दिनुभयो ।  एक लाख २५ वर्ष अगाडि ३७ प्रतिशत जमिनको भार हिउँले ढाकेको भन्नुहुँदै उहाँले अहिले हिउँ पग्लने अवस्थामा रहेको बताउनुभयो । 

उहाँले पूर्वानुमान गरेभन्दा फरक हिमताल समेत फुटेका कारण यसको जोखिम बढेको बताउनुभयो । पूर्वमन्त्री डा. विमला राई भट्टराईले द्रूत एवम् अनियमित रुपमा हुने परिवर्तन जलवायु परिवर्तन भएको भन्नुहुँदै यसको सामाजिक प्रभाव बढीरहेको बताउनुभयो । जलवायु परिवर्तनको संकट घरेलु नभइ विश्वव्यापी हुनेहुँदा सोहीअनुरुप समाधानको उपाय खोज्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले जलवायु परिवर्तनले दिएको सम्भावना, नीति, कार्ययोजना, लैङ्गिक न्याय, जलावयु न्याय, जलवायु कुटनीति लगायतका विषयमा प्रस्तुतीकरण दिनुभयो । पुननिर्माण र विपद् जोखिम न्यूनीकरणबाट संस्थागत सिकाइका विषयमा विज्ञ सुशील ज्ञवालीले पारिस्थितिक सन्तुलनको आधारमा जलवायु परिवर्तनका  योजना निर्माण गर्नुपर्ने बताउनुभयो । 

उहाँले नेपालको भौगोेलिक संवेदनशीलता मध्यनजर गर्दै जनताकेन्द्रीत योजना बन्नुपर्नेमा जोड दिनुभयो । पीडितलाई राहत तथा उद्वारका लागि संस्थागत संरचना र नेतृत्व बलियो हुनुपर्ने उहाँको भनाइ छ । एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभाग प्रमुख खिमलाल भट्टराईले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लने, पहाड नै पल्टिनेदेखि ठुला बाढी आउने, बस्ती बगाउने समस्या बढ्दै गएको बताउनुभयो । उहाँले कार्यक्रमबाट प्राप्त सुझाव सरकारलाई समेत पेस गरिने जानकारी दिनुभयो । कार्यक्रममा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसद, युवा, विद्यार्थी र सरोकारवालको उपस्थिती रहेको थियो । 


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।