• २४ वैशाख २०८२, बुधबार

चलचित्रमा रङ्गकर्मी

blog

रङ्गमञ्च मनोरञ्जन मात्र नभएर सामाजिक जागरुकता र चेतना फैलाउने माध्यम पनि हो । विश्व बजारमा चलचित्र आउनुअघिदेखि नै रङ्गमञ्चले राजामहाराजा मात्र होइन सर्वसाधारणलाई पनि मनोरञ्जन प्रदान गरेको थियो । समयक्रमसँगै प्रविधिको विकासमा रङ्गमञ्चले पनि आफूलाई समाहित गर्दै लग्यो । 

समाजमा रहेका कुरीति र बेथितिविरुद्ध सचेतना फैलाउन हाम्रो जस्तो विकासशील मुलुकमा नाटकको भूमिका सदैव महìवपूर्ण रहँदै आएको छ । सडक नाटक होस् वा समाज रूपान्तरणका विषयवस्तु दर्साउने नाटक, यी दुवैमा कलाकारको विशेष योगदान छ । नाट्य विधाको फराकिलो दायरामा पछिल्लो समय रङ्गमञ्चले हरेक पुस्तालाई आकर्षित गर्दै लगेको छ । चलचित्रकर्मी जस्तै रङ्गकर्मीले पनि समाजलाई सही दिशामा डो¥याउन खँदिलो विषयवस्तु पस्किरहेका छन् । चलचित्र क्षेत्रमा अहिले उम्दा कलाकार जन्माउने थलोको पहिचान रङ्गमञ्चले बनाएको छ । हलिउड र बलिउडमा चलचित्रबाट रङ्गमञ्चमा प्रवेश गरेका कलाकारको लामो सूची छ । हलिउडका नाटली पोर्टम्यान, क्रिस्टेन वेल, केट बान्सलेट तथा बलिउडका ओम पुरी, नसुरुद्धिन शाह, शवाना आजमी, पङ्कज त्रिपाठी, सुरेख सिक्री, मनोज बाजपेयी, राजकुमार राव, अनुपम खेर, नवाबजुद्धिन सिद्धिकी जस्ता धेरै कलाकार रङ्गमञ्च हुँदै चलचित्रमा प्रवेश गरेका हुन् । 

एउटा समय थियो जुन बेला रूपरङ र द्वन्द्वको भरमा चलचित्रमा कलाकार जम्ने गर्थे तर अहिले समय बदलिएको छ । अहिले चलचित्रमा अभिनय गर्ने कलाकारको स्थान बिस्तारै रङ्गमञ्चका कलाकारले लिन थालेका छन् । रङ्गमञ्चका कलाकारको प्रवेशसँगै नेपाली चलचित्रको व्यापारमा पनि सुधार आएको छ । चलचित्र ‘लुट’ ले इतिहासमै मौलिक कथा र प्रस्तुतिको नयाँ मोड मात्र दिएन, रङ्गमञ्चका कलाकारकै सहायताले चलचित्र चलाउन सकिन्छ भन्ने उदाहरण स्थापित ग¥यो । पछिल्लो समय रङ्गमञ्चका कलाकार चलचित्रमा राम्रैसँग स्थापित भएका छन् । चलचित्रमा रङ्गमञ्चका कलाकारको आकर्षण पनि बन्दै छ । रङ्गमञ्चमा राम्रै नाम कमाएका कलाकार पनि अहिले चलचित्रतर्फ आकर्षित भएका छन् ।

नेपालमा रङ्गमञ्चमा चम्किएका कलाकार चलचित्रमा सजिलै स्थापित भएका छन् । रूप र हाउभाउलाई मात्र हेरेर चलचित्रमा लिने पुरानो प्रचलनलाई पन्छाएर कलाकारिता र अब्बल अभिनय गर्न सक्नेलाई लिने प्रचलन नेपालमा स्थापित हुँदै गएको छ । अनुप बराल, दयाहाङ राई, प्रमोद अग्रहरी, सौगात मल्ल, खगेन्द्र लामिछाने, विजय बराल, प्रवीण खतिवडा, सरिता गिरी, पशुपति राई, दिया मास्केदेखि सरोज खनालसम्म रङ्गमञ्चकै सहायतामा चलचित्र क्षेत्रमा स्थापित हुन पाएका हुन् ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीर शाह, वसुन्धरा भुसाल, भुवन शर्मा, शकुन्तला शर्मा, शिव रेग्मी, हरिहर शर्मा, सरोज खनाल, बद्री अधिकारी, रमेश बुढाथोकी, मदनदास श्रेष्ठ, अशोक शर्मा, टीका पहाडी, मोहन निरौला र दीपक क्षेत्रीलगायत लोकप्रिय कलाकार थिएटरबाटै पर्दामा आएर चर्चित भएका हुन् ।

पछिल्लो पुस्ताका नाजिर हुसेन, अङ्कित खड्का, कामेश्वर चौरसिया, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, दिव्य देवलगायतका आशालाग्दा कलाकारलाई रङ्गमञ्चले नै उत्पादन गरेको हो । रङ्गमञ्चबाटै उदाउनुभएका चरित्र अभिनेता भोला सापकोटाले बलिउडको चलचित्रमा समेत अभिनय गर्नुभयो । शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, धीरेन शाक्य, रमेश उप्रेती, निखिल उप्रेती हुँदै विराज भट्टको स्टारडम कमजोर बन्दै जाँदा चलचित्रमा रङ्गमञ्चका कलाकारको युग सुरु भयो । विशेष गरी नायक र चरित्र अभिनयमा रङ्गमञ्चका कलाकार खोज्न थालेको पाइन्छ । यद्यपि नायिकातर्फ भने अझै पनि ‘फ्रेस’ अनुहार नै निर्माता तथा निर्देशकले रुचाइरहेका छन् ।

केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दामा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाएका छन् । रङ्गमञ्चले आफू र समाजलाई बुझ्न मद्दत गर्नुका साथै कामप्रतिको सम्मान बढाउन तथा अनुशासन सिकाउने काम पनि गर्छ तर अभिनय भनेको पढ्नैपर्ने विधा हो । अभिनयमा अध्ययन नभए राम्रो कलाकारिता गर्न सकिँदैन । यसले रङ्गमञ्चबाट ठुलो पर्दामा जान मद्दत गर्नुका साथै अभिनयमा विविधता ल्याउन मद्दत पनि गर्छ । रङ्गमञ्चलाई छाडेरभन्दा पनि साथै राखेर रङ्गीन पर्दामा पुग्ने दीर्घायु हुन्छन् ।

चलचित्र र रङ्गमञ्च दुवैमा लामो दुरीको घोडा हुन सङ्घर्ष र निरन्तरता आवश्यक छ । रङ्गमञ्च चलचित्रसम्म पुग्ने एउटा बाटो हो, किनकि यहाँ आएर अभिनय सिकेका अहिले चलचित्रमा सर्वाधिक खोजिने कलाकार बनेका छन् । चलचित्रमा काम गर्छु भनेर नाटकघर आउनेभन्दा नाटकमा काम गर्ने चलचित्रमा स्थापित भएका छन् । त्यसैले  नाटक हुँदै चलचित्रमा पुगेका कलाकारको सफलतासँगै उनीहरूले गरेको लामो सङ्घर्षलाई बुझ्नु जरुरी छ ।

चलचित्रमा र रङ्गमञ्चमा अभिनय गर्नुमा धेरै भिन्नता छ । रङ्गमञ्चका फर्म र यसको इतिहास निकै लामो छ । रङ्गमञ्चमा अभिनय एउटा सानो पाटो हो । रङ्गमञ्चमा अभिनयभन्दा पनि प्रस्तुति महत्वपूर्ण हुन्छ । अभिनय एकदम आधारभूत तत्व मात्र हो तर नेपालमा यथार्थवादी र यथार्थवादको एक प्रकारको पुरानो शैलीका नाटक मात्र बढी भएकाले यस्ता अभिनय पद्धति चलचित्रको अभिनयसँग मिल्न जान्छ । रङ्गकर्मी विमल सुवेदीका अनुसार नेपाली रङ्गमञ्चमा नाटक चलचित्र जस्तो र नेपाली चलचित्र नाटक जस्तो भएको उदाहरण धेरै छन् । नाटक र चलचित्रको अभिव्यक्तिको माध्यम फरक हो । नाटक बुझ्न कला, समाज, इतिहास र समयको धेरै आयाम बुझ्न जरुरी छ । विमलका अनुुसार चलचित्र अभिनयको शरीर, भावना, मस्तिष्क आँखा हो भने नाटकमा पनि अभिनेताको सम्पूर्ण शरीर नै आँखा हो । साथै दर्शक र अभिनेताको अदृश्य सहअस्तित्वबाट प्रस्तुति बन्छ भने चलचित्रमा यो सम्भव हुँदैन । अहिले उम्दा कलाकारहरू नेपाली रङ्गमञ्चबाट खारिएर आएका छन् ।  रङ्गकर्मीले भाषा, शरीर, मनोविज्ञान, समाज र तत्कालीन समयलाई नयाँ शैलीमा पस्किरहेका छन् ।नेपाली चलचित्रमा स्थापित प्रायः कलाकार रङ्गमञ्चबाटै उदाएका छन् । पछिल्लो समय रङ्गमञ्चबाट चलचित्रमा प्रवेश कलाकारकै वर्चस्व छ । कुनै बेला थिएटरका कलाकार चलचित्रमा देखिने कुरा नगन्य हुन्थ्यो तर अहिले नेपालमा दर्जन हाराहारी थिएटर छन् । ती थिएटरले सयौँ कलाकार जन्माइसकेका छन्, जुन क्रम जारी छ । पछिल्लो दशकमा निर्माण भएका र निर्माणाधीन चलचित्रमा थिएटरबाट आएका कलाकारले नै धाक जमाएका छन् ।